बासु दुलाल
२००६ सालमा स्वर्गीय कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना हुनु नेपाली राजनीतिक इतिहासको एउटा युगान्तकारी घटना थियो। त्यो केवल एउटा राजनीतिक दलको जन्म मात्र थिएन, श्रमिक, किसान, उत्पीडित र न्यायप्रेमी नेपाली जनताको मुक्तिको सङ्कल्प थियो।
आज उहाँको ४८औँ स्मृति दिवसका अवसरमा हामीले श्रद्धाञ्जली अर्पण गर्नुका साथै एउटा गम्भीर आत्मसमीक्षा गर्न आवश्यक छ-
के हामीले पुष्पलाललाई न्याय गर्न सक्यौँ ?
के हामीले उहाँको विचारलाई व्यवहारमा उतार्न सक्यौँ ?
के आजको कम्युनिस्ट आन्दोलन उहाँले देखेको आदर्शअनुसार अघि बढिरहेको छ ?
यी प्रश्नहरूको उत्तर जनतालाई दिन सक्नुपर्छ। केवल तस्वीरमा माल्यार्पण गरेर पुष्पलालप्रतिको दायित्व पूरा हुँदैन।
पुष्पलालका ऐतिहासिक योगदान
क) नेपाल कम्युनिस्ट पार्टीको स्थापना
२००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेर पुष्पलालले नेपाली श्रमिक आन्दोलनलाई संगठित राजनीतिक दिशा दिनुभयो। उहाँले वर्गीय चेतना, संगठन र वैज्ञानिक समाजवादको आधार निर्माण गर्नुभयो।
ख) राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समाजवादको समन्वय
पुष्पलालले राष्ट्रियता, जनवाद र समाजवादलाई एउटै राजनीतिक यात्राका परस्पर पूरक आधारका रूपमा व्याख्या गर्नुभयो। उहाँको दृष्टिकोण दूरदर्शी र समयसापेक्ष थियो।
ग) त्याग, इमानदारी र नैतिक राजनीतिको उदाहरण
उहाँले पद, प्रतिष्ठा वा व्यक्तिगत सम्पत्तिभन्दा सिद्धान्त र जनताको पक्षलाई प्राथमिकता दिनुभयो। उहाँको जीवन स्वयं कम्युनिस्ट नैतिकताको पाठशाला थियो।
घ) विचारमा दृढता, व्यवहारमा सरलता
पुष्पलालले कम्युनिस्ट आन्दोलनलाई अध्ययन, बहस, आत्मालोचना र सामूहिक नेतृत्वको संस्कार सिकाउनुभयो। उहाँको सरल जीवन आज पनि प्रेरणाको स्रोत बनेको छ।
हामी कहाँ चुक्यौँ ?
दुःखका साथ स्वीकार गर्नुपर्छ—इतिहासको एउटा चरणमा आफ्नै आन्दोलनभित्रबाट पुष्पलाललाई “गद्दार पुष्पलाल” भन्ने अन्यायपूर्ण आरोप लगाइयो। समयले त्यो आरोपलाई असत्य प्रमाणित गरिसकेको छ।
आज उहाँको स्मृति दिवसमा विगतका गल्तीबाट शिक्षा लिँदै उहाँको विचारलाई व्यवहारमा उतार्नु नै सच्चा श्रद्धाञ्जली हुनेछ।

आजको मुख्य कार्यभार : रूपान्तरण
क) जीवनशैलीमा रूपान्तरण
कम्युनिस्ट नेता र कार्यकर्ताको जीवन श्रमजीवी जनताको जीवनसँग मेल खाने हुनुपर्छ। विलासिता, अपारदर्शिता र भड्किलो जीवनशैलीले आन्दोलनको नैतिक बल कमजोर बनाउँछ।
ख) जनशैलीमा रूपान्तरण
जनतासँग जोडिने, उनीहरूको दुःखमा सहभागी हुने, विश्वास जित्ने र व्यवहारबाट राजनीति गर्ने संस्कार नै कम्युनिस्ट आन्दोलनको आत्मा हो।
ग) कार्यशैलीमा रूपान्तरण
व्यक्तिवाद, गुटवाद, अवसरवाद, नातावाद, कृपावाद र परिवारवाद त्याग्दै सामूहिक नेतृत्व, अनुशासन, आलोचना-आत्मालोचना र कम्युनिस्ट मूल्य-मान्यतामा आधारित कार्यशैली निर्माण गर्नुपर्छ।
अबको संकल्प
हामी निराशा होइन, आशा बाँड्नेछौँ ।
हामी विभाजन होइन, वैचारिक एकता निर्माण गर्नेछौँ ।
हामी श्रमजीवी किसान–मजदुर वर्गको सच्चा प्रतिनिधि पार्टी निर्माण गर्नेछौँ ।
हामी पुष्पलालले देखाएको समाजवादको बाटोमा अविचलित रूपमा अघि बढ्नेछौँ ।
त्यही दिन पुष्पलालप्रतिको हाम्रो सम्मान सार्थक हुनेछ, र नेपाली कम्युनिस्ट आन्दोलनले नयाँ ऊर्जा प्राप्त गर्नेछ।
स्वर्गीय कमरेड पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु। उहाँले देखाएको आदर्श, त्याग, नैतिकता र समाजवादको मार्गमा अविचलित रूपमा अघि बढ्ने दृढ संकल्प व्यक्त गर्दछु।
पुष्पलाल अमर रहून्।
नेपाली कम्युनिस्ट आन्दोलन=जिन्दावाद
श्रमजीवी जनताको विजय सुनिश्चित छ।लालसलाम
केन्द्रीय सदस्य, नेपाली कम्युनिस्ट पार्टी














Comments are closed