काठमाडौं। नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशनबाट ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष मोहन कटुवाल बस्तुगततर्फको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्।
ललितपुरमा आइतबारदेखि सुरु भएको महासंघको महाधिवेशनले देशभरका घरेलु, साना तथा लघु उद्योगी–व्यवसायीहरूको साझा नेतृत्व चयन गर्ने क्रममा कटुवाललाई सर्वसम्मत रूपमा बस्तुगत उपाध्यक्षको जिम्मेवारी दिएको हो। उनको निर्विरोध चयनलाई ग्रील तथा स्टील उद्योग क्षेत्रका साथै समग्र घरेलु तथा साना उद्योग क्षेत्रमा सक्रिय व्यवसायीहरूले सकारात्मक रूपमा लिएका छन्।
लामो समयदेखि स्वरोजगार, साना उद्योगको प्रवर्द्धन तथा उद्यमशीलताको विकासमा सक्रिय रहँदै आएका कटुवाल ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्षका रूपमा परिचित छन्।
नेपाल घरेलु तथा साना उद्योग महासंघ देशभरका घरेलु, लघु, साना तथा मझौला उद्योगीहरूको साझा छाता संगठनका रूपमा परिचित छ। महासंघले उद्योगमैत्री नीति निर्माण, उद्यमशीलताको विकास, स्वरोजगार प्रवर्द्धन, सीप विकास, प्रविधि हस्तान्तरण, वित्तीय पहुँच विस्तार तथा उत्पादनमूलक उद्योगको संरक्षणका विषयमा सरकारसँग समन्वय गर्दै आएको छ।
नवनिर्वाचित उपाध्यक्ष कटुवालले आफ्नो जिम्मेवारीलाई सम्पूर्ण बस्तुगत सदस्य संस्थाहरूको साझा प्रतिनिधित्वका रूपमा लिएको बताएका छन्। उनले घरेलु तथा साना उद्योग क्षेत्रले भोगिरहेका कच्चा पदार्थको मूल्यवृद्धि, उत्पादन लागत, दक्ष जनशक्ति अभाव, आधुनिक प्रविधिको सीमित पहुँच, बैंकिङ तथा वित्तीय पहुँच, बजार व्यवस्थापन र उद्योगमैत्री नीतिको आवश्यकता जस्ता विषयलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले ग्रील तथा स्टील व्यवसाय मात्र नभई महासंघअन्तर्गत आबद्ध सबै बस्तुगत संघ–संस्थाबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउँदै सरकारसँग नीतिगत संवादलाई सशक्त बनाउने लक्ष्य रहेको उल्लेख गरेका छन्। साथै, स्वदेशी उत्पादनको संरक्षण, आयात प्रतिस्थापन, स्थानीय उत्पादनको प्रवर्द्धन तथा युवा उद्यमशीलताको विकासका लागि महासंघभित्रबाट सक्रिय भूमिका निर्वाह गर्ने उनको भनाइ छ।














Comments are closed