Shopping cart

  • Home
  • समाज
  • मिडियाको सामाजिक जिम्मेवारी: सत्य,सुशासन र जनमतको पहरेदार
अन्तर्राष्ट्रिय

मिडियाको सामाजिक जिम्मेवारी: सत्य,सुशासन र जनमतको पहरेदार

Email :179

लेखनाथ सिकारू

सञ्चार भन्नाले व्यक्ति, समूह वा समुदायबीच सूचना, विचार, अनुभव र भावनाको आदान–प्रदानमार्फत पारस्परिक समझदारी निर्माण गर्ने प्रक्रियालाई बुझिन्छ। सूचना युगको आजको समयमा मिडिया यो प्रक्रियाको मुख्य माध्यम बनेको छ।

लोकतान्त्रिक समाजमा मिडियाको प्रमुख उद्देश्य जनहकहितका मुद्दा उठाउनु, सुशासन प्रवर्द्धन गर्नु, बेथिति र भ्रष्टाचारविरुद्ध तथ्यपरक वा अनुसन्धानात्मक समाचार प्रस्तुत गर्नु हो। पत्रकारिताको लक्ष्य समाजकै हितमा उन्मुख हुन्छ, यही लक्ष्यले प्रेसको सामाजिक उत्तरदायित्वलाई परिभाषित गर्छ।

 

सामाजिक उत्तरदायित्वको आधार:

प्रेसको सामाजिक उत्तरदायित्व सिद्धान्तले मिडियालाई सूचना सटीक, सत्य र तथ्यपरक बनाउने, खबर र विश्लेषण सन्तुलित रूपमा प्रस्तुत गर्ने, समाजप्रति जिम्मेवार रहने, जस्ता मूल्य र मान्यतामा उभ्याउँछ। पत्रकार समाजभन्दा अलग भएर कार्य गर्न सक्दैन र गर्न पाउने पनि छैन, किनकि समाचारको प्रभाव प्रत्यक्ष समाज र जनजीवनसँग जोडिएको हुन्छ।

यस्तै, समाजका कमजोरी, बेथिति, अन्याय र भ्रष्टाचारलाई उजागर गर्ने तथा सही विकल्प वा समाधान प्रस्तुत गर्ने दायित्व पनि मिडियाकै हो।

 

लोकतन्त्रको चौथो स्तम्भ

न्यायपालिका, विधायिका र कार्यपालिकालाई “बर्दीबिनाको प्रहरी” का रूपमा नियाल्ने र जनताका आवाजलाई संस्थागत गर्ने भूमिका मिडियाले निर्वाह गर्छ।
समाचारमाध्यमले गलत पात्र र प्रवृत्तिमाथि खबरदारी, अधिकार हनन भएका नागरिकका पक्षमा आवाज, न्यायको खोजी र समाधानका मार्ग प्रशस्त गर्ने कार्य मार्फत लोकतान्त्रिक समाजमा चौथो स्तम्भको भूमिका निर्वाह गरिरहेको हुन्छ।

 

सस्तो लोकप्रियता होइन, उत्तरदायी पत्रकारिता आवश्यक

कहिलेकाहीँ केही सञ्चारमाध्यमहरू लोकप्रियता, सनसनी वा व्यावसायिकता मात्र बढाउने होडतर्फ उन्मुख हुन्छन्। यस्तो प्रवृत्ति पत्रकारितको उद्देश्य र आचारसंहिताको विपरीत हो। पत्रकारिताको मूल आधार पत्रकार आचारसंहिताको पालन हो। तथ्यपरकता, निष्पक्षता,शुद्धता, सत्यतथ्यको पुष्टि, यिनै विशेषताबाट मात्र भ्रामक, उत्तेजनात्मक वा गर्नु उद्देश्यहीन सामग्रीहरूको विस्तार नियन्त्रण गर्न सकिन्छ।

 

सूचना नै ज्ञान, र ज्ञान नै शक्ति

“पत्रकारिता सूचनाको समुद्र हो” भन्ने उक्ति नै यसको सार हो। सूचना ज्ञान बनिन्छ, र ज्ञानले समाजलाई सशक्त बनाउँछ। विशेषगरी ओझेलमा परेका, अवसर नपाएका, पछाडि पारिएका, नागरिकलाई सशक्त बनाउने प्रभावकारी माध्यम पत्रकारिता नै हो। समाजको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक विकासदेखि द्वन्द्व न्यूनीकरण, मेलमिलाप, सहमति, सद्भाव कायम गर्न प्रेसको भूमिका महत्वपूर्ण रहन्छ।

 

विश्वसनीय पत्रकारिताका लागि सजगता अपरिहार्य

आजको बहुलवादी नेपाली समाजमा संविधानले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ। तर यो स्वतन्त्रतासँगै सञ्चारकर्मी थप सजग, जिम्मेवार र संवेदनशील हुनुपर्ने आवश्यकता पनि उत्तिकै बढेको छ। समाचार विश्वसनीय बनाउने काम पत्रकारकै मिहिनेत, अनुसन्धान, अध्ययन र पेशागत नैतिकतामा आधारित हुन्छ।

 

निष्कर्ष

यदि मिडिया सत्य, तथ्य र जनहितका प्रश्नबाट चिप्लियो भने त्यो जनताको आवाज होइन, प्रचारको साधन मात्र बन्न पुग्छ। त्यसैले “मिडियाको धर्म सत्य बोल्नु, तथ्य देखाउनु र समाजको पहरेदार बन्नु हो।” विश्वसनीय, उत्तरदायी र जनमुखी पत्रकारिताद्वारा मात्र लोकतन्त्रको मूल्य, सुशासनको दिशा र जनताको विश्वास जोगाउन सकिन्छ।

पूर्वअध्यक्ष- नेपाल पत्रकार महासंघ पाँचथर ,उपमहासचिव- समाजवादी प्रेस संगठन नेपाल ।

 

Comments are closed

Related Post