झबिलाल राहु मगर
नेपालको राजनीतिमा वैकल्पिक शक्ति भनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले “जान्नेलाई छान्ने, इमान्दारलाई अघि बढाउने” जस्ता आकर्षक नारा अघि सार्दै छोटो समयमै ठूलो चर्चा कमायो। परम्परागत दलप्रति वितृष्णा बढेको समाजमा यस्तो नारा धेरैलाई आशाको किरण जस्तो लाग्नु स्वाभाविक थियो। तर समय बित्दै जाँदा रास्वपा र यसका नेतृत्वकर्ता रबि लामिछाने वरिपरि उठेका विवाद, आरोप र व्यवहारले त्यो आशा क्रमशः प्रश्नचिन्हमा रूपान्तरण हुँदै गएको देखिन्छ।
१. उम्मेदवार छनोटमा चर्को शुल्क : वैकल्पिक राजनीतिमाथि पहिलो चोट
राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई पुराना दलभन्दा फरक, पारदर्शी र नैतिक शक्ति भएको दाबी गर्दै आएको छ। तर प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा चर्को शुल्क असुल गरिएको विषय सार्वजनिक भएपछि त्यो दाबीमाथि गम्भीर प्रश्न उठेको छ। यदि उम्मेदवार बन्नकै लागि लाखौँ रुपैयाँ तिर्नुपर्ने हो भने “जान्नेलाई छान्ने” नारा कहाँ गयो? यो प्रक्रिया त झन् पूँजी भएकालाई मात्र अवसर दिने, साधारण तर सक्षम व्यक्ति बाहिरिने संरचना होइन र ?
यसले प्रमाणित गर्छ कि पार्टीभित्र पनि पैसा, पहुँच र प्रभाव नै निर्णायक बन्न थालेको छ। यस्तो अवस्था नयाँ बोतलमा पुरानै रक्सी जस्तै हो—नारा नयाँ, व्यवहार पुरानै।
२. सहकारी प्रकरण र नैतिक नेतृत्वको प्रश्न
रबि लामिछानेमाथि सहकारीसँग सम्बन्धित गम्भीर आरोपहरू सार्वजनिक भइसकेका छन्। नेपालका हजारौँ मजदुर, श्रमिक र साना व्यवसायीले दिन–रात मिहिनेत गरेर बचत गरेको पैसा सहकारीमा राखेका हुन्छन्। त्यो पैसा कुनै पनि रूपमा दुरुपयोग वा अपारदर्शी कारोबारमा जोडिनु भनेको सिधै जनजीवनमाथि प्रहार हो। यी विषयमा रास्वपा नेतृत्वले स्पष्ट, विश्वसनीय र नैतिक जवाफ दिन सकेको देखिँदैन। बरु आलोचकलाई “पुराना दलका एजेन्ट” भनेर पन्छाउने प्रवृत्तिले शंका झन् गहिरो बनाएको छ। वैकल्पिक शक्तिको दाबी गर्ने दलले प्रश्नबाट भाग्ने होइन, प्रश्नको सामना गर्नुपर्ने हो
३. रबि लामिछाने : व्यक्ति केन्द्रित राजनीति
रास्वपा वैकल्पिक शक्ति भनिए पनि व्यवहारमा भने यो एक व्यक्तिकेन्द्रित पार्टी जस्तो देखिन थालेको छ। नीति, विचार र सामूहिक नेतृत्वभन्दा पनि रबि लामिछानेको व्यक्तित्व, भाषण र मिडिया उपस्थितिमै पार्टी घुमिरहेको अनुभूति हुन्छ।
लोकतान्त्रिक पार्टी भनेको विचार, संगठन र सामूहिक निर्णयमा चल्ने हो। तर यहाँ अध्यक्षको निर्णय नै अन्तिम हुने, असहमति राख्नेलाई बाहिरिने वा चुप लाग्ने अवस्था सिर्जना भएको आरोप सुनिन्छ। यस्तो संरचनाले दीर्घकालमा अधिनायकवादी प्रवृत्ति जन्माउने खतरा हुन्छ।
४. वैदेशिक प्रभाव र साम्राज्यवादी आशंका
नेपाल जस्तो भूराजनीतिक रूपमा संवेदनशील देशमा कुनै पनि दलको वैदेशिक सम्बन्ध र प्रभाव अत्यन्तै महत्त्वपूर्ण हुन्छ। रास्वपा र यसको नेतृत्वमाथि विदेशी शक्ति र साम्राज्यवादी एजेन्डासँग नजिकिएको आशंका पनि उठ्दै आएका छन्।यस्ता प्रश्नहरू निराधार हुन् कि होइनन् भन्ने स्पष्टता पार्टीले दिनुपर्ने हो, तर त्यसतर्फ गम्भीर बहस र पारदर्शिता देखिँदैन। यदि कुनै दल राष्ट्रिय हितभन्दा बाह्य प्रभावमा चल्छ भने त्यो देशका लागि घातक हुन्छ। वैकल्पिक शक्तिको नाममा देशलाई प्रयोगशाला बनाउने छुट कसैलाई छैन।
५. नीतिगत अस्पष्टता र सतही राजनीति
रास्वपाले भ्रष्टाचार विरोधी, सुशासन, परिवर्तन जस्ता शब्द धेरै प्रयोग गरे पनि ठोस नीतिगत खाका प्रस्तुत गर्न सकेको देखिँदैन। आर्थिक नीति के हो? श्रमिक, किसान, महिला र सीमान्तकृत समुदायका लागि के योजना छन् ?
