Shopping cart

  • Home
  • समाज
  • देश र जनतालाई केन्द्रमा राखेर सहकार्य गर्न तयार छौँ : वर्षमान पुन
देश

देश र जनतालाई केन्द्रमा राखेर सहकार्य गर्न तयार छौँ : वर्षमान पुन

Email :49

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुन ‘अनन्त’ ले देश र जनतालाई केन्द्रमा राखेर सबै राजनीतिक शक्तिहरूबीच सहकार्यको नयाँ अध्याय सुरु गर्नुपर्ने बताउनु भएकाे छ ।

नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै उहाँले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढे मात्रै लोकतन्त्र सुदृढ र जनताको विश्वास कायम रहने उल्लेख गर्नुभयाे ।

संसदमा पहिलो सम्बोधनका क्रममा पुनले कुनै पनि दल वा व्यक्तिले लघुताभास राख्न नहुने स्पष्ट पार्दै सबै राजनीतिक शक्तिहरू समान उद्देश्यका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयाे । उहाँले भन्नुभयाे, “हामी सबै फरक–फरक विचार र पृष्ठभूमिबाट आएका भए पनि हाम्रो साझा लक्ष्य देशको समृद्धि र जनताको सुख हो । त्यसैले प्रतिस्पर्धाभन्दा सहकार्यलाई प्राथमिकता दिनु आजको आवश्यकता हो ।”

नेकपाको संसदीय दलका तर्फबाट धारणा राख्दै उहाँले संसदलाई संवाद, सहमति र सहकार्यको प्रभावकारी थलो बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयाे । उहाँले संसद केवल बहस गर्ने स्थान मात्र नभई समाधान निकाल्ने जिम्मेवार संस्था भएको उल्लेख गर्दै सबै दलले रचनात्मक भूमिका खेल्नुपर्ने बताउनुभयाे ।

संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त बैठकमा सम्बोधन नगरेको सन्दर्भमा पुनले पार्टीको सामूहिक धारणा प्रस्तुत गर्नुभयाे । उहाँले वर्तमान राजनीतिक परिस्थितिमा जिम्मेवार ढंगले अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै सरकार र प्रतिपक्षबीच सहकार्यको वातावरण निर्माण गर्नुपर्ने बताउनुभयाे ।

रास्वपा नेतृत्वको वर्तमान सरकारलाई संकेत गर्दै उहाँले अघिल्लो सरकारका अधुरा काम, प्रतिबद्धता र दायित्वहरू पनि अहिलेको सरकारकै जिम्मेवारी भएको उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयाे, “सरकार परिवर्तन हुँदैमा दायित्व समाप्त हुँदैन । जनतासँग गरिएका वाचा निरन्तरता पाउनुपर्छ । त्यसका लागि सबै दलको सहकार्य अपरिहार्य छ ।”

पुनले देशको आर्थिक अवस्था सुधार, सुशासन कायम, रोजगारी सिर्जना र विकास निर्माणका कामलाई तीव्रता दिन सबै दल एकजुट हुनुपर्ने धारणा राख्नुभयाे । उहाँले जनताका अपेक्षाहरू उच्च रहेको उल्लेख गर्दै ती अपेक्षा पूरा गर्न राजनीतिक स्थिरता र सहकार्य आवश्यक रहेको बताउनुभयाे ।

उहाँले संसदमार्फत सकारात्मक राजनीति, पारदर्शिता र उत्तरदायित्वको संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै मतभेदलाई द्वन्द्व होइन, समाधान खोज्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभयाे । “हामीबीच मतभेद हुन सक्छ, तर त्यो लोकतन्त्रको सुन्दरता हो । महत्वपूर्ण कुरा भनेको ती मतभेदलाई संवादमार्फत समाधान गर्दै अघि बढ्नु हो,” उहाँले भन्नुभयाे ।

सम्बोधनको अन्त्यमा पुनले देशको समृद्धि र जनताको हितलाई सर्वोपरि राखेर सबै दलबीच विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयाे । उनले साझा उद्देश्यका लागि हातेमालो गर्न तयार रहेको सन्देश दिँदै आगामी दिनमा संसद अझ प्रभावकारी र जनमुखी बन्ने विश्वास व्यक्त गर्नुभयाे ।

Comments are closed

Related Post