Shopping cart

  • Home
  • समाज
  • गुण्डुको कारण देशैभरि ‘सिमरा’ दोहोरिने खतरा
अन्तर्राष्ट्रिय

गुण्डुको कारण देशैभरि ‘सिमरा’ दोहोरिने खतरा

Email :11536

लेखनाथ सिकारू

 

नेपालमा पछिल्लो समय देखिएको राजनीतिक तनाव, खिचातानी, आरोप(प्रत्यारोप र सडकमै शक्ति प्रदर्शनको प्रतिस्पर्धाले लोकतान्त्रिक प्रणाली र राज्य संयन्त्रकै स्थायित्वमाथि गम्भीर प्रश्न खडा गरेको छ। नेतृत्व तहले विवेक, संयमता र संवादको बाटो समात्न सकेन भने सिमरा घटनाजस्तै अवस्था देशैभर दोहोरिने सम्भावना अत्यन्त उच्च छ।

 

यस अस्थिरताको मूल कारण राजनीतिक असंयमता, अकल्पनीय भाषिक आक्रमकता, तथा सत्तापक्ष र प्रतिपक्ष दुवैबाट भैरहेको मनोवैज्ञानिक युद्ध नै हो। आन्दोलनले उठाएका जनमुद्दा सुन्ने, बुझ्ने र समाधान गर्ने वातावरण कमजोर हुँदै गएको छ, जबकि समाजमा र राज्य संयन्त्रभित्र अविश्वासको गहिरो दरार क्रमशः फैलिंदैछ।

 

जेन-जी आन्दोलन र नेतृत्वको जिम्मेवारी

जेन-जी आन्दोलनले उठाएका प्रश्न र जनभावनालाई बेवास्ता गर्न सकिँदैन। आन्दोलनकारीले संवाद, प्रतिश्रुति र उत्तरदायित्व चाहिरहेको स्पष्ट छ। तर नेतृत्व तहका केही अभिव्यक्तिहरू आन्दोलनलाई न्यायपूर्ण मागका सट्टा उत्तेजना, भीडभाड र भिडन्ततर्फ धकेलिरहेका छन्। जनआक्रोशलाई राजनीतिक लाभका लागि प्रयोग गर्न खोज्नु गम्भीर कम्जोरी हो। अक्षम्य भुल हो ।

 

नेतृत्वले जथाभावी प्रतिक्रिया र कटु भाषणभन्दा संवाद, तथ्य, संयमता र राष्ट्रिय उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्छ। संयमित नेतृत्व मात्र तनाव घटाउने पुल बन्छ।

 

गुण्डु घटनाले देखाएको असंयमता

भडकाऊ अभिव्यक्ति, भिडन्तन्त्रमुखी व्यवहार र राग-द्वेषपूर्ण भाषणहरूले आन्दोलनको नैतिकता कमजोर बनाइरहेका छन्। गुण्डुमा विकसित घटनाक्रम त्यही असंयमको प्रतिफल हो। यस्ता प्रवृत्ति रोकिएनन् भने सिमरा जस्ता तनावपूर्ण अवस्था स्थानीयबाट राष्ट्रिय संकटमा रूपान्तरित हुन समय लाग्दैन।

 

राजनीतिमा भावनाभन्दा विवेक, भाषणभन्दा समाधान र भिडन्तभन्दा संवाद महत्वपूर्ण हुन्छ। तर अहिले सामाजिक मनोविज्ञान नै अस्थिर बनाउने उग्रता बढ्दै छ।

 

ओली प्रवृत्ति र लोकप्रियतावादको राजनीति

अन्तर्राष्ट्रिय स्तरमा फैलिएको ‘स्ट्रङम्यान पोलिटिक्स’ र राष्ट्रवादी लोकप्रियतावाद नेपालमा प्रवेश गराउने प्रमुख पात्र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बने। यो प्रवृत्तिको विशेषता नेता-केन्द्रित छवि, आक्रोशयुक्त भाषण, विभाजन, संस्थाभन्दा नेता, राष्ट्रवादभन्दा राष्ट्रवादी प्रदर्शन, नीति भन्दा प्रचारको वर्चस्व हो।

 

यही शैलीपछि-पछि एमालेभित्र पनि संस्थागत लोकतन्त्रभन्दा व्यक्तिगत महिमाको संस्कार बलियो बन्दै गयो। दलभित्र विचार, वैचारिक बहस र आन्तरिक लोकतन्त्र कमजोर हुँदै व्यक्तिकेन्द्रित परम्परा हाबी भयो ‘ओलीकरण’को यही परिणाम अहिले देखिँदै छ।

 

