Shopping cart

  • Home
  • स्वास्थ्य
  • दाम्पत्य प्रेम र सुख-समृद्धिको कामनासहित मधुश्रावणी पर्व समापन हुँदै
देश

दाम्पत्य प्रेम र सुख-समृद्धिको कामनासहित मधुश्रावणी पर्व समापन हुँदै

Email :69

महोत्तरी । मिथिलाञ्चल क्षेत्रमा नवविवाहिता मिथिलानीले दाम्पत्य जीवनमा प्रेम, सुख-समृद्धि र पति–पत्नीबीचको सम्बन्ध प्रगाढ होस् भन्ने कामनासहित मनाउँदै आएको मधुश्रावणी पर्व आज समापन हुँदैछ।

मिथिलामा मौना पञ्चमी अर्थात् साउन कृष्ण पञ्चमीका दिन सुरु हुने यो पर्व साउन शुक्ल तृतीयाका दिन समापन गर्ने परम्परा छ। विवाह भएको पहिलो वर्ष नवविवाहिताले माइतीघरमा बसेर यो पर्व मनाउने चलन छ। पर्वका लागि आवश्यक खाद्य सामग्री, नयाँ वस्त्र, आभूषणलगायत पूजा सामग्री पति पक्षबाट माइतीमा पठाउने परम्परा रहँदै आएको छ।

पर्व अवधिभर नवविवाहिताले भगवान् शिव, देवी गौरी (पार्वती) र विषहराको पूजा-आराधना गर्छन्। दैनिक पूजा, कथा श्रवण, सामूहिक गायन, हासपरिहास तथा ‘फूललोढी’ अर्थात् पूजा प्रयोजनका लागि फूल खोज्ने परम्परा पर्वका प्रमुख आकर्षण हुन्।

मधुश्रावणीको महत्वपूर्ण विधिका रूपमा ‘टेमी’ लिने चलन पनि छ। परम्परागत रूपमा कपासको बत्तीको लप्काले घुँडा डाम्ने गरिए पनि पछिल्लो समय नयाँ पुस्ताले यसको विकल्पका रूपमा चन्दनको लेप लगाउन थालेका छन्। यसलाई परम्पराको भावनालाई कायम राख्दै स्वास्थ्य र संवेदनशीलतालाई ध्यान दिने सकारात्मक परिवर्तनका रूपमा लिइएको छ।

पर्वमा मैना पञ्चमी, विषहरि, विहुला, मङ्गला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीलगायत पौराणिक कथा सुनाउने परम्परा छ। ज्येष्ठ महिलाले नवविवाहितालाई यी कथा सुनाउने गर्छन्।

पहिले केही जातीय समुदायमा सीमित रहेको मधुश्रावणी पछिल्ला वर्षमा मिथिलाको साझा सांस्कृतिक पर्वका रूपमा विस्तार हुँदै गएको स्थानीय जानकारहरू बताउँछन्। पर्वले मैथिल संस्कृति, आपसी सद्भाव र पारिवारिक सम्बन्धलाई थप बलियो बनाउँदै आएको उनीहरूको भनाइ छ।

Comments are closed

Related Post