Shopping cart

  • Home
  • राजनिती
  • कम्युनिस्ट आन्दोलनले खाएको धक्का हामीभित्र जम्मा भएको फोहोर सफा गर्ने अवसर पनि हो: प्रचण्ड
देश

कम्युनिस्ट आन्दोलनले खाएको धक्का हामीभित्र जम्मा भएको फोहोर सफा गर्ने अवसर पनि हो: प्रचण्ड

Email :11

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ क्षणिक रूपमा कम्युनिस्ट आन्दोलनले धक्का खाएको भन्दै यो धक्का आफैँभित्र जम्मा भएको फोहोर सफा गर्ने अवसर भएको बताएका छन् ।

बुधवार पार्टी स्थापनाका अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।  ‘अहिले क्षणिक रूपमा कम्युनिस्ट आन्दोलनले धक्का खाएको देखिएकै छ’, प्रचण्डले भने, ‘त्यसबाट हामीले शिक्षा लिनैपर्दछ । कहाँ कमजोरी भयो भन्ने कुराको हामीले बस्तुवादी समीक्षा गर्नै पर्दछ ।’

प्रचण्डले पछिल्लो चुनावमा कम्युनिस्टहरूले धक्का खाएको स्वीकार गर्दै बेलाबेलामा यस्ता धक्का खाएर जनताले सवक सिकाएको बताए ।

‘ती धक्काहरू हामीभित्र जम्मा भएका फोहोर मैला सफा गर्ने अवसर पनि हो । सायद हामी सत्ताको कुर्सीमा बस्दा हामीभित्र फोहोर जम्मा भएको थियो’, प्रचण्डले भने, ‘अहिले जनताले हामीलाई घृणा गरेको होइन, नुहाइधुवाई गरेर सफा भएर आऊ भनेर सबक सिकाएको हो । त्यसकारण हामीभित्र जम्मा भएको फोहोर सफा गर्ने अवसरका रूपमा लिनुपर्छ ।’

उनले विगतमा भएका गल्ती र कमजोरी स्विकार्न कुनै कठिनाइ नहुने भन्दै लेनिनले भनेजस्तै कम्युनिस्ट र बुर्जुवाबिचको अन्तर नै गल्ती स्वीकार र नस्विकार्नेबाट पहिचान हुने बताए ।
पूर्व प्रधानमन्त्री प्रचण्डले अब फेरि एक पटक सबै राष्ट्रवादी शक्ति एक ठाउँमा आएर राष्ट्रका सामु आएका चुनौतीको मुकाबिला गर्न नयाँ शिराबाट दलहरूसँग संवाद भइरहेको समेत बताए ।
प्रचण्डले कसैले पनि निराशा व्यक्त गर्नु नहुने र निराशा व्यक्त गर्ने मान्छे आफ्नो अगाडी नआए हुन्थ्यो भन्ने लागेको बताएका हुन् ।

साथै उनले छिटै कम्युनिस्ट पार्टीप्रति जनताको उभार छिटै आउने दाबी समे गरे ।   ‘सोचेभन्दा छिटै कम्युनिस्ट पार्टीमा उभार आउँदैछ’, प्रचण्डले भने, ‘लक्षण त देखिएकै छ सरकारका काम कारबाहीको ।’

उनले जसरी एउटा परिवारमा सबै पुस्ताका मानिस अपरिहार्य हुन्छ त्यस्तै समाज र पार्टीमा पनि हुने बताए । त्यसका लागि उनले पहिला आफ्नै पार्टी पुनर्गठित गर्ने भन्दै पार्टीमा बसेर रडाको गर्नेहरू नेता कार्यकर्तालाई बाटो लाग्न सुझाव दिए ।

‘ मैले त साथीहरूलाई भनेको छु । सच्चिन चाहने जति हामीसँग बस्ने हो । नसच्चिने गए हुन्छ भनेको छु’, प्रचण्डले भने, ‘हामीले एकता गरेका छौ धेरै बनाएका छौ हामी कसैलाई फुत्किन त दिँदैनौ । तर यहाँ बसेर रडाको गर्ने चाही नबसे हुन्छ । आफ्नो बाटो लागे पनि हुन्छ । ’

Comments are closed

Related Post