उदयपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा उदयपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेर प्रतिस्पर्धा गरेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार बलदेव चौधरीले चुनावमा पराजित भए पनि जनताको सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनताले देखाएको विश्वास, स्नेह र समर्थनलाई आफ्नो राजनीतिक जीवनको महत्वपूर्ण पुँजीका रूपमा ग्रहण गर्दै आगामी दिनमा पनि जनताको मुद्दा र क्षेत्रको विकासका लागि निरन्तर लागिरहने बताएका हुन्।
सोमबार गाईघाटस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चौधरीले लोकतान्त्रिक व्यवस्थामा चुनाव हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै जनताले दिएको निर्णयलाई पूर्ण सम्मानका साथ स्वीकार गरेको बताए। उनले निर्वाचन परिणामलाई लोकतन्त्रको अभ्यासको एउटा महत्वपूर्ण पाटोका रूपमा लिँदै जनमतको सम्मान गर्नु नै लोकतान्त्रिक संस्कार भएको धारणा राखे।
चौधरीले भने, “लोकतन्त्रमा हार र जित दुबै स्वाभाविक प्रक्रिया हुन्। जनताले दिएको निर्णयलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्छु। निर्वाचनको परिणाम हाम्रो पक्षमा नआए पनि नेपाली कम्युनिस्ट पार्टी र आम जनताले मप्रति देखाउनुभएको विश्वास, स्नेह र समर्थनलाई मैले मेरो राजनीतिक जीवनको ठूलो पुँजीका रूपमा लिएको छु।”
उनले निर्वाचनका क्रममा घरदैलो अभियान, भेटघाट तथा अन्तरक्रियामा जनतासँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएको उल्लेख गर्दै त्यसक्रममा सुनेका जनताका समस्या, अपेक्षा, भावना र सपना आगामी दिनमा आफूलाई मार्गनिर्देशक बन्ने बताए। चुनावी अभियानका क्रममा नागरिकले उठाएका विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारसम्बन्धी मुद्दालाई आफूले गम्भीरतापूर्वक आत्मसात् गरेको उनले बताए।
चौधरीले निर्वाचनमा विजयी उम्मेदवारलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जनताको अपेक्षाअनुसार क्षेत्रको विकास, समृद्धि र जनसेवामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले भने, “म विजयी हुनुभएका उम्मेदवारलाई हार्दिक बधाई दिन चाहन्छु। उहाँले जनताको अपेक्षाअनुसार क्षेत्रको विकास र जनताको हितमा महत्वपूर्ण काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।”
उनले आफू चुनावमा पराजित भए पनि जनताका मुद्दाबाट कहिल्यै टाढा नहुने स्पष्ट पारे। जनताले उठाएका समस्या र विकासका मागहरूलाई सम्बोधन गर्न आफू सधैँ अग्रसर रहने भन्दै उनले पदमा रहेर वा नरहेर पनि समाज र जनताको सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
“म पराजित भए पनि जनताका मुद्दाबाट हराएको छैन,” उनले भने, “चुनावी अभियानका क्रममा घरदैलोमा पुग्दा मैले जनताका धेरै समस्या सुनेँ। ती समस्या, भावना र सपना मेरा लागि मार्गनिर्देशक बनेका छन्। आगामी दिनमा पनि ती विषयलाई सम्बोधन गर्न निरन्तर प्रयासरत रहनेछु।”
चौधरीले चुनावी अभियानका क्रममा विशेष गरी उदयपुर जिल्लाको आर्थिक विकासलाई प्राथमिकतामा राखेर उद्योग, व्यापार तथा पर्यटन प्रवर्द्धन गर्ने विभिन्न योजनाहरू सार्वजनिक गरेका थिए। उनले स्थानीय स्रोत र सम्भावनाको सदुपयोग गर्दै उदयपुरलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउने लक्ष्यसहित विकास कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
उनले “साझा लक्ष्य सबैको साथ, उदयपुरको विकासमा मिलाऔँ हात–हात” भन्ने नारासहित उद्योग, व्यापार र पर्यटन प्रवर्द्धनमार्फत ‘उदयपुरको धन अभियान’ सञ्चालन गर्ने योजना सार्वजनिक गरेका थिए। उक्त अभियानमार्फत उदयपुरमा उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनामा जोड दिइने उनले बताए।
चौधरीका अनुसार उक्त अभियान आगामी वैशाख महिनादेखि औपचारिक रूपमा सुरु गर्ने तयारी गरिएको छ। अभियानमार्फत जिल्लाभित्र उपलब्ध प्राकृतिक स्रोत, कृषि उत्पादन, पर्यटन सम्भावना तथा स्थानीय सीप–कौशलको प्रयोग गर्दै व्यापक आर्थिक गतिविधि विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए।
उनले भने, “उदयपुरको विकासका लागि उद्योग, व्यापार र पर्यटनलाई सँगसँगै अघि बढाउन आवश्यक छ। त्यसका लागि निजी क्षेत्र, स्थानीय तह, उद्यमी तथा सर्वसाधारण नागरिकसँग सहकार्य गर्दै ‘उदयपुरको धन अभियान’ सञ्चालन गर्ने योजना बनाएका छौँ। यस अभियानमार्फत जिल्लामा ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छु।”
उनका अनुसार अभियानको दीर्घकालीन लक्ष्य करिब ५० हजार रोजगारी सिर्जना गर्ने रहेको छ। स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्ने, कृषि तथा पर्यटन क्षेत्रलाई आधुनिक र व्यवस्थित बनाउने तथा युवालाई उद्यमशीलतामा जोड्ने कार्यक्रम यस अभियानअन्तर्गत सञ्चालन गरिने उनले बताए।
पत्रकार सम्मेलनमा बोल्दै चौधरीले निर्वाचन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सहयोग गर्ने सबैप्रति आभार पनि व्यक्त गरे। उनले निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, पत्रकार तथा आफ्नो चुनावी अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।
“निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र सफल बनाउन सहयोग गर्ने निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, पत्रकार साथीहरू तथा मेरो चुनावी अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण साथीभाइ तथा समर्थकहरूप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु,” उनले भने।
चौधरीले लोकतान्त्रिक प्रक्रियामा जनताको सक्रिय सहभागिता अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा पनि जनताको आवाजलाई बलियो बनाउने काममा आफू सक्रिय रहने बताए। उनले उदयपुरको विकास, जनताको अधिकार र समृद्ध भविष्यका लागि आफ्नो राजनीतिक तथा सामाजिक अभियान निरन्तर जारी रहने धारणा व्यक्त गरे।
उदयपुर क्षेत्र नम्बर १ मा भएको प्रतिस्पर्धात्मक निर्वाचनमा चौधरी तेस्रो स्थान हासिल गर्दै पराजित भएका थिए। निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनताको साथ र विश्वासलाई प्रेरणाका रूपमा लिएर जनसेवा र विकासको अभियानलाई निरन्तरता दिने उनले बताएका छन्।














Comments are closed