Shopping cart

  • Home
  • समाज
  • पृथ्वीनारायण शाहको  ऐतिहासिक एकीकरण र राष्ट्र निर्माणको चेतना
देश

पृथ्वीनारायण शाहको  ऐतिहासिक एकीकरण र राष्ट्र निर्माणको चेतना

Email :93

लेखनाथ सिकारू 

आज नेपाल राष्ट्र निर्माता शाहको जन्मजयन्ती पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइरहेको छ। सरकारले सार्वजनिक बिदा दिएको यो दिन केवल औपचारिक स्मरणको अवसर होइन, नेपाल कसरी बन्यो र कसरी जोगिनुपर्छ भन्ने ऐतिहासिक चेतनालाई पुनःस्मरण गर्ने राष्ट्रिय क्षण हो।

 

पृथ्वीनारायण शाहको पहिचान बहुआयामिक छ। उनी गोरखाका राजा मात्र थिएनन् विभिन्न राज्य-रजौटा र स-साना आकारमा छरिएर रहेका राज्यहरूलाई एकीकरणको सूत्रमा बाँधी एउटा बलियो, स्वाधीन र दीर्घकालीन हिमाली राष्ट्र खडा गर्ने अभियन्ता थिए। त्यो समय राजनीतिक रूपमा खण्डित, कूटनीतिक रूपमा असुरक्षित र विदेशी हस्तक्षेपको जोखिममा रहेको भूभागलाई एउटै राष्ट्रिय सीमाभित्र बाँध्नु साधारण सैन्य विजय होइन, दूरदर्शी राष्ट्रवादी परियोजना थियो।

 

देशको सिमाना व्यापक र सुदृढ बनाउने पृथ्वीनारायण शाहको चाहनालाई कतिपयले संकुचित दृष्टिले केवल राजकीय महत्त्वाकांक्षा ठान्ने गरेका छन्। तर उनका नीति, व्यवहार र दिव्य उपदेशको समग्र अध्ययन गर्दा उनी राष्ट्र निर्माता, राष्ट्राध्यक्ष र राष्ट्रप्रेमी चिन्तक थिए भन्ने तथ्य निर्विवाद देखिन्छ। सत्ता उनका लागि साध्य होइन, राष्ट्र निर्माणको साधन थियो।

 

पृथ्वीनारायण शाहले आफ्नो सम्पूर्ण जीवन राष्ट्र निर्माणमै समर्पण गरे। एकीकरणका क्रममा उनले अनेकौँ संघर्ष, असफलता र पराजय भोगे, तर लक्ष्यबाट कहिल्यै विचलित भएनन्। क्रमशः एक(एक खुड्किला पार गर्दै अघि बढ्ने उनको अडान अदम्य साहस, रणनीतिक धैर्य र गहिरो देशभक्तिको प्रतीक हो। यही कारण उनी नेपालको इतिहासमा राजा मात्र होइन, युगपुरुष का रूपमा स्थापित छन्।

 

आजको चेतनाबाट २५० वर्षअघिको सामाजिक, राजनीतिक र आर्थिक अवस्थालाई मूल्यांकन गर्नु ऐतिहासिक सन्दर्भबिनाको अतिशयोक्ति हुन्छ। एकीकरण अभियानमा केही कमजोरी र विवादित निर्णय भएका हुन सक्छन्, तर ती कमजोरीभन्दा धेरै ठूलो सत्य के हो भने(पृथ्वीनारायण शाहकै योगदानका कारण आज नेपाल स्वतन्त्र राष्ट्रका रूपमा विश्व मानचित्रमा उभिएको छ। यदि त्यो एकीकरण भएको भएन भने, आज नेपाल पनि उपमहाद्वीपका थुप्रै साना राज्यझैँ इतिहासमै सीमित हुन सक्थ्यो।

 

विशाल भारतसहित वरपरका धेरै भूभागलाई आफ्नो अधीनमा पार्न सफल शक्तिशाली ब्रिटिस साम्राज्यवादसँग एउटा सानो हिमाली राष्ट्र भएर पनि नेपालले स्वाधीन अस्तित्व जोगाउन सक्नु कुनै संयोग थिएन। यो राष्ट्रिय एकता, सन्तुलित कूटनीति र स्वाधीन सोच को परिणाम थियो, जसको जग पृथ्वीनारायण शाहले नै बसालेका थिए।

 

