काठमाडौं । एक थिएटर नेपालले नाटक ‘एक चिहान’ मञ्चन गरिरहेको छ । नाटक यही भदौ १५ देखि मञ्चन गर्न सुरु भएको निर्देशक विवेक न्यौपानेले जानकारी दिए ।
‘एक चिहान’ हृदयचन्द्रसिंह प्रधानको उपन्यास हो । यो उपन्यास कक्षा १२ को नेपाली विषयमा समावेश गरिएको छ । विद्यार्थीले पढ्दै आएको कथालाई अभिनय, संवाद, संगीत र दृश्य संरचनामार्फत प्रत्यक्ष अनुभव गराउने उद्देश्यले उपन्यासलाई नाट्य रूपान्तरणमा तयार गरिएको निर्देशक न्यौपानेले बताए । नाटकको नाट्य रूपान्तरण आशिष श्रेष्ठले गरेका हुन् ।
निर्देशक न्यौपानेकाअनुसार नाटकमा नेपाली समाज, श्रमजीवी वर्ग, किसान जीवन, पारिवारिक सम्बन्ध, सामाजिक असमानता तथा महिला जीवनका विभिन्न पक्षलाई रंगमञ्चीय शैलीमा प्रस्तुत गरिएको छ ।
यस प्रस्तुतिले साहित्य र रंगमञ्चबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै पाठ्यक्रममा आधारित सिकाइलाई प्रत्यक्ष अनुभवसँग जोड्ने अपेक्षा गरिएको छ । त्यसैले नाटकलाई कलेज तथा शैक्षिक संस्था केन्द्रित अघि बढाउने तयारी गरिएको छ ।
कलेज तथा सर्वसाधारणका लागि नाटकको बुकिङ खुला गरिने निर्माण पक्षले जनाएको छ । कलेजको प्राथमिकताअनुसार सम्बन्धित शैक्षिक संस्थामै विशेष सो समेत गर्न सकिने बताइएको छ ।
नाटकमा मदन थापा, कोहिनुर विश्वकर्मा, रस्मिला तामाङ, निर्मल सुवेदी, युवराज तिमल्सिना, विप्लव खड्का, सागर कँडेल, प्रवल जोशी, सरिता नेपाली, सतविशा ओझा, विकाश बराइली र सलिना क्षेत्रीलगायत कलाकारको अभिनय रहनेछ ।
नाटक सिनेटोग्राफी स्टुडियोको प्रस्तुति र एक थिएटरसँगको सहकार्यमा निर्माण भएको हो । नाटकको सहायक निर्देशकमा आशिष श्रेष्ठ र रिजन कार्की रहेका छन् ।
नाटकका निर्माता विक्रम खनाल र आस्था श्रेष्ठ हुन् । उत्पादन व्यवस्थापकमा ममता राजथला तथा स्टेज म्यानेजरमा रिजन कार्की र श्याम कार्की रहेका छन् ।














Comments are closed