काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज (सोमबार) भारत जाँदैछन्। भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नबिनको निमन्त्रणामा उनी जेठ १८ देखि जेठ २२ गतेसम्म भारत भ्रमणमा रहने छन्।
सत्तारूढ रास्वपाको विज्ञप्ति जारी हुनु केही समयअघि मात्र भाजपाले पनि यो भ्रमणबारे आधिकारिक जानकारी सार्वजनिक गरेको थियो। भाजपाको वैदेशिक मामिला विभागका प्रमुख डा. विजय चौथाइवालेले जारी गरेको विज्ञप्ति अनुसार यो भ्रमणको मुख्य उद्देश्य रास्वपा र भाजपाबीच ‘पार्टी-टू-पार्टी’ सहकार्य सुरु गर्नु रहेको छ।
भ्रमणका क्रममा दुवै दलबीच संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदानप्रदान हुने अपेक्षा भाजपाले राखेको छ। भ्रमणका क्रममा रास्वपा प्रतिनिधिमण्डलले अध्यक्ष नवीनसहित भाजपाका अन्य वरिष्ठ नेताहरूसँग रचनात्मक संवाद गर्ने कार्यक्रम रहेको छ।
रविसँगै श्रीमती निकिता पौडैल, सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहोरा र प्रदीप आचार्य भारत जाने रास्वपाले जनाएको छ ।
भाजपाले रविको भ्रमणबाट अन्तरपार्टी सम्बन्ध थप सौहार्द हुने विश्वास गरेको छ ।














Comments are closed