Shopping cart

  • Home
  • समाज
  • विश्वासको पुनर्निर्माणबाट समाजवादसम्म : नेपाली कम्युनिस्ट पार्टीको ऐतिहासिक जिम्मेवारी र आन्तरिक रूपान्तरण
देश

विश्वासको पुनर्निर्माणबाट समाजवादसम्म : नेपाली कम्युनिस्ट पार्टीको ऐतिहासिक जिम्मेवारी र आन्तरिक रूपान्तरण

Email :331

बासु दुलाल

नेपाली कम्युनिस्ट पार्टी आज एउटा निर्णायक मोडमा उभिएको छ। जनताको भरोसा र विश्वासयोग्य राजनीतिक संगठनका रूपमा आफूलाई स्थापित गर्दै नेपालमा न्याय, समानता र स्वतन्त्रतासहितको समाजवाद निर्माण गर्नु केवल नारा वा घोषणाबाट सम्भव हुँदैन। यसका लागि पार्टीले आफ्नै भित्र रहेका गम्भीर चुनौतीहरूको निर्भीक पहिचान, आत्मालोचना र संरचनागत रूपान्तरण अपरिहार्य छ।

 

आजको नेपाललाई एमाले जस्तै अर्को कम्युनिस्ट पार्टी आवश्यक छैन। आवश्यकता छ—एमालेभन्दा फरक नैतिक धरातलमा उभिएको, विचार र व्यवहारको एकरूपता कायम गर्ने, नेता र कार्यकर्ताको जीवनशैलीमै समाजवादी मूल्य झल्किने नयाँ प्रकारको कम्युनिस्ट पार्टीको। यही बिन्दुबाट नेपाली कम्युनिस्ट पार्टीको मौलिकता र ऐतिहासिक औचित्य सुरु हुन्छ।

 

नीति–कार्यक्रम र भरोसाको संकट

युवा पुस्तामाझ पार्टीका नीति, कार्यक्रम र विचार पुर्‍याउनु आजको मुख्य कार्यभार हो। तर त्यो केवल कागजी प्रतिबद्धता पत्र बाँडेर सम्भव हुँदैन। जनताका बीचमा भरोसा र विश्वास स्थापित गर्न पार्टी स्वयं भरोसायोग्य हुनुपर्छ। नेतृत्वको बोली र व्यवहार, नीति र आचरण, घोषणापत्र र दैनिक अभ्यासबीचको दूरी जबसम्म घट्दैन, तबसम्म जनविश्वास पुनर्निर्माण सम्भव छैन।

 

पार्टीभित्रका प्रवृत्तिहरूको वस्तुनिष्ठ पहिचान

नेपाली कम्युनिस्ट पार्टी विविध घटकहरूको एकताबाट बनेको संगठन हो। केन्द्रीय तहमा एकताको भावना देखिए पनि जिल्ला र तल्लो तहसम्म आइपुग्दा नेता–कार्यकर्ताबीच घुलमिलको गम्भीर समस्या देखिन्छ। कार्यशैली, जनशैली र संगठनात्मक संस्कारमा अनेक बेमेलहरू छन्। यी बेमेललाई बेवास्ता गरेर पार्टीलाई एकताबद्ध र सशक्त बनाउने कल्पना यथार्थपरक हुँदैन।

पार्टीभित्र सकारात्मक र नकारात्मक बहु–प्रवृत्तिहरू छन्। असल, इमान्दार, क्षमतावान र जनतामा स्वीकार्य कार्यकर्ताहरूलाई जिम्मेवारी दिनुको सट्टा, पार्टीको नाममा गलत काम गर्ने, भ्रष्टाचारमा मुछिएका, जनताबाट तिरस्कृत व्यक्तिहरू नेतृत्वमा रहिरहनु पार्टीको सबैभन्दा ठूलो कमजोरी हो। अझ घातक प्रवृत्ति त के हो भने—जिम्मेवारी पूरा नगर्ने, अरूलाई स्वीकार गर्नै नसक्ने, “म नै नेता हुँ” भन्ने अहंकारी मानसिकताका मानिसहरू नेतृत्वमै टिकिरहनु।

 

