काठमाडौँ । नेपाली कांग्रेसले २०८२ भदौ २३ र २४ गतेका घटनाका दोषीमाथि गरिने कारबाही उत्तेजना र आवेगमा आएर नभई कानुनी प्रक्रिया बमोजिम हुनुपर्नेमा जोड दिएको छ ।
पार्टीले सरकारको पछिल्लो निर्णय र कारवाहीको शैलीलाई ‘सेलेक्टिभ’ र पूर्वाग्रही भन्दै यसले विधिको शासन कमजोर बनाउन सक्ने चेतावनी दिएको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा कांग्रेसले भदौ २३ र २४ दुवै दिनका घटनाको निष्पक्ष, कानुनसम्मत र पूर्वाग्रहरहित छानविनको माग प्रारम्भदेखि नै गर्दै आएको जनाएको छ । कांग्रेसले भदौ २५ गते नै उच्चस्तरीय आयोग गठनको माग गरेको र भदौ २७ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि दोषी देखिएकालाई कारवाहीको दायरामा ल्याउन आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले हालै सम्पन्न बैठकबाट पनि गौरीबहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग गरेको थियो । सञ्चार माध्यमबाट बाहिरिएको प्रतिवेदनबारे आएका प्रतिक्रिया हेर्दा आयोगले भदौ २३ का घटनालाई विस्तृत रुपमा हेरेको तर २४ का घटनालाई नजरअन्दाज गरेको देखिएको भन्दै कांग्रेसले यसलाई विधिको शासनविपरित र त्रुटिपूर्ण भनेको छ । प्रतिवेदन एकपक्षीय र अपूर्ण रहेको तथा सर्वोच्च अदालतले कार्कीको निष्पक्षतामा उठाएको प्रश्नलाई समेत यसले बल पुर्याउने कांग्रेसको ठहर छ ।
















Comments are closed