रौतहट । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रौतहट क्षेत्र नं. ४ का उम्मेदवार रामकुमार भट्टराईले चन्द्रपुर नगरपालिका–२ मा सम्पन्न भव्य घरदैलो कार्यक्रमले जनताको अपार साथ र विश्वास प्राप्त भएको बताएका छन्।
बिहानै बनटोलबाट सुरु भएको घरदैलो कार्यक्रम दिनभर वडा नम्बर २ का विभिन्न गाउँ–बस्ती हुँदै पुनः बनटोलमै पुगेर समापन भएको थियो। हजारौं नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई जनलहरमा परिणत गरेको थियो। विभिन्न स्थानमा स्थानीय बासिन्दाले उम्मेदवार भट्टराईलाई भव्य स्वागत गरेका थिए।
घरदैलोपछि उम्मेदवार भट्टराईले देखिएको जनसमर्थनले आफू थप जिम्मेवार र उत्साहित भएको बताए। उनले संविधान निर्माणमा संलग्न अनुभवलाई संविधानको प्रभावकारी कार्यान्वयनमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संघीयताको सुदृढ कार्यान्वयनका लागि संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए।
भट्टराईले भ्रष्टाचार नियन्त्रण, बेरोजगारी अन्त्य तथा युवाहरूका जायज माग सम्बोधन गर्न आफू दृढ रहेको बताए। घरदैलो कार्यक्रमलाई जनताको दुःख–सुख प्रत्यक्ष बुझ्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले जनताका समस्या समाधानका लागि व्यवहारिक र सम्भव पहल मात्र गर्ने तथा आवश्यक समन्वय सबै निकायसँग गर्ने स्पष्ट पारे।
कार्यक्रममा बोल्दै पार्टीका नेता तथा मधेश प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री युवराज भट्टराईले व्यवस्था परिवर्तन भए पनि जनताको जीवनस्तरमा अपेक्षित सुधार हुन नसकेको उल्लेख गर्दै अब परिवर्तनलाई व्यवहारमा उतार्न नेकपालाई जिताउन आग्रह गरे।
घरदैलो कार्यक्रममा पार्टीका नेता देवेन्द्र पटेल, एकराज थापा, महेन्द्र चौलागाई, देवकी नेपाल, टिका आचार्य, राजु धामी, दुत्तबहादुर थिङ (बुद्ध), झलक श्रेष्ठ, अमित श्रेष्ठ, समीरबाबु कार्की, रञ्जु थापा लगायतका नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।














Comments are closed