योग्यता-आधारित नेतृत्व : आजको वस्तुनिष्ठ आवश्यकता

आफूभन्दा अर्कोलाई जिम्मेवारी समेत अस्वीकार गर्ने, सहयोद्धालाई सम्मान नगर्ने, अपमान र तिरस्कार गर्ने प्रवृत्ति प्रायः सबै कम्युनिस्ट पार्टीहरूमा देखिन्छ। यही प्रवृत्तिले संगठनलाई भित्रैबाट कमजोर बनाइरहेको छ। यस्तो मानसिकताले पार्टी एकताबद्ध हुँदैन, जनताको नेतृत्व गर्न सक्दैन, र समाजवादी रूपान्तरणको वाहक बन्न सक्दैन।

आजको वस्तुनिष्ठ आवश्यकता भनेको—योग्यता र योग्यताका आधारमा जिम्मेवारी सुम्पने प्रणाली हो। उमेर, जाति, भाषा, क्षेत्र वा गुटका आधारमा होइन; इमान, क्षमता, समर्पण र जनसम्पर्कका आधारमा नेतृत्व विकास गर्नुपर्छ। सबै उमेर समूहका, सबै जाति र भाषाका मानिसहरूले अवसर पाउने सुनिश्चितता बिना पार्टी जनताको प्रतिनिधि बन्न सक्दैन।

 

पतनबाट पुनर्जागरणतर्फ

कम्युनिस्ट आदर्श, सिद्धान्त र व्यवहारबाट पतित भएका व्यक्तिहरूको पहिचान गर्नु नेतृत्वको पहिलो कर्तव्य हो। त्यस्ता व्यक्तिहरूको जिम्मेवारी तत्काल खोसिनुपर्छ। निरन्तर नेतृत्वमा बसेर पार्टी सप्रिनेभन्दा बिग्रिने काम गरेका, आज पनि “म नै नेता हुँ” भन्दै हिँड्नेहरूमार्फत क्रान्ति सम्भव छैन। नयाँ पुस्तालाई अवसर नदिई, पुराना असफल अभ्यासलाई निरन्तरता दिई समाजवादी लक्ष्यमा पुग्न सकिँदैन।

 

जिल्ला तह : सबैभन्दा कमजोर कडी

केन्द्रीय नेतृत्वको नीति सही भए पनि जिल्ला र तल्लो तहको नेतृत्व कमजोर हुँदा गम्भीर समस्या उत्पन्न हुन्छ। नीति तलसम्म कार्यान्वयन नहुनु, जनतासँगको सम्बन्ध कमजोर हुनु, आन्तरिक कलह र व्यक्तिवादी टकरावले पार्टीलाई जरा स्तरमै कमजोर बनाइरहेको छ। त्यसकारण जिल्ला तहमा राजनीतिक प्रशिक्षण, संगठनात्मक अनुशासन, सामूहिक नेतृत्व र आत्मालोचनाको संस्कार सुदृढ गर्न विशेष पहल आवश्यक छ।

 

निष्कर्ष : चरित्रको क्रान्ति बिना सामाजिक क्रान्ति हुँदैन

आफूभन्दा अर्कोलाई अस्वीकार गर्ने, खिसिट्युरी गर्ने, सहयोद्धाको मानमर्दन गर्ने प्रवृत्तिको अन्त्य नगरी क्रान्तिकारी चरित्रको कम्युनिस्ट पार्टी निर्माण असम्भव छ। चरित्रको क्रान्ति बिना सामाजिक क्रान्ति हुँदैन। यही सत्यलाई आत्मसात् गर्दै नेपाली कम्युनिस्ट पार्टीले आन्तरिक रूपान्तरणको बाटो रोज्नुपर्छ।

यदि पार्टीले इमानदारीपूर्वक आत्मालोचना गर्‍यो, योग्यलाई अघि बढायो, जनताको विश्वास जित्ने व्यवहार देखायो र संगठनलाई नैतिक रूपमा बलियो बनायो भने-तीन करोड नेपाली जनतालाई एकताबद्ध गर्दै श्रमिक, मजदुर र किसान वर्गको राज्यसत्ता स्थापना गर्ने बाटो खुल्छ। यही दिशामा दृढतापूर्वक अघि बढ्न सके हाम्रो विजय केवल सम्भावना होइन, सुनिश्चित यथार्थ बन्नेछ। अस्तु ।

नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय  समिति सदस्य  झापा

Comments are closed

Related Post