Shopping cart

  • Home
  • समाज
  • नेपाली कम्युनिस्ट पार्टी दलित अधिकारका लागि एकमात्र भरोसा: प्रचण्ड
देश

नेपाली कम्युनिस्ट पार्टी दलित अधिकारका लागि एकमात्र भरोसा: प्रचण्ड

Email :58

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको मुक्ति, समानता र सशक्तीकरणका लागि आफ्नो पार्टी मात्र स्पष्ट दृष्टि, नीति र प्रतिबद्धतासहित अघि बढेको बताउनु भएकाे छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास नै दलित समुदायको संघर्ष र बलिदानसँग गाँसिएको उल्लेख गर्नुभयो।

प्रचण्डले जनयुद्धकालदेखि नै दलित अधिकारलाई आन्दोलनको केन्द्रमा राखिएको स्मरण गर्दै पहिलो शहीद दिलबहादुर रम्तेल दलित समुदायबाट हुनु र दलित महिलाहरूले राज्यसँग भिडेर हतियार खोसेको ऐतिहासिक घटनाले आन्दोलनमा दलितहरूको अग्रणी भूमिका पुष्टि गरेको बताउनुभयो। “दलित समुदायको रगत र बलिदानबिनाको परिवर्तन सम्भव थिएन,” उहाँले भन्नुभयो, “त्यसको सम्मान र अधिकार सुनिश्चित गर्ने जिम्मेवारी नेकपाले लिएको छ।”

उहाँले वर्तमान संविधानमा दलित अधिकार समेटिए पनि व्यवहारिक कार्यान्वयन कमजोर रहेको उल्लेख गर्दै शक्तिशाली ‘दलित विकास प्राधिकरण’ गठन गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो। शिक्षा, रोजगारी, सामाजिक न्याय र आर्थिक सशक्तीकरणका कार्यक्रम एकीकृत रूपमा अघि बढाउन अलग्गै संरचना आवश्यक रहेको उहाँको भनाइ थियो।

दोलखालगायत विभिन्न जिल्लाबाट दलित समुदायका अगुवा नेता–कार्यकर्ताहरू नेकपामा प्रवेश गरेको उल्लेख गर्दै उहाँले अन्य दलले दलितलाई केवल नारामा सीमित राखेको आरोप लगाउनुभयो। “दलितको वास्तविक मुक्ति र सम्मान सुनिश्चित गर्ने राजनीतिक शक्ति नेकपा मात्र हो,” उहाँले भन्नुभयो।

Comments are closed

Related Post