गुण्डुबाट देखिएको नेतृत्वको कमजोरी

देशैभरि आक्रोश उब्जिएको बेला नेतृत्वले समाधानतर्फ उभिनु पर्थ्यो। तर आन्दोलनलाई “ध्वंस मात्र” भन्दै सामान्यीकरण गर्ने, आन्दोलनलाई प्रश्नगत गर्ने, सरकारलाई ‘हा-हु को सरकार’ भन्दै व्यंग्य गर्ने शैलीले जनतालाई निराशा वा चिढाहट मात्र बढायो। यस्तो व्यवहार समाधान होइन-संवेदनहीनता हो।

 

ओली प्रवृत्तिले लोकप्रियतावादका यस्ता गुण अँगालेको देखिन्छ-भावनात्मक राष्ट्रवाद, नेताको उद्धारकर्ताका रूपमा प्रतिमा,सत्ता-विपक्षको निरन्तर संघर्ष, नीतिभन्दा भन्दा भजन मडली तयार गर्नु र हुनु, यी नै गुण अहिले राष्ट्रलाई थप द्वन्द्वतर्फ धकेलिरहेका छन्।

 

२०७७ पुस ५-पतनको शुरुवात

संसद् विघटन, वाम एकताको विघटन, राजनीतिक अस्थिरता(यी सबै २०७७ पुस ५ बाट सुरू भएको घटनाक्रम हुन्। यही दिनदेखि एमाले विभाजनतर्फ उन्मुख भयो । वाम राजनीति ऐतिहासिक अवसर चुकायो । राजनीतिक ध्रुवीकरण स्थायी बन्दै गयो । ओली प्रवृत्तिको ‘अहंकारयुक्त निर्णय’ वाम आन्दोलनकै कमजोर-बिन्दु बन्न पुग्यो।

 

वाम नेतृत्वभित्र चेतना जाग्नुपर्ने समय

आज एमाले र वाम राजनीति दुबै मोडमा उभिएका छन्। पार्टी र आन्दोलनलाई व्यक्ति-निर्भर बनाउने परम्परा अब अन्त्य गर्नुपर्छ। एमालेभित्रै नीतिगत बहस, वैचारिक पुनर्जीवन, संस्थागत लोकतन्त्र, युवा पुस्ताको नेतृत्व उदय यिनै विषयमा ध्यान केन्द्रित गर्नु आवश्यक छ। ओलीपछिको यात्रा व्यक्ति-आश्रित होइन, संगठन-आश्रित हुनुपर्छ।

 

श्रीलंका बन्न सक्ने चिन्ता

नेपालमा आज राजनीतिक अस्थिरता, निर्णयप्रतिको असन्तुष्टि, सामाजिक विभाजन,आर्थिक दवाब, अविश्वासको वातावरण  सबै तीव्र हुँदै छन्। यदि नेतृत्वले समस्या सम्बोधन गर्न ढिला गर्‍यो भने त्यसले अन्य रुप लिन सक्छ । श्रीलंका, पाकिस्तान, माल्दिभ्स, बंगलादेशका उदाहरणहरूले त्यही चेतावनी दिन्छन्।

 

अब के आवश्यक ?

राजनीतिक संयमता- भाषण, अभिव्यक्ति र आन्दोलन मर्यादित र उत्तरदायी हुनुपर्छ।

संवाद र सहमति– आन्दोलनकारी र राज्यबीच निष्पक्ष, संस्थागत र प्रभावकारी संवाद आवश्यक छ।

विपक्षीको जिम्मेवारीपूर्ण भूमिका- राजनीतिक लाभका लागि सामाजिक तनाव फैलाउनु राष्ट्रघात हो।

मिडिया र सामाजिक सञ्जालमा संयमता- तथ्य, तर्क र विवेक अभिव्यक्तिको आधार बन्नुपर्छ।

 

निष्कर्ष

नेपालमा अहिलेको अस्थिरता सडकको क्रोध मात्र होइन-नेतृत्व तहको असंयमता, भडकाऊ भाषण र गलत राजनीतिक अभ्यासको परिणाम हो। आन्दोलनहरू लोकतन्त्रका जीवित ऊर्जा हुन्, तर संवैधानिक मर्यादाभित्र रहेर मात्र राष्ट्रलाई सबल बनाउँछन्।

यदि सत्तापक्ष-विपक्ष, आन्दोलन-राज्य र नेतृत्व-जनता सबैले केही दिन विवेक, संयमता र संवादमा ध्यान दिए-देश सिमरा जस्तै दुर्घटना दोहोरिनबाट बच्न सक्छ। नत्र राजनीति भडकिएको आगो बन्नेछ र त्यो आगोले पदमा पुगेकादेखि सडकमा उभिएकासम्म सबैलाई पोल्नेछ।

Comments are closed

Related Post