चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रताप गुरुङले चुनावी अभियानलाई तीव्र बनाएका छन्। घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै उनले आफूलाई “जनजातिको छोरा” भन्दै मतदातासँग एकपटक विश्वास गर्न आग्रह गरेका छन्।
“जनजातिको छोरालाई एकपटक विश्वास गर्नुहोस्, तपाईंको मत खेर जान दिने छैन। तपाईंको मतको सम्मान गर्दै काम गरेर देखाउनेछु,” उनले भने।
गुरुङले जनजाति समुदायसहित सबै वर्ग र समुदायको समान सहभागिता तथा प्रतिनिधित्व सुनिश्चित गर्नु वर्तमान आवश्यकता भएको बताए। “यो चुनाव व्यक्तिको मात्र होइन, पहिचान, अधिकार र समावेशी विकासको अभियान हो,” उनले जोड दिए।
लामो समयपछि जनजाति समुदायका उम्मेदवारले टिकट पाएको उल्लेख गर्दै उनले यसलाई ऐतिहासिक अवसरका रूपमा व्याख्या गरे। “हामी जनजातिले मात्र होइन, सबै समुदायले साथ दिनुहुनेछ भन्ने विश्वास छ,” उनले भने।
उक्त क्षेत्रबाट पटकपटक निर्वाचित सांसदहरूले अपेक्षित काम गर्न नसकेको आरोप लगाउँदै गुरुङले स्थानीय समस्या बुझेको व्यक्तिले मात्र प्रभावकारी विकास गर्न सक्ने दाबी गरे। “जुन क्षेत्रमा जन्मियो, हुर्कियो र जसलाई त्यस क्षेत्रबारे गहिरो जानकारी छ, त्यही व्यक्तिले विकास गर्न सक्छ। त्यसैले मलाई बहुमतका साथ विजय गराउनुहोस्, म तपाईंहरूको सुखदुःखमा साथ रहेर काम गर्नेछु,” उनले भने।
उनले समावेशी विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तारलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताए। साथै, स्थानीय तहमा पारदर्शिता कायम गर्दै युवाका लागि सीपमूलक तालिम र साना उद्यम प्रवर्द्धनमार्फत आर्थिक सशक्तीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
४२ वर्षीय गुरुङ इच्छाकामना गाउँपालिका–३ का स्थायी बासिन्दा हुन्। वर्गीय उत्पीडन, राज्य दमन र शोषणविरुद्धको संघर्षबाट राजनीतिक पहिचान बनाएको बताउने गुरुङ २०५२ सालमा नेकपा (माओवादी)को सदस्यता लिएपछि सक्रिय राजनीतिमा लागेका थिए। जनयुद्धकालमा उनले वर्गसंघर्षको मोर्चामा काम गरेको उल्लेख गरेका छन्।
गुरुङ उम्मेद्वारलाई जिताउन तमू सञ्चारकर्मीको अपिल
प्रतिनिधि सभाको निर्वाचनमा गुरुङ समुदायका उम्मेद्वारहरुलाई भोट हालेर जिताउनका लागि गुरुङ पत्रकारहरुको साझा संस्था तमू (गुरुङ) सञ्चारकर्मी संघले अपिल गरेको छ । संघले सोमबार एक अपिल जारी गर्दै निर्वाचनमा जुनसुकै दलबाट उम्मेद्वार रहेका भएपनि गुरुङ समुदायका उम्मेद्वार मत हालेर जिताउन अपिल गरेको हो ।












Comments are closed