Shopping cart

  • Home
  • समाज
  • नयाँ वर्ष २०८३ को अवसरमा मिथिलामा जुडशीतल पर्व मनाइँदै
देश

नयाँ वर्ष २०८३ को अवसरमा मिथिलामा जुडशीतल पर्व मनाइँदै

Email :12

काठमाडौं । विक्रम संवत् २०८३ आजदेखि प्रारम्भ भएको छ । यससँगै मधेसको मिथिला क्षेत्रमा जुडशीतल पर्व हर्षोल्लासका साथ मनाइँदै छ ।

वैशाख १ गते अर्थात् नयाँ वर्ष प्रारम्भ भएको दिनदेखि दुई दिनसम्म मनाइने यो पर्वको पहिलो दिनलाई ‘सतुवाइन’ र दोस्रो दिनलाई ‘जुडशीतल’ भनिन्छ । मिथिलाञ्चलमा कूलदेवताको पूजा गरेर मनाइने यो पर्व जीवनमा शीतलता, आरोग्यता र सुखशान्तिको कामना गर्दै मनाउने परम्परा छ ।

महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका प्राचार्य हेमनारायण कर्णका अनुसार बढ्दो गर्मीमा शीतलता प्रदान गर्ने भावनाबाट यो पर्वको नामकरण भएको हो । पहिलो दिन चना, बदाम, जौ, मकै, कङ्गनी, गहुँ, चामल र मुँगदालसहित सातथरी खाद्यान्नको सातु र माटोको अँखरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाइन्छ । त्यसपछि कूलपुरोहित, ब्राह्मण र साधुलाई दान दिइन्छ ।

दोस्रो दिन परिवारका ज्येष्ठ सदस्यहरूले सानाहरूलाई शिरमा जल सिञ्चन गर्दै आरोग्यता, शीतलता र दीर्घायुको आशीर्वाद दिने चलन छ । पर्वमा चना, मुँग, बदामका परिकार, सोहिजनको तरकारी, बदामको पिठोबाट बनाइएका बरी र दहीको कढी खाने प्रचलन छ ।

मिथिला संस्कृतिका ज्ञाता ध्रुव रायका अनुसार यो पर्वले नयाँ वर्षमा जीवनमा शीतलता प्रदान गरोस् भन्ने मुख्य सन्देश दिन्छ । पर्वमा सहकालको कामना गर्दै एकआपसमा धुलोमाटो र हिलो छ्यापाछ्याप गर्ने परम्परा पनि छ । यो प्रतीकात्मक खेलले वर्षभरि खेतीपातीमा निरन्तरता र चिस्यानको कमी नहोस् भन्ने सन्देश दिन्छ ।

मिथिला क्षेत्रका विभिन्न जिल्ला तथा भारतको सीतामढी, झञ्झारपुर, शिवहर लगायतका क्षेत्रमा यो पर्व उल्लासका साथ मनाइन्छ । पर्वले आपसी सद्भाव, सहकार्य र समन्वयको सन्देश दिने बताइन्छ ।

Comments are closed

Related Post