काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले देशको अस्तित्वको रक्षा सबैभन्दा ठुलो चुनौतीका रूपमा रहेको बताएका छन् । २९औँ तुलसीलाल स्मृति दिवसका अवसरमा आइतबार ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा सम्मान ग्रहणपछि सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले देशको स्वाभिमान बचाउने कुरा अहिले प्रमुख रूपमा मुखरर भएको बताएका हुन् ।
नेपालले सबैलाई आत्ममन्थन गर्दै सही र गलत कार्यको समीक्षा गर्न तथा हिंसा र विनाशको संस्कृतिबाट टाढा रहन आग्रह गरे। नेपालले जनआन्दोलनका क्रममा महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन तथा विभिन्न नेताहरूका घरमा आगजनी हुँदा मुलुकको राजनीतिक र बौद्धिक सम्पदामा ठूलो क्षति पुगेको बताएका छन्।
उनले आन्दोलनका क्रममा विभिन्न ऐतिहासिक दस्तावेज, नेताहरूका घर तथा सरकारी भवनमा आगजनी भएको उल्लेख गर्दै त्यसको असर विभिन्न संस्थाले समेत भोग्नुपरेको बताए। उनका अनुसार नेकपा एमालेको पुस्तकालय र त्यहाँ रहेका बहुमूल्य पुस्तकहरू पनि आगजनीबाट नष्ट भएका थिए।
नेपालले मुलुकको राजनीति र इतिहासमा योगदान पुर्याएका अग्रज व्यक्तित्वहरूको सम्मान गर्नुपर्नेमा जोड दिँदै नयाँ पुस्ताले इतिहास र त्यसका योगदानकर्तालाई चिन्न, बुझ्न र सम्मान गर्न नसक्नु दुःखद भएको बताए।
उनले समाजमा बढ्दो हिंसा र आगजनीका घटनाप्रति चिन्ता व्यक्त गर्दै अरूको घर, सम्पत्ति र परिवारमाथि हुने हिंसाको पीडा आफ्नै परिवारमाथि परेको भए कस्तो हुन्थ्यो भन्ने सोच्न आवश्यक रहेको धारणा राखे। समाजमा सहिष्णुता, सम्मान र जिम्मेवारीको संस्कार विकास गर्नुपर्नेमा पनि उनले जोड दिए।












Comments are closed