Shopping cart

  • Home
  • स्वास्थ्य
  • नेपाली कम्युनिस्ट पार्टी पाल्पा २ का उम्मेदवार सोमप्रसाद पाण्डे भन्छन्- यहाँका अधुरा आयोजना पुरा गर्न मेरो उम्मेदवारी
अर्थ

नेपाली कम्युनिस्ट पार्टी पाल्पा २ का उम्मेदवार सोमप्रसाद पाण्डे भन्छन्- यहाँका अधुरा आयोजना पुरा गर्न मेरो उम्मेदवारी

Email :74

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पाल्पा क्षेत्र नं. २ का उम्मेदवार सोमप्रसाद पाण्डे पाल्पाका अधुरा आयोजना पुरा गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
आफू २०७९ सालको निर्वाचनमा पराजित भएपछि जिल्लाको विकास निर्माणले गति लिन नसकेको गुनासो स्थानीयबाट आएपछि आफू पुनः जनतामाझ आएको उनको दाबी छ । उनले आफू सांसद वा मन्त्री नहुँदा पनि पाल्पाको विकासका लागि निरन्तर खटिरहेको पनि उनको भनाई छ ।

पाण्डेले सिद्धबाबा सुरुङमार्ग निर्माणमा आफ्नो भूमिका निर्णायक रहेको दाबी गरे । तत्कालीन अर्थमन्त्रीले सुरुङमार्गका लागि १० अर्ब बजेट सुनिश्चित गर्न स्रोत नपुग्ने बताएपछि आफूले अनसन बस्ने चेतावनी दिएको उनले स्मरण गरे । सडक बनेयता झण्डै एक हजार जनाले ज्यान गुमाइसकेको भन्दै उनले नागरिकको जीवनभन्दा ठुलो केही नहुने अडान लिएपछि मात्र बजेट सुनिश्चित भएको बताए ।

पछिल्लो समय ‘जेनजी’ ले उठाएको सुशासनको मुद्दाप्रति आफ्नो पार्टी प्रतिबद्ध रहेको भन्दै पाण्डेले युवाहरूलाई पार्टीमा जोडिन आग्रह गरे । पाल्पा–२ मा पाण्डेको मुख्य प्रतिस्पर्धा नेकपा एमालेका ठाकुर गैरे र नेपाली कांग्रेसका हिमाल दत्त श्रेष्ठसँग हुने भएपनि उनको कामको उचाईले अरु कम्जोर हुने स्थानीयहरु नै बताउँछन् ।
पाल्पालाई पर्यटकीय हब बनाउने योजना सुनाउँदै पाण्डेले निर्वाचन जितेपछि नेपालकै सबैभन्दा ठुलो बुद्ध गार्डेन मूर्ति बनाउने नयाँ योजना अघि सारेका छन् । पाल्पा र बुटवलको निकटतालाई उपयोग गर्दै पर्यटन र पूर्वाधार विकासमा क्रान्ति ल्याउने उनको प्रतिबद्धता छ।


नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्ष समेत भै सकेका पाण्डे २०५१ सालयता पाँचवटा चुनाव लडेर चार वटामा विजयी भएका छन् । पाल्पाको मदनपोखरामा जन्मिएका ६६ वर्षीय पाण्डेय कानुनमा स्नातक हुन् । २०३० सालमै नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी शिक्षण पेशामा रहेका बेला बहुदलको पक्षमा सक्रिय हुँदा २०३६ सालमा ३२ दिन जेल समेत परेका थिए ।

२०४० सालमा नेकपा (माले) को गाउँ कमिटी उपसचिव बनेका पाण्डे इलाका सदस्यहुँदै २०५१ सालपछि लगातार १७ वर्ष जिल्ला कमिटी सदस्य रहे । त्यसपछि पाँच वर्ष राष्ट्रिय प्रतिनिधि परिषद्, केन्द्रीय विभागहरू हुँदै नेकपा (एमाले) को केन्द्रीय सदस्य र पाल्पा इन्चार्जको जिम्मेवारीमा पुगे ।

