Shopping cart

  • Home
  • समाज
  • नेपाली कम्युनिस्ट पार्टी धनकुटाका उम्मेदवार धर्मराज पौडेलका प्रतिबद्धता-बाँदर नियन्त्रणदेखि रोजगारी सिर्जनासम्म
देश

नेपाली कम्युनिस्ट पार्टी धनकुटाका उम्मेदवार धर्मराज पौडेलका प्रतिबद्धता-बाँदर नियन्त्रणदेखि रोजगारी सिर्जनासम्म

Email :65

धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टीले धनकुटाको समग्र विकासलाई केन्द्रमा राखेर महत्वाकांक्षी र व्यवहारिक प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टीले प्रत्यक्षतर्फ केन्द्रीय सदस्य धर्मराज पौडेललाई उम्मेदवार बनाउँदै जिल्लाको आर्थिक, सामाजिक र पूर्वाधार विकासमा नयाँ युग सुरु गर्ने स्पष्ट खाका प्रस्तुत गरेको हो ।

पार्टीले वर्तमान राजनीतिक अवस्थालाई सही दिशामा लैजान र लोकतान्त्रिक उपलब्धिहरूलाई अझ सुदृढ बनाउन आफ्नो जित अपरिहार्य रहेको उल्लेख गर्दै ‘तारा’ चिन्हमा मतदान गर्न मतदातालाई अपिल गरेको छ । उम्मेदवार पौडेलले धनकुटालाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीका क्षेत्रमा नमुना जिल्ला बनाउने लक्ष्य अघि सारेका छन् ।

 

बाँदर नियन्त्रणमार्फत किसानलाई राहत र निर्यातको नयाँ सम्भावना

प्रतिबद्धतापत्रको सबैभन्दा नवीन र दूरगामी योजना बाँदर नियन्त्रण र यसको व्यावसायिक उपयोग हो । किसानको खेतबारीमा ठूलो क्षति पुर्‍याउँदै आएको बाँदर समस्यालाई समाधान गर्न व्यावसायिक रूपमा बाँदर पालन गरी मासु र सुकुटी उत्पादन गरेर निर्यात गर्ने योजना अघि सारिएको छ ।
उम्मेदवार पौडेलका अनुसार निश्चित स्थान तोकी वैज्ञानिक ढंगले बाँदर पालन गर्दा किसानलाई राहत मिल्नुका साथै रोजगारी सिर्जना र आम्दानीको नयाँ स्रोत खुल्नेछ । उनले चीनलगायत अन्तर्राष्ट्रिय बजारमा बाँदरको मासु र सुकुटीको उच्च माग रहेको उल्लेख गर्दै यसलाई धनकुटाको आर्थिक सम्भावनासँग जोड्ने प्रतिबद्धता व्यक्त गरे । साथै, वन्यजन्तु सम्बन्धी कानुन संशोधन गरेर यस योजनालाई व्यवस्थित र कानुनी आधारमा कार्यान्वयन गर्ने पहल गर्ने उनको स्पष्ट योजना छ ।

 

शिक्षा, स्वास्थ्य र पूर्वाधारमा व्यापक सुधार

पार्टीले सामुदायिक विद्यालयको गुणस्तर सुधार, वन विज्ञान तथा पशु विज्ञान संकाय सञ्चालन, अस्पताल स्तरोन्नति तथा प्रत्येक स्थानीय तहमा खेलमैदान र कभर्ड हल निर्माण गर्ने योजना अघि सारेको छ । ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने, कालोपत्रे, ग्राभेल, नाली, पर्खाल र कल्भर्ट निर्माणमार्फत सुरक्षित यातायात सुनिश्चित गर्ने प्रतिबद्धता पनि गरिएको छ ।

 

कृषि आधुनिकीकरण र रोजगारी सिर्जनामा जोड

कृषि क्षेत्रमा पकेट क्षेत्र विकास, कोल्ड स्टोर, प्रशोधन केन्द्र, सिँचाइ विस्तार, सहुलियत ऋण तथा अनुदानको व्यवस्था गरी किसानको उत्पादन र आम्दानी बढाउने लक्ष्य राखिएको छ । नगदे बाली, पशुपालन, तरकारी र फलफूल उत्पादन विस्तार गरी युवालाई आफ्नै जिल्लामा रोजगारी सिर्जना गर्ने वातावरण बनाइने उल्लेख गरिएको छ ।

 

पर्यटन, स्वरोजगार र सामाजिक न्यायमा प्राथमिकता

धनकुटाका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक स्थलको संरक्षण र प्रवर्द्धन, मिनी रंगशाला निर्माण, खेल पूर्वाधार विकास तथा होमस्टे प्रवर्द्धनमार्फत पर्यटन विस्तार गर्ने योजना सार्वजनिक गरिएको छ । विदेशबाट फर्किएका युवालाई सीपमा आधारित स्वरोजगारमा जोड्ने कार्यक्रम ल्याइने प्रतिबद्धता पनि गरिएको छ ।

साथै, शहीद, बेपत्ता तथा घाइते परिवारको संरक्षण, स्वच्छ खानेपानी पहुँच विस्तार, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको समान सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता पार्टीले जनाएको छ ।

 

पार्टीकी जिल्ला संयोजक कुशुम कुमारी श्रेष्ठका अनुसार उम्मेदवार पौडेल जनताको समस्या प्रत्यक्ष रूपमा सुन्ने, समाधानका लागि स्पष्ट योजना भएको र विकासको बलियो आवाज उठाउने प्रतिबद्ध नेतृत्वका रूपमा स्थापित भइसकेका छन् । उनले यसपटक धनकुटामा नेकपाको जित सुनिश्चित हुनेमा पूर्ण विश्वास व्यक्त गरिन् ।

समग्रमा, स्पष्ट दृष्टिकोण, नवीन योजना र जनमुखी प्रतिबद्धतासहित उम्मेदवार धर्मराज पौडेल धनकुटाको समृद्ध भविष्य निर्माण गर्ने दृढ संकल्पका साथ चुनावी मैदानमा उत्रिएको देखिन्छ ।

Comments are closed

Related Post