Shopping cart

  • Home
  • समाज
  • आज गुरु पूर्णिमा पर्व मनाइँदै
अन्तर्राष्ट्रिय

आज गुरु पूर्णिमा पर्व मनाइँदै

Email :3

गुरुब्र्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर : ।
गुरुःसाक्षात्परंब्रम्ह तस्मै श्रीगुरवे नम : ।।

अर्थात गुरु ब्रह्मा, विष्णु र महेश्वर हुनुहुन्छ । यस्ता साक्षात् पर ब्रह्म गुरुलाई नमस्कार छ ।

आज श्रावण १३ गते अर्थात तिथिका आधारले गणना गर्दा आषाढ शुक्ल पूर्णिमा । हरेक वर्ष आजकै दिन मनाइने यो पर्व हिन्दु, बौद्ध र जैन धर्मावलम्बीहरूका लागि विशेष धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्व बोकेको पर्व हो ।

गायत्री मन्त्र, धर्मशास्त्र, वेद मन्त्र सुनाउने र आधारभूत शिक्षा तथा उच्च शिक्षा दिने र जन्मदेखि मृत्यु नहुँदासम्म संस्कार सिकाउने गुरुजनहरूलाई नमन गर्ने, पूजा गर्ने, सम्झदै कृतज्ञता प्रकट वा सम्मान गर्दै आर्शीर्वाद लिने मुख्य पर्वका रूपमा गुरुपूर्णिमा पर्व मनाइछ ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । अज्ञानतालाई चिर्ने वा अन्धकारको नाश गरि ज्ञानरुपी प्रकाशले सही मार्गनिर्देश गर्ने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।

सनातन धर्मका उपनिषद् , भगवद्गीता, गूरुगीता, बिभिन्न पुराण तथा शास्त्रमा गुरुको अपरिहार्य महत्त्व स्पष्ट रूपमा उल्लेख गरिएको छ । मुण्डक उपनिषद्मा तद्धिज्ञानार्थं स गुरुमेवाभिगच्छेत् अर्थात परम ज्ञान प्राप्त गर्न योग्य गुरुको शरणमा जानु पर्छ । भगवद्गीता ४ः३४ मा भगवान् कृष्ण भन्नुहुन्छ तद्धिद्धि प्रणिपातेन परिप्रश्नेन सेवया ।

उपदेक्ष्पन्ति ते ज्ञांन ज्ञानिनस्तदर्शिनः ।। अर्थात विनम्रता, सेवा र जिज्ञासामार्फत  गुरुबाट ज्ञान प्राप्त हुन्छ ।

अज्ञानता र अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । गुरुलाई हाम्रो धर्मशास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । हिन्दु सस्कारमा पहिलो गुरु माता पिता हुन् । माता पिता पछि शिक्षा दिने र संस्कार सिकाउन गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भवः’ भनिन्छ ।

बौद्ध परम्पराअनुसार भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि सारनाथमा आफ्ना पाँच शिष्यलाई पहिलो धर्मदेशना दिनुभएको दिन  आषाढ शुक्ल पूर्णिमा रहेको मानिन्छ । त्यस्तै जैन धर्ममा पनि आध्यात्मिक गुरुहरूप्रति सम्मान व्यक्त गर्दै संयम, आत्मशुद्धि र सदाचारको मार्ग अनुसरण गर्ने प्रेरणा लिने दिनका रूपमा यो पर्व मनाइन्छ ।

 

Comments are closed

Related Post