Shopping cart

  • Home
  • राजनिती
  • मतदानकै दिन साँझदेखि मतगणना सुरु गर्ने आयोगको तयारी
देश

मतदानकै दिन साँझदेखि मतगणना सुरु गर्ने आयोगको तयारी

Email :70

काठमाडौं । निर्वाचन आयोग ले यसपटक मतपेटिका संकलनको समय घटाएर मतदानकै दिन साँझदेखि मतगणना सुरु गर्ने तयारी गरेको छ। मतदाताको नतिजा पर्खाइलाई छोट्याउने उद्देश्यले यस्तो रणनीति अपनाइएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार मतदान सम्पन्न भएलगत्तै छिटोभन्दा छिटो मतगणना सुरु गरी नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ। “कतिपय स्थानमा आउन सक्ने अप्ठ्याराहरू अहिले नै पूर्ण रूपमा आँकलन गर्न सकिँदैन। तर साधारणतया समयमै मतगणना सुरु गर्न सकिन्छ भन्ने विश्वासका साथ आयोगले छिटो नतिजा सार्वजनिक गर्ने योजना बनाएको हो,” उनले भने।

विगतका निर्वाचनका अनुभवलाई आधार मान्दै यसपटक मतपेटिका संकलन प्रक्रिया उल्लेख्य रूपमा छोट्याइने आयोगको तयारी छ। आयोगले मतदान हुनुअघि नै राजनीतिक दलहरूसँग समन्वय गरी मतगणनास्थल र आवश्यक व्यवस्थापन मिलाउने योजना अघि बढाएको जनाएको छ।

मतदाताको नतिजा सुन्ने व्यग्रतालाई सम्बोधन गर्न आयोगले ‘सद्भावनापूर्ण उद्देश्य’का साथ यस्तो योजना बनाएको प्रवक्ता भट्टराईले बताए। स्थानीय तहमा देखिन सक्ने प्राविधिक तथा व्यवस्थापकीय चुनौतीलाई ध्यानमा राख्दै अधिकतम दक्षताका साथ काम गर्ने लक्ष्य आयोगले लिएको छ।

धेरैजसो निर्वाचन क्षेत्रमा जिल्ला सुरक्षा समितिसँगको समन्वयमा मतगणनास्थल तोकिसकिएको आयोगले जनाएको छ।

Comments are closed

Related Post