Shopping cart

  • Home
  • स्वास्थ्य
  • कञ्चनपुर–२ मा माधवप्रसाद पन्तको लहर ‘भ्रष्टाचार अन्त्य र सुशासन मेरो पहिलो प्राथमिकता’
अर्थ

कञ्चनपुर–२ मा माधवप्रसाद पन्तको लहर ‘भ्रष्टाचार अन्त्य र सुशासन मेरो पहिलो प्राथमिकता’

Email :378

कञ्चनपुर। प्रतिनिधि सभा सदस्यका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का युवा उम्मेदवार माधवप्रसाद पन्त प्रति जनसमर्थन बढ्दै गएको छ। घरदैलो अभियानमा सक्रिय पन्तलाई मतदाताले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।

पूर्व विद्यार्थी नेता पन्त विगत २४ वर्षदेखि राजनीतिमा सक्रिय छन्। कक्षा १० मा अध्ययनरत रहँदा कृष्ण माध्यमिक विद्यालयबाट अनेरास्ववियू प्रारम्भिक कमिटी अध्यक्ष बनेर राजनीतिक यात्रा सुरु गरेका उनले सिद्धनाथ बहुमुखी क्याम्पसमा स्ववियू उपसभापति र पछि सभापतिका उम्मेदवारका रूपमा भूमिका निर्वाह गरेका थिए। त्यसपछि अनेरास्ववियू जिल्ला अध्यक्ष (कञ्चनपुर), त्रिभुवन विश्वविद्यालयमा संगठन नेतृत्व र केन्द्रीय कमिटी उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालेका थिए।

शैक्षिक र वैचारिक पृष्ठभूमि

त्रिभुवन विश्वविद्यालय बाट कूटनीतिक इतिहासमा विद्यावारिधि (पीएचडी) अध्ययनरत पन्तले अंग्रेजी विषयमा एमफिल, राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुनमा एलएलबी उपाधि हासिल गरेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा सम्बन्ध र विदेश नीतिका गेष्ट लेक्चररका रूपमा पनि उनले अनुभव बटुलेका छन्।

संयुक्त राज्य अमेरिका, चीन, भारत, रुस, ब्राजिल, दक्षिण अफ्रिकालगायत विभिन्न देशको भ्रमण र अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागितामार्फत उनले विश्व राजनीति, भू–राजनीति र अर्थतन्त्रबारे अनुभव संकलन गरेका छन्।

हाल पन्त नेकपाका केन्द्रीय सदस्य हुन्। यसअघि नेकपा ९एकीकृत समाजवादी० कञ्चनपुर जिल्ला सह–इन्चार्जको जिम्मेवारी सम्हालेका उनी पार्टी एकतापछि नेकपामा आवद्ध भएका हुन्।

चुनावी एजेन्डा सुशासन, समृद्धि र रोजगारी

पन्तले आफ्नो उम्मेदवारीको मूल उद्देश्य भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नु रहेको बताएका छन्। “देशको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने, जनताका आधारभूत आवश्यकता पूरा गर्ने र राष्ट्रिय स्वाधीनता जोगाउने लक्ष्यका साथ मैदानमा उत्रिएको हुँ,” उनले भने।

उनका अनुसार कञ्चनपुर-२ पर्यटन, कृषि र उद्योगका हिसाबले सम्भावनायुक्त क्षेत्र हो। भूमि समस्या, नदी कटान, जंगली जनावरको आक्रमण, सुकुम्बासी र आरक्ष पीडितका मुद्दा समाधानका लागि ठोस खाका तयार गरिएको उनले दाबी गरे।

मतदाताको प्रतिक्रिया सकारात्मक

२०७९ को स्थानीय तह निर्वाचनमा शुक्लाफाँटा नगरपालिकाको उपमेयरमा प्रतिस्पर्धा गरिसकेका पन्त भन्छन्, “मतदाता उत्साहित र आशावादी देखिएका छन्। युवाको सहभागिता र स्पष्ट दृष्टिकोणको अपेक्षा गरिएको छ।”

उनले जेन–जी आन्दोलनले उठाएका सुशासन र पारदर्शिताका मुद्दालाई आत्मसात गर्दै प्रतिबद्धता पत्र तयार पारेको बताए। शिक्षा, स्वास्थ्य, रोजगारी र युवाको वैदेशिक पलायन रोक्ने विषयलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।

क्षेत्रीय संरचना र निर्वाचन तयारी

कृष्णपुर, शुक्लाफाँटा र वेदकोट (वडा नम्बर ८ बाहेक) समेटिएको कञ्चनपुर–२ मा ३० वडा, ४२ मतदान स्थल र १२३ मतदान केन्द्र रहेका छन्। १ लाख, ९ हजार ५७४मतदाता रहेको यस क्षेत्रमा ४२ मतदान स्थलमा १२३ मतदान केन्द्र रहेका छन ।
नेकपाले क्षेत्रीय समिति विस्तार गरी वडा–वडामा प्रचारप्रसार समिति गठन गरेर अभियान संचालन गर्दै आएको छ । नेता महेश दत्त जोशीका अनुसार पार्टी संगठन सुदृढ गर्दै एजेन्डासहित घरदैलो अभियान तीव्र बनाइएको छ।

संसदमा राष्ट्रिय हित, शिक्षा र सामाजिक न्यायका मुद्दामा सशक्त आवाज उठाउने

पन्तले आफू निर्वाचित भएर संसदमा राष्ट्रिय हित, शिक्षा र सामाजिक न्यायका मुद्दामा सशक्त आवाज उठाउने पन्तको प्रतिबद्धता छ। “जनजीविकाका सवालदेखि कानुन निर्माणसम्म सक्रिय भूमिका खेल्नेछु,” उनले भने।

युवा, अध्ययनशील र अन्तर्राष्ट्रिय अनुभव बोकेको नेतृत्वका रूपमा प्रस्तुत भएका पन्तलाई कञ्चनपुर–२ मा मतदाताले कत्तिको विश्वास गर्छन् भन्ने कुरा आसन्न निर्वाचनले तय गर्नेछ।

Comments are closed

Related Post