सिन्धुली । नेपाली कम्युनिस्ट पार्टी सिन्धुली- १ का उम्मेद्वार कानुनव्यवसायी डेकेन्द्रप्रसाद सुवेदीले आफ्नो उम्मेदवारी नीतिगत सुधार, सुशासन र दिगो विकासका लागि रहेको बताएका छन्।
सुवेदीले पार्टीको लामो राजनीतिक संघर्ष, नेतृत्व अनुभव र समाजवादप्रतिको प्रतिबद्धता नै मुख्य आधार भएको भन्दै “देशको समृद्धि र समाजवाद स्थापनाका लागि हाम्रो पार्टीले निरन्तर भूमिका खेलेको छ। जनतामा हाम्रो पार्टीप्रति विश्वास बढ्दो छ,” उनले भने। गाउँ-गाउँमा पुग्दा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको सुवेदीको भनाई छ ।
उनले कानूनी तथा नीतिगत सुधारलाई पहिलो एजेन्डा बनाउने बताए। “म लामो समयदेखि कानूनी क्षेत्रमा काम गरिरहेको छु। जनताले भोगिरहेका प्रशासनिक जटिलता, भ्रष्टाचारजन्य प्रवृत्ति र सेवाग्राहीका समस्या समाधान गर्न नीतिगत हस्तक्षेप आवश्यक छ,” उनले स्पष्ट पारे।
उनका अनुसार सिन्धुली–१ क्षेत्रमा सडक, विद्युत, शिक्षा र स्वास्थ्य पूर्वाधारका समस्या अझै विद्यमान छन्। ती समस्याको समाधानका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्दै काम गर्ने उनको योजना छ।

सिन्धुलीसँग जोडिएका तराई भेगमा नदी कटानका कारण जनधनको क्षति भइरहेको उल्लेख गर्दै सुवेदीले स्थायी तटबन्ध निर्माणका लागि केन्द्र सरकार र सरोकारबालाहरुसँग सम्वन्वय र पहल गर्ने बताए । “खोलानाला र नदीजन्य कटानबाट जनताको भौतिक सम्पत्ति जोगाउन दीर्घकालीन समाधान आवश्यक छ,” उनले भने। सिन्धुली जुनार उत्पादनका लागि प्रसिद्ध जिल्ला मानिन्छ। यस सन्दर्भमा उनले पहाडी क्षेत्रमा उत्पादित जुनार तथा तराई क्षेत्रमा उत्पादन हुने ड्रागन फ्रुट र आँपजस्ता कृुषिजन्य उपजको चिस्यान केन्द्र स्थापना गर्न बजारीकरणको प्रपञ्च मिलाउनु यस क्षेत्रको आम्दानीमा सहयोग पुुग्ने उनको धारणा छ ।
“बजार व्यवस्थापन र प्रशोधन प्रणाली सुधार भए किसानले बेसिजनमा पनि राम्रो आम्दानी गर्न सक्छन्,” यस्ता क्षेत्रको हितमा आफ्नो ध्यानाकर्षण हुने उनले बताए। त्यस्तै, पहाडबाट तराईसम्म कृषि उपजको सहज बजारीकरण र पशुजन्य र दुग्धजन्य उत्पादनको वैज्ञानिक प्रशोधनमार्फत किसान र उपभोक्ता दुवैलाई लाभ पुग्ने वातावरण सिर्जना गर्ने उनको भनाइ छ।
युवाहरू रोजगारी र अध्ययनका लागि विदेशिनु चिन्ताको विषय भएको उल्लेख गर्दै उनले देशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। “यो देशमा केही गर्न सकिँदैन भन्ने भाष्य अन्त्य गर्नुपर्छ। अस्पताल, प्राविधिक शिक्षा र कृषि क्षेत्रमा सुधार अपरिहार्य छ,” उनले भने। सुवेदीले पपुलिज्मभन्दा माथि उठेर सुशासन, समावेशिता, धर्मनिरपेक्षता र संघीयताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। किसान, मजदूर, दलित, मधेसी र मुस्लिम समुदायको अधिकार संरक्षणमा आफ्नो पार्टी सधैं दृढ रहेको उनको दाबी छ।

“समृद्ध सिन्धुली निर्माणका लागि मेरो उम्मेदवारी हो। जनताको मतले यो अभियान सफल हुनेछ भन्ने विश्वास लिएको छु,” सुवेदीले भने। २०२६ माघ २६ गते साविक टाडी–६, धनसरी हाल दुधौली नगरपालिका ११ सिन्धुलीमा जन्मिएका सुवेदी पेशाले कानून व्यवसायीका रूपमा परिचित छन् । उनले समाजशास्त्र तथा मानवशास्त्रमा एम ए र वाणिज्य कानूनमा एलएलएम गरेका छन्। लामो समयदेखि वाम राजनीतिमा सक्रिय उनी विद्यार्थी राजनीति हुँदै विभिन्न पार्टी कमिटी तथा पेशागत संगठनहरूमा नेतृत्वदायी भूमिकामा रहँदै आएका छन्। २०५१ सालदेखि कानुन व्यवसायमा आबद्ध सुवेदीले उच्च अदालत पाटन बार एसोसिएसनको कार्यसमिति सदस्य र नेपाल बार एसोसिएसनको कार्यकारी परिषद् तथा विभिन्न समितिहरूमा रहेर काम गरेका छन् ।

सुवेदीको राजनीतिक यात्रा भने २०४२ सालदेखि अनेरास्ववियु (पाँचौं) बाट सुरु भएको हो । २०४५ सालदेखि तत्कालीन नेकपा (माले) सँग आबद्ध भएका उनी २०४७ सालमा नेकपा (एमाले) को संगठित सदस्य बनेका थिए । उनले सिन्धुलीको स्थानीय न्यायिक समितिको सचिवदेखि नेकपा ९एमाले० को सिन्धुली(काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष र जनकपुर अञ्चल सम्पर्क कमिटीको सचिवसम्मको जिम्मेवारी सम्हालेका छन् ।
पार्टी विभाजनपछि उनी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी निकट कानुन व्यवसायी संगठन (एसपीएल) को केन्द्रीय अध्यक्ष र पार्टीको निर्वाचन आयोगको सदस्यसमेत रहे । हाल उनी नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुन्।














Comments are closed