Shopping cart

  • Home
  • राजनिती
  • गाउँको पुनर्जागरणदेखि संसदसम्मकाे अभियानमा अर्थराजनीतिज्ञ डा. हरि राेका
देश

गाउँको पुनर्जागरणदेखि संसदसम्मकाे अभियानमा अर्थराजनीतिज्ञ डा. हरि राेका

Email :60

खोटाङ । गाउँमै पसिना बगाएर पुनर्जागरणको अभियान थालेका अर्थराजनीतिज्ञ डा. हरि रोका अहिले प्रतिनिधिसभा सदस्यका रूपमा राष्ट्रिय राजनीतिको केन्द्रमा पुग्ने अभियानमा छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले खोटाङबाट उनलाई उम्मेदवार बनाएपछि बौद्धिक क्षमता, राजनीतिक अनुभव र गाउँप्रतिको समर्पणको संयोजनले उनको उम्मेदवारी विशेष अर्थपूर्ण बनेको छ।

झन्डै चार दशक काठमाडौंमा अध्ययन, अनुसन्धान र राजनीतिक–वैचारिक गतिविधिमा बिताएका डा. रोका अन्ततः “गाउँमै बसेर गाउँ बदल्ने” निष्कर्षमा पुगे। २०७९ सालमा श्रीमती कृष्णा रोकासँगै खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित खुतुम्बु फर्किएका उनले वर्षौँदेखि बाँझिएका खेतबारीमा खेती सुरु गरे, जीर्ण घर मर्मत गरे र गाउँलाई पुनः जीवन्त बनाउने अभियान थाले। उनले व्यवहारमै देखाएको यही समर्पणले उनलाई जनतासँग जोडिएको उम्मेदवारका रूपमा स्थापित गरेको छ।

गाउँ फर्किएपछि पनि उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थराजनीति, राज्यको चरित्र, नीति निर्माण र सामाजिक रूपान्तरणका विषयमा निरन्तर लेखन जारी राखे। २०८१ भदौ २८ गते ‘जेनजी पुस्ताको विद्रोह’ शीर्षक लेखमार्फत उनले नयाँ पुस्ताको सम्भावित विद्रोहबारे दिएको चेतावनी एक वर्षमै यथार्थमा परिणत हुनु उनको दूरदृष्टिको उदाहरण मानिएको छ।

वैकल्पिक अर्थतन्त्र र आत्मनिर्भर विकासको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने डा. रोका २०१५ असोज १५ गते जन्मिएका हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट एमए/एमकम र भारतको जेएनयू, नयाँदिल्लीबाट अर्थशास्त्रमा पीएचडी गरेका छन्। आफूलाई “कृषक–अर्थराजनीतिज्ञ” भन्न रुचाउने रोका बौद्धिकता र व्यवहारिक जीवनको संयोजनका प्रतिनिधि पात्र हुन्।

राजनीतिक रूपमा पनि उनको यात्रा लामो र संघर्षपूर्ण छ। २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्य बनेर औपचारिक राजनीति सुरु गरेका उनले विद्यार्थी आन्दोलन र वामपन्थी संघर्षमा सक्रिय भूमिका खेले। यही क्रममा उनले साढे सात वर्ष जेल र आठ महिना हिरासत भोगे, जसले उनको वैचारिक दृढता अझ बलियो बनायो।

२०४७ सालमा एमाले गठनपछि उनी राष्ट्रिय पार्षद् बने र २०४८ देखि २०५४ सम्म एमाले खोटाङको सचिवको जिम्मेवारी सम्हाले। २०५६ सालको निर्वाचनमा उम्मेदवार बनेका रोका अहिले फेरि तारा चुनाव चिह्नबाटै उम्मेदवार बनेर जनतामाझ फर्किएका छन्। यसले उनको निरन्तर राजनीतिक प्रतिबद्धता र वैचारिक निरन्तरताको संकेत गर्छ।

डा. रोका अध्ययन, अनुसन्धान र लेखनका क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्। उनले हालसम्म पाँच हजारभन्दा बढी लेख लेखेका छन् भने १२० भन्दा बढी अन्तर्राष्ट्रिय जर्नलमा लेख प्रकाशित भएका छन्। सामूहिक र व्यक्तिगत गरी २० वटा अनुसन्धान कार्य तथा १० वटा पुस्तकमा सहलेखन गरेका छन्। साथै, उनले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा अर्थराजनीति र आर्थिक वृद्धिबारे प्राध्यापन गरेर नयाँ पुस्तालाई मार्गदर्शन गरेका छन्।

२०६२/०६३ को जनआन्दोलनपछि बनेको अन्तरिम संसद्मा उनी मनोनीत सांसद बनेका थिए भने २०६४ को संविधानसभामा पनि स्वतन्त्र विज्ञका रूपमा सदस्य मनोनीत भएका थिए। यसले उनको बौद्धिक योगदानप्रति राज्यले देखाएको विश्वासलाई स्पष्ट गर्छ।

गाउँमा पसिना बगाएर विकासको व्यवहारिक उदाहरण प्रस्तुत गरेका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थराजनीतिमा गहिरो अध्ययन गरेका र लामो राजनीतिक अनुभव बोकेका डा. हरि रोका अहिले खोटाङको आवाज संसदमा पुर्‍याउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन्। गाउँको माटोसँग जोडिएको उनको जीवनयात्राले उनलाई जनताको भरोसायोग्य उम्मेदवारका रूपमा उभ्याएको छ।

Comments are closed

Related Post