काठमाडौं । सांसद भदनकुमार भण्डारीले खानी तथा खानीजन्य पदार्थ उत्खनन सम्बन्धी ऐन २०४२ प्रतिस्थापन विधेयकमाथि मन्तव्य राख्दै खानीजन्य पदार्थको अनियन्त्रित दोहन रोक्न सरकारको ध्यानाकर्षण गराएका छन्।
भण्डारीले खानीजन्य पदार्थको अत्यधिक दोहन भइरहेको उदाहरणका रूपमा आफ्नो निर्वाचन क्षेत्र काभ्रेपलाञ्चोक तथा आसपासका जिल्लामा सञ्चालित खानीहरूलाई हेर्न अनुराेध गरे । उनले व्यवसायीहरूले आर्थिक लाभलाई प्राथमिकतामा राखेर खानी सञ्चालन गर्दा वातावरणीय तथा मानवीय जोखिम बढिरहेको बताए।
भण्डारीले २०८१ असोजमा गएको बाढीपहिरोका कारण ७८ जना नागरिकले ज्यान गुमाउनुपरेको घटना स्मरण गर्दै प्राकृतिक स्रोतको अनियन्त्रित दोहनले निम्त्याउने जोखिमप्रति गम्भीर हुन सरकारसँग आग्रह गरे।
उनका अनुसार उनले संसद् तथा विभिन्न समितिका बैठकमा खानी उत्खननको नियमन, नियन्त्रण, अनुगमन र कारबाहीको विषय पटक–पटक उठाउँदै आएका थिए। संसदबाट संशोधन विधेयक पारित भएपछि आफूले उठाउँदै आएका विषयलाई सरकारले प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनले बताए।
सांसद भण्डारीले आफू सांसद रहेको काभ्रेपलाञ्चोक जिल्लामा सातवटा खानी बन्द गरिएको जानकारी दिए। केही खानी सञ्चालकलाई कारबाही तथा सचेत गराइएको र अन्य खानीहरूको समेत नियन्त्रण, नियमन तथा अनुगमन भइरहेको उनले बताए।
सरकारले खानी तथा खानीजन्य पदार्थको उत्खननसम्बन्धी कानुनी व्यवस्था संशोधन गरी नियमनलाई थप प्रभावकारी बनाउने प्रयास गरेको छ। विधेयक पारित भएसँगै खानी तथा खानीजन्य पदार्थको उत्खनन, नियमन, नियन्त्रण तथा आवश्यक कारबाहीका लागि कानुनी बाटो खुल्ला हुने छ।














Comments are closed