काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. १० मा नेपाली कम्युनिष्ट पार्टीले युवा तथा संघर्षशील नेतृ रूपा महर्जन (श्रेष्ठ) लाई उम्मेदवार बनाउँदै चुनावी अभियान तीव्र बनाएको छ । “तपाईंको आवाज संसदमा, मत हालौं तारामा” भन्ने नारासहित घरदैलो, कोणसभा र समुदायस्तरीय छलफलहरू मार्फत उम्मेदवार महर्जनले आफ्नो प्रतिबद्धता मतदातामाझ प्रस्तुत गरिरहेकी छन् ।
कीर्तिपुरमा जन्मेकी र हाल चन्द्रागिरीमा बसोबास गर्दै आएकी रूपा महर्जन (श्रेष्ठ) लामो राजनीतिक अनुभव र सामाजिक आन्दोलनको पृष्ठभूमिसहित मैदानमा उत्रिएकी हुन् । राज्यद्वारा बेपत्ता योद्धा सुचेन्द्र श्रेष्ठका सहयोद्धा रहँदै उनले जनयुद्धकालीन संघर्षदेखि शान्ति प्रक्रियासम्मको राजनीतिक यात्रामा सक्रिय भूमिका निर्वाह गरेकी छन् । बेपत्ता योद्धा परिवार, युवा, जनजाति तथा महिला समुदायसँग निकट सम्बन्ध राख्दै आएकी उनी सबै वर्ग र समुदायको साझा प्रतिनिधिका रूपमा परिचित छिन् ।
उम्मेदवार महर्जन पूर्व संविधान सभा सदस्यसमेत हुन् । साथै, नेपाल भाषा आन्दोलनमा सक्रिय अभियन्ताका रूपमा उनले सांस्कृतिक पहिचान, भाषा अधिकार र स्थानीय समुदायको स्वाभिमानका मुद्दा निरन्तर उठाउँदै आएकी छन् । दक्षिणकाली क्षेत्रको विकास यात्रामा समेत सहयात्री रहेकी उनी स्थानीय तहका समस्या, विकासका अवरोध र जनताका दैनिक सरोकारसँग प्रत्यक्ष परिचित छिन् ।
सुशासन, स्थिरता र प्रणालीगत सुधारको एजेन्डा
रूपा महर्जन (श्रेष्ठ) ले आफ्नो चुनावी घोषणापत्रमा भ्रष्टाचारको अन्त्य, सुशासन र पारदर्शितालाई प्रमुख एजेन्डा बनाएकी छन् । सार्वजनिक स्रोत–साधनको दुरुपयोग रोक्न, नीति निर्माणमा पारदर्शिता कायम गर्न र जनउत्तरदायी शासन प्रणाली स्थापित गर्न आफू संसदमा सशक्त आवाज उठाउने उनले प्रतिबद्धता जनाएकी छन् ।
त्यसैगरी, उनले स्थिर शासन प्रणालीका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था आवश्यक रहेको धारणा अघि सारेकी छन् । राजनीतिक अस्थिरताले विकास अवरुद्ध गरेको निष्कर्षसहित उनले दीर्घकालीन स्थायित्वका लागि प्रणालीगत बहस संसदमा उठाउने बताएकी छन् ।
सहकारी, भूमि र विस्थापनका मुद्दा
काठमाडौं–१० क्षेत्रमा सहकारी तथा सहकारी पीडितका समस्या जटिल बन्दै गएको सन्दर्भमा उम्मेदवार महर्जनले सहकारी पीडितको रकम फिर्ता र नियमन प्रणाली कडाइका साथ कार्यान्वयन गर्ने पहल गर्ने बताएकी छन् ।
स्वबासी, बेनिस्सा तथा बेदर्ता जग्गाका समस्या समाधान, अन्यायपूर्ण भूमि नीति र जबर्जस्ती विस्थापनविरुद्ध आवाज उठाउने उनको प्रतिबद्धता छ । भूमिमाथि स्थानीय समुदायको अधिकार सुनिश्चित गर्दै विकास र संरक्षणबीच सन्तुलन कायम गर्ने एजेन्डा उनले अघि सारेकी छन् ।
सम्पदा संरक्षण र वातावरणीय सुधार
कीर्तिपुर, दक्षिणकाली र चन्द्रागिरी क्षेत्र प्राकृतिक तथा सांस्कृतिक सम्पदाले समृद्ध छन् । उम्मेदवार महर्जनले प्राकृतिका साथै सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखेकी छन् । वातावरण प्रदूषण न्यूनिकरण, फोहोरको वैज्ञानिक व्यवस्थापन र जलाधार क्षेत्रको संरक्षणमार्फत दीगो विकासलाई जोड दिने उनले बताएकी छन् ।
जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणलाई स्थानीय विकाससँग जोड्दै हरित पूर्वाधार निर्माण र समुदाय–केन्द्रित कार्यक्रम अघि बढाउने उनको योजना छ ।
