काठमाडौँ । सरकारले नर्सिङ कर्मचारीको रात्रिकालीन ड्युटी भत्ता दोब्बर बनाउने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा उक्त व्यवस्था गरिएको हो । यसैगरी बजेटमा कर्णाली प्रदेशका दुर्गम स्थानहरूमा ‘एयर एम्बुलेन्स’ सेवा सञ्चालन गर्ने घोषणासमेत गरिएको छ । अर्थमन्त्री डा. वाग्लेले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा ५० प्रतिशतले वृद्धि गरिएको जानकारी दिनुभयो ।
बजेट भाषणका क्रममा उहाँले भन्नुभयो, “कर्णाली प्रदेशका दुर्गम स्थानहरूमा एयर एम्बुलेन्स सेवा सुरु गरिने छ । स्वास्थ्य क्षेत्रमा चौबीसै घण्टा खटिने नर्सिङ कर्मचारीको रात्रिकालीन ड्युटी भत्ता दोब्बर बनाइएको छ भने महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा ५० प्रतिशत वृद्धि गरिएको छ ।”
अर्थमन्त्री डा. वाग्लेले सरकार गरिब तथा विपन्न नागरिकको स्वास्थ्य उपचारप्रति गम्भीर भएर लाग्ने र स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।














Comments are closed