उद्योग, कृषि र रोजगारीमा के वैकल्पिक मोडेल छ ? यी प्रश्नमा स्पष्टता नभई केवल आक्रोश, भाषण र सामाजिक सञ्जालको लोकप्रियतामा राजनीति गर्नु दीर्घकालीन समाधान होइन। देश चलाउन नाराभन्दा नीति चाहिन्छ।
६. आक्रोशको राजनीति र समाज विभाजन
रास्वपाको उदय आंशिक रूपमा जनआक्रोशको परिणाम हो। तर त्यो आक्रोशलाई सकारात्मक परिवर्तनतर्फ लैजानु नेतृत्वको जिम्मेवारी हो। दुर्भाग्यवश, आलोचना सहन नसक्ने, फरक विचारलाई दुश्मन ठान्ने र समाजलाई “हामी र उनी” मा विभाजन गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ। यसले लोकतान्त्रिक संस्कार कमजोर बनाउँछ र दीर्घकालमा सामाजिक द्वन्द्व निम्त्याउन सक्छ।
७. पुराना दलजस्तै बन्ने खतरा
रास्वपा पुराना दलको विकल्प हो भन्ने दाबी गरिए पनि व्यवहारमा भने उही रोगहरू देखिन थालेका छन्-
• पैसा केन्द्रित राजनीति
• व्यक्तिपूजा
• अपारदर्शी निर्णय
• आलोचना असहिष्णुता
यदि नयाँ दलले पनि यही बाटो लिने हो भने मतदाताले किन फेरि प्रयोग गर्ने ?
निष्कर्ष : किन राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट नदिने ?
आजको प्रश्न “पुराना दल ठीक थिए कि थिएनन् ? ” होइन। प्रश्न यो हो- के राष्ट्रिय स्वतन्त्र पार्टी साँच्चै त्यो विकल्प हो, जसले देशलाई नयाँ दिशामा लैजान सक्छ ? उपलब्ध तथ्य, सार्वजनिक आरोप, व्यवहार र प्रवृत्ति हेर्दा रास्वपा र रबि लामिछानेले उठाएको आशा पूरा गर्न सक्ने आधार कमजोर देखिन्छ। मजदुर, श्रमिक र साधारण नागरिकको पसिनाको पैसासँग जोडिएका प्रश्न, उम्मेदवार छनोटमा पैसाको प्रभाव, व्यक्तिकेन्द्रित नेतृत्व र नीतिगत अस्पष्टताले यो दलप्रति गम्भीर अविश्वास पैदा गरेको छ। त्यसैले सचेत नागरिकको हैसियतले प्रश्न गर्न, आलोचना गर्न र राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट नदिने निर्णय लिनु लोकतान्त्रिक अधिकार मात्र होइन, जिम्मेवारी पनि हो।
वैकल्पिक राजनीति आवश्यक छ, तर त्यो विकल्प नैतिक, पारदर्शी, जनमुखी र राष्ट्रिय हितमा आधारित हुनुपर्छ-नकि नयाँ आवरणमा पुरानै खेल।
केन्द्रिय सदस्य नेपाली कम्नियुष्ट पार्टी














Comments are closed