काठमाण्डौ । आज ३१ औँ विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्वका आदिवासीहरूले तीन दशकदेखि मनाउँदै आएको यो दिवस नेपालका आदिवासीले पनि विशेष उत्सवका रूपमा मनाउने गरेका छन् ।
यस वर्षको दिवसमा नेपाल आदिवासी जनजाति महासङ्घले ‘प्राकृतिक स्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, यूएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने नारा तय गरेको छ ।
आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ ।
सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको हो । सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्ट ९ मा भएकाले सोही दिनलाई दिवसका रूपमा छनोट गरिएको हो ।
नेपालको संविधानले आदिवासीको प्रतिनिधित्व सुनिश्चित गरेपछि राज्यका हरेक निकायमा आदिवासी जनजातिको सहभागिता बढेको छ । नेपालको मौलिक परम्परा र सांस्कृतिक पहिचानको संरक्षणमा आदिवासी जनजाति समुदायको भूमिका महत्त्वपूर्ण मानिन्छ ।














Comments are closed