Shopping cart

  • Home
  • स्वास्थ्य
  • यस्ता छन् काठमाण्डौं ४ का स्वतन्त्र उम्मेदवार डा.अर्चनशम्शेर राणका चुनावी प्रतिबद्धता
देश

यस्ता छन् काठमाण्डौं ४ का स्वतन्त्र उम्मेदवार डा.अर्चनशम्शेर राणका चुनावी प्रतिबद्धता

Email :67

काठमाडौं । आसन्न निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका वरिष्ठ मृगौला रोग विशेषज्ञ तथा समाजसेवी डा. अर्चनशम्शेर राणाले आफू निर्वाचित भए सबै नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्।

पत्रकार सम्मेलनमा डा राणाले नेपालजस्तो मुलुकमा सबैका लागि निःशुल्क स्वास्थ्य सेवा सम्भव रहेको भन्दै स्वास्थ्य सेवा राज्यको आधारभूत दायित्व भएको उल्लेख गरे । उनले भने, ‘राजनीतिक इच्छाशक्ति भएमा यो कार्यान्वयन गर्न सकिन्छ ।’

डा राणाका अनुसार उनको मुख्य कार्यसूचीमा संघीयता र प्रादेशिक संरचनाको पुनरावलोकन, राष्ट्रहितविपरीत भएका सन्धि, नीति तथा सम्झौताको पुनःमूल्यांकन तथा हिन्दु, बौद्ध र किराँत धर्मको संरक्षण रहेका छन्। दुई दशकदेखि चिकित्सा पेशामा क्रियाशील रहँदै आएका उनले विज्ञता र अनुभव नभएका व्यक्तिहरूले स्वास्थ्य मन्त्रालय सम्हाल्दा मुलुकको स्वास्थ्य सेवा प्रणाली कमजोर बनेको दावी गरे ।

 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ का मतदाताले आफूलाई विश्वास गर्नेमा आशावादी रहेको उनले विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित भएको उदाहरण प्रस्तुत गर्दै डा राणाले यसपटक ठूला दलभन्दा आफू वैकल्पिक उम्मेदवारका रूपमा प्रस्तुत भएको जिकिर पनि गरे।

 

डा राणाले आफू उठेको निर्वाचन क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।पशुपतिनाथ, बुढानिलकण्ठ, गुहेश्वरीलगायत धार्मिक तथा विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा यही क्षेत्रमा रहेकाले धार्मिक पर्यटनका लागि काठमाडौँ–४ उपयुक्त क्षेत्र भएको उनको भनाइ छ। उनको चुनाव चिन्ह ‘सिरिन्ज’ रहेको छ।

 

यो निर्वाचन क्षेत्रमा यसपटक प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौँ क्षेत्र नम्बर ४ छोडेर सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएपछि यहाँ नयाँ समीकरण बनेको हो। थापा २०७० सालको संविधानसभा निर्वाचन तथा २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनको स्थानमा कांग्रेसले ३३ वर्षीय सचिन तिमल्सेनालाई उम्मेदवार बनाएको छ।

 

यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट इन्द्रकुमार भुसाल ,राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, नेकपा एमालेबाट राजन भट्टराई तथा  पनि प्रतिस्पर्धामा छन्।

आफू यही क्षेत्रको माटोमा हुर्किएको, दुई दशकदेखि चिकित्सा पेशामा समर्पित रहँदै आएको र संसद्मा जनताको आवाज प्रभावकारी रूपमा उठाउन सक्ने क्षमताका कारण मतदाताले विश्वास गर्ने डा राणाको विश्वास छ ।

Comments are closed

Related Post