शिक्षा, स्वास्थ्य र रोजगारी
उम्मेदवार महर्जनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई नागरिकका मौलिक हक–अधिकारका रूपमा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा रहेको त्रिवि शिक्षण अस्पताल विस्तारका लागि पहल गर्ने उनको स्पष्ट योजना छ ।
सामुदायिक विद्यालय तथा कलेजहरूको स्तर उन्नति, प्रविधिमैत्री र सीपमूलक शिक्षा प्रणाली विकास, “पढ्दै कमाउँदै, कमाउँदै पढ्दै” मोडेल लागू गर्दै युवालाई रोजगारीसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिइने बताइएको छ ।
कीर्तिपुरलाई आईटी हबका रूपमा विकास गर्दै सूचना प्रविधिमा आधारित उद्यमशीलता प्रवर्द्धन गर्ने योजना पनि उनले अघि सारेकी छन् । यसले युवालाई स्थानीय स्तरमै अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ ।
पूर्वाधार र पर्यटन प्रवर्द्धन
हात्तीवन–चम्पादेवी–चन्द्रागिरि पैदलमार्गको स्तर उन्नति, चन्द्रागिरी–कीर्तिपुर–दक्षिणकाली लिङ्ग रोड विकास तथा सार्वजनिक यातायात सञ्चालन, कीर्तिपुर–मकवानपुर जोड्ने सडक विस्तारजस्ता योजनाहरू उनको प्राथमिकतामा छन् ।
चन्द्रागिरी र कीर्तिपुर हुँदै दक्षिणकाली सम्मको दक्षिण–पश्चिम भेगलाई आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधिको साझा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।
चम्पादेवीस्थित जातीय संग्रहालयलाई मूर्त रूप दिने, विभिन्न पार्क तथा खेलमैदानको स्तर उन्नति गर्ने र क्षेत्रलाई खेलकुद प्रशिक्षणको हबका रूपमा विकास गर्ने कार्यक्रम पनि घोषणापत्रमा समेटिएको छ ।
स्मृति, अध्ययन र पहिचान
जनआन्दोलन, जनयुद्ध र जेनेरेशन–जी आन्दोलनको अध्ययन, अनुसन्धान तथा स्मृति स्थलका रूपमा मसिनको शान्तिपार्क विकास गर्ने योजना पनि उम्मेदवार महर्जनले अघि सारेकी छन् । इतिहास, संघर्ष र लोकतान्त्रिक यात्राको सम्मान गर्दै नयाँ पुस्तालाई राजनीतिक चेतनासँग जोड्ने उनको भनाइ छ ।
नमुना क्षेत्रको संकल्प
काठमाडौं–१० लाई नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्न केन्द्रीय बजेट सुनिश्चित गराउने प्रतिबद्धता उम्मेदवार महर्जनले व्यक्त गरेकी छन् । समन्वित योजना, स्थानीय तहसँग सहकार्य र समुदाय–आधारित विकास मोडेलमार्फत आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण सम्भव रहेको उनको विश्वास छ ।
घरदैलो अभियानका क्रममा उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या सुन्दै समाधानको स्पष्ट खाका प्रस्तुत गरिरहेकी छन् । युवा, महिला, जनजाति तथा सहकारी पीडित समुदायबाट सकारात्मक समर्थन मिलिरहेको नेकपा स्रोतले जनाएको छ ।
निर्वाचन नजिकिँदै जाँदा काठमाडौं–१० मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ । तथापि, नेकपा कार्यकर्ताहरूले “तारामा छाप, रूपा महर्जन (श्रेष्ठ) लाई अत्यधिक मत” भन्ने अभियानलाई तीव्र पार्दै उनलाई विजयी गराउने दाबी गरेका छन् ।
महर्जनले आफू संसदमा पुगेपछि “जनताको आवाज, जनताको अधिकार र जनताको विकास” का लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता दोहोर्याएकी छन् । उनका समर्थकहरूका अनुसार, काठमाडौं–१० मा परिवर्तन, सुशासन र समावेशी विकासको नयाँ अध्याय सुरु गर्न तारामा मत हाल्नु अपरिहार्य छ ।















Comments are closed