कार्यक्रममा शिक्षा क्षेत्रका विविध पक्षमा गहन बहस, विचार–विमर्श तथा नीतिगत सुझावहरू प्रस्तुत
काठमाडौं । प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (PAN) को आयोजनामा राष्ट्रिय शिक्षा संवाद–२०८२ नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा रूपमा सम्पन्न भएको छ। PAN केन्द्रीय समितिका अध्यक्ष सुदाम प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा क्षेत्रका विविध पक्षमा गहन बहस, विचार–विमर्श तथा नीतिगत सुझावहरू प्रस्तुत गरिएका छन्।
कार्यक्रम PAN का उपमहासचिव मिन आच्छामीले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष टिकाराम पाण्डे र कोषाध्यक्ष रिता तिवारीले विशिष्ट अतिथिहरूलाई रुद्राक्षको माला लगाएर स्वागत तथा सम्मान गर्नुभएको थियो।

उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका सांसदहरू, शिक्षा मन्त्रालयका उच्च पदाधिकारीहरू, पूर्व शिक्षा सचिवहरू, स्थानीय तहका प्रतिनिधिहरू, शिक्षा विज्ञहरू, शिक्षक महासंघका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। करिब १२० जना सहभागी रहेको कार्यक्रममा शिक्षा नीति, यसको कार्यान्वयन, संघीय संरचनामा शिक्षा व्यवस्थापन, शिक्षक तथा प्रिन्सिपलहरूको भूमिका तथा व्यवहारिक र रोजगारमुखी शिक्षाका विषयमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रमका अध्यक्ष सुदाम प्रसाद गौतमले नेपालको शिक्षा प्रणालीलाई व्यवहारिक, प्रविधिमैत्री र परिणाममुखी बनाउने आवश्यकता औंल्याउँदै नीति निर्माणभन्दा कार्यान्वयन पक्ष कमजोर रहेको बताउनुभयो। उहाँले सरोकारवालाबीच सहकार्यमार्फत शिक्षा प्रणालीलाई समयानुकूल रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धर्म के.सी.ले शिक्षा प्रणालीलाई जीवनोपयोगी र सीपमुखी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै विद्यार्थीको दैनिक जीवनसँग जोडिएको शिक्षामा जोड दिनुभयो। नेकपा एमालेका सांसद ऐन महरले संघीय संरचनामा शिक्षा व्यवस्थापन स्पष्ट नभएको उल्लेख गर्दै अधिकार र जिम्मेवारीको अस्पष्टताले कार्यान्वयनमा समस्या आएको बताउनुभयो।
नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले सामुदायिक विद्यालय सुदृढीकरण बिना सामाजिक समानता सम्भव नहुने धारणा राख्नुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिर अलीले शिक्षा प्रणालीलाई राष्ट्रिय आवश्यकता र पहिचानसँग जोड्नुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका आर्यन राईले श्रमप्रति सम्मान जगाउने शिक्षा प्रणालीको आवश्यकता औंल्याउनुभयो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले सरकारले शिक्षा सुधारका लागि नीतिगत पहल गरिरहेको जानकारी दिँदै प्रभावकारी कार्यान्वयनमा जोड दिइएको बताउनुभयो। शिक्षा विज्ञ विद्यानाथ कोइरालाले नेपालको शिक्षा प्रणाली अझै सैद्धान्तिक रहेको उल्लेख गर्दै व्यवहारिक तथा रोजगारमुखी शिक्षाको आवश्यकता औंल्याउनुभयो। हरि लम्सालले नीति निर्माण र कार्यान्वयनबीचको अन्तरलाई प्रमुख चुनौतीका रूपमा प्रस्तुत गर्दै अनुसन्धानमा आधारित नीति निर्माण र दीर्घकालीन सोच आवश्यक रहेको बताउनुभयो।
पूर्व शिक्षा सचिव महाश्रम शर्माले नीति निरन्तरताको अभावले शिक्षा प्रणालीमा अस्थिरता आएको धारणा राख्नुभयो भने ललितपुर महानगरपालिकाका शिक्षा निर्देशक देवी प्रसाद उपाध्यायले स्थानीय तहको भूमिका सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा सहभागीहरूले शिक्षक व्यवस्थापन, पेशागत विकास, प्रविधिमैत्री शिक्षा, निजी तथा सार्वजनिक शिक्षाबीच सन्तुलन तथा रोजगारमुखी पाठ्यक्रम विकासमा जोड दिएका थिए। शिक्षक सशक्तीकरण बिना शिक्षा सुधार सम्भव नहुने धारणा समेत व्यक्त गरिएको थियो।
कार्यक्रमको डिजिटल पार्टनरका रूपमा Teacher’s Co-Pilot ले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। उक्त एआई-आधारित प्लेटफर्मले शिक्षकहरूलाई पाठ योजना निर्माण, शिक्षण सामग्री विकास, विद्यार्थी मूल्याङ्कन तथा डिजिटल शिक्षण अभ्यासमा सहयोग पुर्याउँदै शिक्षा क्षेत्रमा नवप्रवर्तन ल्याउने प्रयास गरिरहेको जनाइएको छ।
PAN ले यस संवादबाट प्राप्त निष्कर्ष तथा सुझावहरूलाई सम्बन्धित निकायहरूमा औपचारिक रूपमा पेश गर्ने जनाएको छ। साथै, आगामी सरकार तथा प्रतिनिधिसभामा प्रस्तुत हुने शिक्षा सम्बन्धी नीति तथा कार्यक्रमहरूमा यी सुझावहरू उपयोगी हुने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमको समापन PAN का वरिष्ठ उपाध्यक्ष हेरम्ब कँडेलले धन्यवाद ज्ञापन गर्दै गर्नुभएको थियो। PAN ले उक्त संवादलाई शिक्षा क्षेत्रको नीतिगत सुधार, सहकार्य र समन्वयका लागि महत्वपूर्ण मञ्चका रूपमा लिएको जनाएको छ।














Comments are closed