काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा परिवर्तनका लागि मतदान गर्न आग्रह गर्नुभएको छ ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को २० औँ साधारणसभाको सोमबार उद्घाटन गर्दै मन्त्री खरेलले मुलुकले परिवर्तन खोजेको अवस्थामा परिवर्तनका लागि मतदान गर्न अनुरोध गर्नुभयो । सञ्चारमन्त्री खरेलले भन्नुभयो, “मुलुकले परिवर्तन खोजेको छ, निर्वाचनबाट जुनसुकै पार्टी भएपनि राम्रो नेतृत्व ल्याउनुपर्छ, दलको दास र नेताको अन्दभक्त हुनुहुदैन ।”
सञ्चारमन्त्री खरेलले मुलुकको राजनीति आफ्नो परिवार र गुटका साथै सत्तामा पुग्न गठबन्धनमा केन्द्रित भएका कारण देश बन्न नसकेको बताउनुभयो । उहाँले निर्वाचनमा पदको लोभ मात्र नभई कार्यकालमा राम्रो कर्म पनि गनुपर्ने बताउनुभयो । राजनीतिक दल र नेताको दबाव र प्रभावमा परेर पदको लोभ गर्नुभन्दा स्वतन्त्र रुपमा राम्रो कर्म गनुपर्नेमा जोड दिनुभयो ।
साथै उहाँले इक्यान संस्थासँग आफू पत्रकार हुँदादेखी सहकार्य गरेको जानकारी दिदैँ ईक्यानले ग्लोबल एजुकेशनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । मन्त्री खरेलले इक्यान व्यवसायीले देशको अर्थतन्त्रमा थोरैधेरै सुधार ल्ूयाएको बताउदै आगामी दिनमा आफू जुनसुकै पद र पेसामा भएतापनि इक्यानलाई सहयोग गर्ने प्रतिवद्दता समेत जनाउनुभयो ।
उहाँले पदमा कति समय रहने भन्ने भन्दा पनि पदमा रहेर गरेको कामको महत्त्व बढी हुने बताउनुभयो । आफू छोटो समय सरकारमा रहे पनि आफ्नो कर्मलाई प्रभावकारी बनाउन ध्यान दिएको उनको भनाइ छ । कार्यक्रममा इक्यानका अध्यक्ष शेषराज भट्टराईले गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष जनशक्ति उत्पादनमा संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।














Comments are closed