Shopping cart

  • Home
  • समाज
  • कोशीमा बर्डफ्लुको कहर: ५५ हजारभन्दा बढी कुखुरा नष्ट
अर्थ

कोशीमा बर्डफ्लुको कहर: ५५ हजारभन्दा बढी कुखुरा नष्ट

Email :90

विराटनगर । पहिल्यै आर्थिक संकटसँग जुधिरहेको कोशी प्रदेशको पोल्ट्रि व्यवसाय यतिबेला बर्डफ्लु संक्रमणका कारण गम्भीर सङ्कटमा परेको छ। झापा, मोरङ र सुनसरी जिल्लाका १२ वटा पोल्ट्रि फार्ममा संक्रमण पुष्टि भएसँगै हालसम्म ५५ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ।

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार संक्रमित फार्महरूमा तीव्र गतिमा रोग फैलिन सक्ने जोखिम देखिएपछि नियन्त्रणका लागि ‘रेपिड रेस्पोन्स टिम’ परिचालन गरी कडा निगरानी थालिएको छ। पशुपन्छी विकास महाशाखाकी वरिष्ठ पशु चिकित्सक डा. दिपा दिवालीका अनुसार हालसम्म ५३ हजार ९ सय ९० लेयर्स, ५ सय ५० ब्रोइलर र ६ सय ६ स्थानीय जातका कुखुरा नष्ट गरिएको छ। यससँगै १ लाख ९ हजार ४ सय २१ वटा अण्डा र १७ हजार ३ सय ५० केजी दाना समेत नष्ट गरिएको छ। उर्लाबारीस्थित एक फार्मबाट ७ वटा हाँस पनि नष्ट गरिएको जनाइएको छ। विराटनगर र कटहरीका थप दुई फार्मको प्रतिवेदन आउन बाँकी रहेकाले क्षतिको दायरा अझै बढ्न सक्ने अनुमान गरिएको छ।

हालसम्म मोरङको उर्लाबारी र झापाको दमक क्षेत्र संक्रमणको मुख्य केन्द्र बनेका छन्। उर्लाबारी–८ स्थित एक फार्ममा मात्रै १८ हजार कुखुरा नष्ट गरिएको छ भने दमकका दुई फार्ममा क्रमशः करिब १५ हजार र १३ हजार कुखुरा नष्ट गरिएको छ। मोरङबाट सुरु भएको संक्रमण झापा र सुनसरीका विभिन्न क्षेत्रमा फैलिएको पुष्टि भएको छ।

सरकारी निकायले संक्रमण फैलनुको मुख्य कारण अवैध कुखुरा ओसारपसारलाई ठहर गरेको छ। किसानहरूले घाटा कम गर्न संक्रमित कुखुरा सस्तोमा बजार पठाउने प्रवृत्तिले रोग अन्य क्षेत्रमा फैलिने जोखिम बढाएको अधिकारीहरूको भनाइ छ। प्रशासनले भेटेरिनरी प्रमाणपत्र बिना कुखुरा ओसारपसार नगर्न कडाइ गरेको छ भने प्रभावित क्षेत्रमा निगरानी बढाइएको छ।

कृषकहरूलाई फार्ममा कडाइका साथ जैविक सुरक्षा अपनाउन आग्रह गरिएको छ। बाह्य व्यक्तिको प्रवेश नियन्त्रण गर्ने, नियमित सरसफाइ गर्ने र शंकास्पद लक्षण देखिएमा तत्काल सूचना दिन आग्रह गरिएको छ।

पोल्ट्रि क्षेत्रमा अर्बौं लगानी र हजारौँ रोजगारी जोडिएको अवस्थामा यो संक्रमणले व्यवसाय धराशायी हुने जोखिम बढाएको छ। लेयर्स कुखुरापालक संघ मोरङ–सुनसरीका अध्यक्ष होम बास्कोटाका अनुसार ऋण लिएर फार्म चलाएका किसान बिक्रीको समयमा नै बर्डफ्लुका कारण ठूलो घाटामा परेका छन् र धेरैजना सडकमा पुग्ने अवस्था आएको छ।

नेपालमा पहिलो पटक २०६५ माघमा झापाको काँकडभिट्टाबाट बर्डफ्लु देखिएको थियो। त्यसयता छिटफुट रूपमा संक्रमण देखिँदै आए पनि यस वर्षको संक्रमण पछिल्ला केही वर्षकै सबैभन्दा गम्भीर मानिएको छ।

बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका कुखुरा तथा सामग्रीको क्षतिपूर्ति सरकारले उपलब्ध गराउने व्यवस्था रहेको छ। डा. दिवालीका अनुसार क्षतिको मूल्याङ्कन जिल्ला दररेट निर्धारण समितिले गर्नेछ र सोही आधारमा संघीय सरकारले राहत उपलब्ध गराउनेछ। प्रक्रिया पूरा हुन भने केही समय लाग्ने जनाइएको छ। हाल सम्बन्धित निकायले नष्ट गरिएका सम्पूर्ण विवरण संकलन गरी संघीय सरकारलाई सिफारिस गर्ने तयारी गरिरहेको छ।

Comments are closed

Related Post