भरतपुर। चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी प्रतिस्पर्धा रोचक बन्दै गइरहेका बेला नेकपा संयुक्तका उम्मेदवार रहेका जितबहादुर बिकले उम्मेदवारी फिर्ता लिँदै रेनु दाहाल नेतृत्वको विजय अभियानमा साथ दिने घोषणा गरेका छन्। शुक्रबार आयोजित कार्यक्रममा उनी औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका हुन्।
पार्टीका नेता तथा चितवन–३ का चुनावी कमान्डर ईश्वरी भट्टराईले उनलाई टीका लगाएर स्वागत गर्दै यो कदम कम्युनिस्ट आन्दोलनको एकता र स्थायित्वतर्फको महत्वपूर्ण पहल भएको बताए। पार्टी प्रवेशपछि बिकले विचार र एजेन्डाको एकीकरणलाई प्राथमिकता दिँदै विकासमुखी राजनीतिक यात्रालाई बलियो बनाउन आफूले उम्मेदवारी फिर्ता लिएको स्पष्ट पारे।
उनले चितवन–३ मा वामपन्थी शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै रेनु दाहाल को विजय अभियानमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाए। साथै, नेकपा संयुक्तसँग आबद्ध अन्य नेता–कार्यकर्तालाई पनि नेकपामा समाहित गराउने बताएका छन्।
उक्त अवसरमा बोल्दै रेनु दाहाल ले बिकको निर्णयलाई सकारात्मक र दूरदर्शी कदमका रूपमा व्याख्या गरिन्। उनले भनिन्, “विकास, सुशासन र जनहितका एजेन्डामा केन्द्रित साझा अभियानलाई सशक्त बनाउन यो साथ महत्वपूर्ण छ।” दाहालले बिकलाई धन्यवाद दिँदै पार्टीमा हार्दिक स्वागत गरिन्।
कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर ३ का इन्चार्ज ईश्वरी भट्टराई, चितवन जिल्ला इन्चार्ज घनश्याम दाहाल, जिल्ला संयोजक रामचन्द्र अधिकारीलगायत नेताहरूको उपस्थिति रहेको थियो।
चितवन–३ मा यस कदमलाई वाम एकताको सुदृढीकरण र रेनु दाहाल को पक्षमा बढ्दो जनसमर्थनको संकेतका रूपमा हेरिएको छ। चुनावी माहोल तातिँदै जाँदा यो निर्णयले विजय अभियानलाई थप उर्जा दिएको राजनीतिक वृत्तमा चर्चा छ।












Comments are closed