कटारी । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुरेशकुमार राई (हिमाल) ले कटारीमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्।
राईले मतदातासामू लोकतन्त्रको रक्षा, रोजगारी सृजना, सुशासन र भ्रष्टाचारविरुद्ध दृढ संघर्ष गर्ने आफ्नो दृढ संकल्प व्यक्त गर्दै ‘सुशासन, रोजगारी, समाजबादको तयारी–राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो मुख्य जिम्मेवारी’ भन्ने मूल नारासहित मतदानको आग्रह गरेका छन्।
उम्मेदवार राईले प्रस्तुत गरेका ६ बुँदे योजनामा समेटिएका छन्:
सुशासन र पारदर्शितामार्फत भ्रष्टाचारको अन्त्य र समाजबादको मार्ग तय गर्ने।
उत्पादनमुखी कृषि र घरेलु तथा साना उद्योगकलकारखानाबाट वर्षेनी रोजगार सृजना गर्ने।
वैज्ञानिक र बस्तुवादी शिक्षामार्फत समाजबादको आधार तयार गर्ने।
निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने र राष्ट्रिय हितका मुद्दा संसदमा उठाउने।
अधुरा सडक, खानेपानी र पूर्वाधार परियोजना पुरा गर्ने।
स्थानीय विद्यालय, स्वास्थ्य चौकी र अस्पताललाई पक्की भवन र दक्ष जनशक्तियुक्त बनाउने।
राईले पहिलो कार्यकालमा सुरु गरेका डिभिजन सडक कार्यालय अन्तर्गतका कच्ची सडक, लिफ्टिङ खानेपानी योजना र कोशी करिडोर सडक निर्माणजस्ता अधुरा परियोजनालाई पूरा गर्ने प्रतिबद्धता पनि जनाए। उनले कटारी–मिर्चया–घुर्मी सडकको स्तरोन्नति गर्दै कालोपत्रे गर्ने र पाँच वर्षभित्र १ अर्ब १३ करोड विनियोजित बजेटमार्फत सडक निर्माण पुरा गर्ने वचन दिए।
उनले निर्वाचन क्षेत्रभित्रका ४० वटै वडासम्म जोडिने भित्री सडक, स्थानीय खोला खोल्सीमा पुल, पुलेसा, नाला–कल्भर्ट निर्माण तथा सामुदायिक विद्यालय, स्वास्थ्य चौकी र अस्पताललाई पक्की भवन र दक्ष जनशक्तियुक्त बनाउने योजना पनि सार्वजनिक गरे।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य जगन्नाथ खतिवडा ले पार्टीको चुनावी घोषणापत्र प्रस्तुत गर्दै नेपाली कम्युनिष्ट पार्टीलाई भुई तहदेखि उच्च वर्गसम्म साझा शक्ति भएको बताए। उनले कृषिलाई वैज्ञानिकरण गर्दै उत्पादनमुखी बनाउने, कृषि उपजको उचित मूल्य सुनिश्चित गर्ने, घरेलु तथा साना उद्योग स्थापना गर्ने र वर्षेनी २–५ लाख युवा रोजगारीमा जुटाउने पार्टीको योजना जनाउँदै फागुन २१ को निर्वाचनमा तारा चिन्हमा बहुमत दिन जनतालाई आग्रह गरे।
खतिवडाले पार्टी पूर्णरूपमा एकताबद्ध रहेको भन्दै प्रत्यक्ष र समानुपातिक सबै उम्मेदवारलाई जिताउन आफैँ चुनावी अभियानमा सक्रिय रहेको जानकारी दिए। उनले भने,
“केही हल्ला छन् कि हामी नेताबीच एकता छैन भनेर। त्यसो होइन। हामी सबै नेता–कार्यकर्ता एकढिक्का भएर लोकतन्त्र, गणतन्त्र, संघीयता र देशको रक्षा गर्न चुनावी अभियानमा लागेका छौँ।”
उपयुक्त उमेर र अनुभवको संयोजन गर्दै नेकपाले उदयपुर–२ मा सुरेश राईलाई प्रत्यक्षतर्फ, राममणि पोखरेल, बिनोद कटुवाल (दिवश) र महिला उम्मेदवार मेनुका राई गुरुङ लाई समानुपातिकतर्फ उठाएको छ। यसरी ३ पुस्ता र दुवै लिङ्गका मतदाताले मतदान गर्न उत्साहित हुने अपेक्षा गरिएको छ।














Comments are closed