काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की राष्ट्रियसभा सांसद जयन्तीदेवी राईले सरकार निरंकुश बन्दै गएको आरोप लगाएकी छन् ।
राष्ट्रिय सभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद राईले सरकारले निजी सञ्चार माध्यमहरूमाथि सरकारी सूचना तथा विज्ञापन रोक्ने निर्णय अत्यन्तै निरंकुश र अलोकतान्त्रिक भएको बताइन् ।
उनले छोटो समयमै सरकारले धेरै विवादास्पद निर्णयहरू गरेको उल्लेख गर्दै निजी सञ्चार माध्यमलाई विज्ञापन रोक्ने, विद्यार्थी संगठन खारेज गर्ने जस्ता अलोकतान्त्रिक निर्णयहरू तत्काल फिर्ता लिन माग गरिन् ।
“ठूलो जनविश्वास प्राप्त गरेको सरकारको बारेमा बोल्न मन थिएन, तर एकपछि अर्को विवादित निर्णय हुँदा चुप लागेर बस्न सकिनँ,” उनले भनिन् ।
सांसद राईले थप्दै भनिन्, “भर्खरै मन्त्रिपरिषद् सचिवालयले सचिवस्तरीय निर्णय परिपत्र जारी गरेको छ । त्यो परिपत्र आउनासाथ ठूलो विवादमा परेको छ । उक्त परिपत्रले सरकारी सूचना र विज्ञापनहरू केवल सरकारी सञ्चार माध्यमबाट मात्र प्रसारण गर्न पाउने र निजी सञ्चार माध्यमलाई रोक्ने निर्णय गरेको छ । यो निर्णय अत्यन्त गलत र अलोकतान्त्रिक छ ।”
उनले पछिल्लो समय महिलाहरू तथा किशोरीहरूमाथि बढ्दै गएको साइबर हमला र साइबर हिंसाप्रति पनि सरकारको ध्यानाकर्षण गराउँदै यसलाई रोक्न कडा कदम चाल्न सरकारसँग माग गरिन् ।














Comments are closed