नेपालमा लोकतन्त्र र राष्ट्रियता एक अर्काबाट अलग हुन सक्दैनन्। राष्ट्रियता कमजोर भयो भने लोकतन्त्र पनि खोक्रो हुन्छ, र लोकतन्त्र कमजोर भयो भने राष्ट्रिय स्वाधीनता जोखिममा पर्छ। आज जब विदेशी प्रभाव, आन्तरिक गुटबन्दी र स्वार्थकेन्द्रित राजनीतिले राष्ट्रिय एकतालाई कमजोर बनाउने खतरा देखापरेको छ, पृथ्वीनारायण शाहको राष्ट्रवादी चेतना झनै सान्दर्भिक बनेको छ।

 

यसैले पृथ्वी जयन्ती औपचारिकता मात्र होइन, राष्ट्रप्रतिको सामूहिक जिम्मेवारी सम्झाउने दिन हो। पृथ्वीनारायण शाहलाई सम्मान गर्नु भनेको इतिहासको पूजा गर्नु होइनस उनले देखाएको राष्ट्रिय मार्गदर्शनलाई आजको नीति, राजनीति र व्यवहारमा उतार्नु हो।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको स्मरण आजको नेपाललाई यही सन्देश दिन्छ । राष्ट्रभन्दा माथि कुनै सत्ता, कुनै स्वार्थ र कुनै बाह्य प्रभाव र हस्तक्षेप स्वीकार्य छैन।

“नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो”

पृथ्वीनारायण शाहको यो उपदेश आज पनि नेपालको सामाजिक सहिष्णुता र समावेशी राष्ट्रियताको आधार हो। विविध जाति, भाषा, संस्कृति र परम्पराले बनेको नेपाललाई उहाँले विभाजन होइन, एकताको सूत्र का रूपमा बुझ्नुभयो। आज जब पहिचानको नाममा समाज ध्रुवीकरणको जोखिममा छ, यो उपदेशले हामीलाई सम्झाउँछ-नेपालको शक्ति विविधतामा छ, एकतामा छ  विभाजनमा होइन।

“नेपाल दुई ढुंगाबीचको तरुल हो”

यो उपदेश केवल कूटनीतिक चेतावनी होइन, राष्ट्रिय रणनीतिक दर्शन हो। भारत र चीनजस्ता शक्तिशाली राष्ट्रबीच अवस्थित नेपालले सधैं सन्तुलित, स्वाभिमानी र स्वतन्त्र परराष्ट्र नीति अपनाउनुपर्ने सन्देश उहाँले सदियौँअघि नै दिनुभयो। आज पनि जब विदेशी प्रभाव, आर्थिक निर्भरता र राजनीतिक दबाबका बहस चलिरहेका छन्, पृथ्वीनारायण शाहको यो दृष्टिकोण झनै सान्दर्भिक देखिन्छ।

“विदेशीको भर परे देश कमजोर हुन्छ”

पृथ्वीनारायण शाह आत्मनिर्भर अर्थतन्त्र र स्वदेशी उत्पादनका पक्षपाती थिए। उहाँले नेपाललाई विदेशी ऋण, अनावश्यक आयात र बाह्य हस्तक्षेपबाट जोगाउन सचेत गराउनुभयो। आजको सन्दर्भमा यो उपदेश राष्ट्रिय उत्पादन, श्रमको सम्मान र आर्थिक स्वाधीनता को मूल मन्त्र बनेको छ।

राष्ट्रियता  इतिहास होइन, जिम्मेवारी हो । पृथ्वी जयन्ती केवल माल्यार्पण र औपचारिक कार्यक्रमको विषय होइन। यो दिनले हामीलाई प्रश्न गर्छ के हामीले उहाँले बनाइदिएको राष्ट्रको रक्षा गर्न सकेका छौँ ? के हाम्रो राजनीति, शासन र नागरिक चेतना राष्ट्रिय हितमा केन्द्रित छ ? राष्ट्र निर्माता पृथ्वीनारायण शाहको स्मरण आजको नेपाललाई यही सन्देश दिन्छ । राष्ट्रभन्दा माथि कुनै सत्ता, कुनै स्वार्थ र कुनै बाह्य प्रभाव र हस्तक्षेप स्वीकार्य छैन।

 

इतिहासका सकारात्मक शिक्षाबाट आजको पुस्ताले मार्गदर्शन लिन सक्नु नै सभ्य समाजको पहिचान हो । नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्दै हार्दिक शुभकामना  ।

Comments are closed

Related Post