केही समय वकालत गरेका पाण्डेय नेपाल बार एशोसिएसन पाल्पाको अध्यक्ष पनि भए । २०५१ सालको मध्यावधि निर्वाचनमा पाल्पा–२ बाट भारी मतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी २०५६, २०७० र २०७४ को निर्वाचनमा पनि विजयी भए । पाण्डेयले २०६४ सालको दोस्रो संविधानसभा निर्वाचन भने हारे । २०७० सालको दोस्रो संविधानसभा निर्वाचन जितेका उनी २०७२ मा उद्योगमन्त्री बने ।

एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) मा आबद्ध भए । पार्टीको पाल्पा इन्चार्ज र लुम्बिनी प्रदेश अध्यक्ष समेतको भूमिका निर्वाह गरीसकेका पाण्डे नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य हुन् । उनी यो पटक पाल्पालीको समृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै मत मागिरहेका छन् ।


पाण्डेले पाल्पाको तानसेनलाई सुन्दर पर्यटकीय ऐतिहासिक सहर बनाउने योजना रहेको बताए। उनीसँग पाल्पा काठमाडौँ पछि बुद्ध धर्म मान्नेहरूको दोस्रो ठूलो सहर रहेको उल्लेख गर्दै उनले श्रीनगरलाई बुद्ध गार्डेनको रूपमा विकास गर्न सके लुम्बिनी आउने पर्यटकहरूलाई पाल्पा लैजान सकिने र त्यसैको माध्यमबाट पाल्पालाई समृद्ध बनाउन सकिने योजना छ ।

‘पाल्पालाई हिल स्टेसनको रूपमा विकास गर्न सके लुम्बिनी आएका पर्यटकहरूलाई लैजान सकिन्छ, सिद्धबाबा सुरूङ मार्ग, बुटवल तानसेन र बुटवल पोखरा सडक खण्डको निर्माण सम्पन्न हुँदा बुटवल र पाल्पाको दुरी पनि छोटो हुनेछ,’ उनले भने।

पाण्डेले तानसेनसँग जोडेर हार्थोक-छहरा र तानसेन-पोखरा सडकको स्तरोन्नति, माडीमा चक्रपथ निर्माण लगायतका विकास निर्माणका काममा आफूले पहल गरिरहेको दाबी गरे।

‘मैले २०५१ सालमै पनि मुख्य तीन वटा कुराहरू जिते पनि र हारे पनि पाल्पाली जनतासँगै रहने, कुनै पनि आर्थिक अनियमिततामा मुछिएर जनताको शिर निहुरिन नदिने र आफूलाई दिएका जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता गरेको थिएँ। आज पनि म ती प्रतिबद्धतामा अडिग छु, मलाई मत दिएर कुनै पनि मतदाताले शिर निहुराउनुपर्ने र पछुताउनुपर्ने अवस्था आउन दिने छैन,’ उनले भने।

उनले आफ्नो पहलमा पाल्पाका विभिन्न स्थानमा तीन सय बढी साना ठूलो आयोजना सञ्चालनमा रहेको दाबी गर्दै अधुरा रहेका आयोजना पूरा गर्न यस पटक आफ्नो आवश्यकता रहेको बताए।

पाल्पाका रैनादेवी छहरा, रिब्दीकोट र बगनासकाली गाउँपालिकासँगै माथागढी गाउँपालिकाको वडा नं. १, तिनाउ गाउँपालिकाको वडा नं. १ देखि ४ र ६ तथा तानसेन नगरपालिकाको १ देखि ७ र ९ देखि १४ वडा समेटिएको क्षेत्र नं. २ मा १ लाख ९ हजार ५३ मतदाता रहेका छन्।

Comments are closed

Related Post