Shopping cart

  • Home
  • समाज
  • बाढीपीडितका लागि कांग्रेसले दियो एक करोड
देश

बाढीपीडितका लागि कांग्रेसले दियो एक करोड

Email :54

काठमाडौँ। रसुवा, नुवाकोटलगायतका बाढीपहिरो प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उक्त रकम बराबरको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो। टोलीमा पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे तथा रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यलगायत नेताहरू सहभागी थिए।

केही दिनअघि रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी, त्रिशूलीलगायत नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोका कारण कैयौँ परिवार विस्थापित भएका छन् भने सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको छ।

चेक हस्तान्तरण गर्दै महामन्त्री पौडेलले विपद्को घडीमा कांग्रेस बाढीपीडित नागरिकको साथमा रहेको बताए। उनले पीडितलाई तत्काल राहत, स्वास्थ्योपचार तथा सुरक्षित आवासको व्यवस्था गर्न सरकारसँग आग्रह गरे।

पौडेलले बाढीपहिरोका कारण सुरुङलगायत विभिन्न स्थानमा फसेका तथा अलपत्र नागरिकको उद्धारमा भइरहेको ढिलाइप्रति समेत गम्भीर चिन्ता व्यक्त गरे। उद्धार कार्यलाई तीव्रता दिँदै प्रभावित क्षेत्रका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै, त्रिशूली र भोटेकोशी आसपासका प्रभावित बस्तीमा उद्धार तथा राहतलाई तीव्रता दिँदै क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण युद्धस्तरमा अघि बढाउन कांग्रेसले माग गरेको छ। राहत वितरण पारदर्शी बनाउन तथा समग्र विपद् व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन पनि पौडेलले सरकारलाई आग्रह गरे।

विपद् व्यवस्थापन, बेपत्ताको खोजी तथा विस्थापित नागरिकको दीर्घकालीन पुनर्स्थापनामा सरकारलाई आवश्यक सहयोग गर्न पार्टी तयार रहेको पौडेलले प्रतिबद्धता जनाए।

कांग्रेसले यसअघि पनि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सहयोगका लागि पार्टीका विभिन्न संरचना परिचालन गर्दै आएको जनाएको छ। पार्टी सभापति गगन थापाको नेतृत्वमा सरकारलाई सुझाव, दबाब तथा ध्यानाकर्षण गराउने काम भइरहेको कांग्रेसले जनाएको छ। सभापति थापा स्वयं पनि दुईपटक बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किएका छन्।

Comments are closed

Related Post