हस्त शाही
नेपाली कम्युनिष्ट पार्टी एकीकृत भइसकेपछि पनि पार्टीभित्र संगठनात्मक अनुशासन, वैचारिक स्पष्टता र एकीकृत निर्णय प्रक्रिया स्थापित हुन नसक्नु आकस्मिक होइन। यसको कारण खोज्न धेरै टाढा जानु पर्दैन। पछिल्लो समय पार्टीभित्र निर्लज्ज रूपमा प्रयोग हुँदै आएको ‘घटक’ भन्ने भाष्य नै यस संकटको केन्द्रमा छ।
आज ‘घटक’ शब्द अस्थायी व्यवस्थापनको साधन होइन, गुटबन्दीलाई वैधानिकता दिने राजनीतिक स्थायी आवरण बनिसकेको छ। ‘घटक’को नाममा शक्ति सन्तुलन, पद बाँडफाँड र निर्णय प्रक्रियामा खुला बार्गेनिङ भइरहेको छ। विचार र सिद्धान्तभन्दा अगाडि पद, जिम्मेवारी र पहुँचको हिसाब-किताब गर्नु कम्युनिष्ट पार्टीको चरित्र होइन। यस्तो अभ्यासले जनवादी केन्द्रीयतालाई औपचारिक नारा मात्र बनाउँदै पार्टीलाई घटक–घटकको सहमतिमा चल्ने कमजोर संरचनामा रूपान्तरण गरिरहेको छ।
कम्युनिष्ट पार्टी कुनै घटकहरूको सहअस्तित्व होइन, न त सत्ता साझेदारीका लागि बनेको अस्थायी मोर्चा नै हो। यो साझा राजनीतिक लाइन, साझा कार्यक्रम र कडाइका साथ पालना गरिने संगठनात्मक अनुशासनमा आधारित क्रान्तिकारी पार्टी हो। तर ‘घटक’ भाष्यले पार्टी पंक्तिलाई पार्टीभन्दा माथि आफ्नै घटकीय पहिचानप्रति उत्तरदायी बनाइरहेको छ। यसको परिणामस्वरूप पार्टीभित्र वैचारिक बहस होइन, घटक नारा दिएर गुटीय प्रतिस्पर्धा र शक्ति निर्माण हावी हुँदै गएको छ।
पार्टी एकतापछि पनि लामो समयसम्म संगठनात्मक संक्रमणकालीन अवस्थालाई स्थायी संरचनाजस्तै स्वीकार गर्नु नेतृत्वको वैचारिक कमजोरी मात्र होइन, गम्भीर संगठनात्मक उदासीनता हो। संगठनात्मक समस्यामा ‘घटक सन्तुलन’को नाममा लामो समय मौन बस्नु अन्ततः पार्टीलाई गतिहीन बनाउने उद्देश्यजस्तै देखिन थालेको छ। आज ‘घटक’ सह्य देखिए पनि भोलि यही सोचले पार्टीलाई औपचारिक रूपमा एकीकृत तर व्यवहारमा विभाजित मनस्थितिमा रूपान्तरण गर्नेछ।
अब अस्पष्टता होइन, स्पष्ट र साहसी निर्णय आवश्यक छ। नेपाली कम्युनिष्ट पार्टी धेरै प्रगतिशील समूहहरूको समायोजन केन्द्र हो कि साझा विचार, साझा कार्यक्रम र साझा अनुशासनमा आधारित एकीकृत कम्युनिष्ट पार्टी-यो प्रश्नको जवाफ नेतृत्वले दिनैपर्छ। यदि पार्टीलाई वैचारिक रूपमा सशक्त, संगठनात्मक रूपमा अनुशासित र जनताप्रति उत्तरदायी बनाउने हो भने ‘घटक’ आधारित सोच र अभ्यासलाई स्पष्ट सांगठनिक निर्णयसहित अन्त्य गर्नैपर्छ।
एकीकृत नेपाली कम्युनिष्ट पार्टी, नेपाली विशेषतामा आधारित समाजवादी कार्यक्रम, जनवादी केन्द्रीयताको सिद्धान्तमा आधारित नेतृत्व र मार्क्सवाद-लेनिनवाद मार्गदर्शक सिद्धान्त-यिनै पार्टीको अस्तित्व र विश्वसनीयताको आधार हुन्। घटक होइन, पार्टी सर्वोच्च हुनुपर्छ।
यसकारण पार्टी एकता सुदृढ गर्न घटकको सोच त्यागी सिद्धान्त, कार्यक्रम र संगठनात्मक व्यवस्थापनलाई केन्द्रमा राख्नुपर्छ। संगठनात्मक संक्रमणलाई टुंग्याउँदै राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता र संविधानको सर्वोच्चताको हितमा जनपरिचालनलाई तीव्र बनाउनु आजको अनिवार्य आवश्यकता हो।














Comments are closed