इटहरी । सुनसरीको , क्षेत्र नं. २ – राष्ट्रिय स्वाधिनता, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल नारासहित नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकुमारी चौधरी चुनावी मैदानमा उत्रिएर मत मागिरहेकी छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ‘तारा’ चुनाव चिन्हमा मतदान गरी विजयी गराउन उनले सुनसरी–२ का मतदातासँग अपिल गरेकी छन् ।
बलिदानको सम्मान, उपलब्धिको रक्षा – चौधरीले २००७ सालदेखि ०६२–०६३ को ऐतिहासिक जनआन्दोलनसम्म नेपाली जनताले गरेका त्याग, तपस्या र बलिदानको स्मरण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व र जनताको सार्वभौमसत्ताको रक्षा आजको प्रमुख आवश्यकता भएको बताइन् ।
‘जनताको रगत, आँसु र पसिनाबाट निर्मित उपलब्धिलाई कमजोर पार्ने कुनै पनि प्रयास सफल हुन दिन्नौं,’ उनले प्रतिबद्धता जनाइन् ।
भौतिक पूर्वाधारमा तीव्रता – देशकै केन्द्रको रूपमा विकास भइरहेको इटहरी, सदरमुकाम इनरुवा, सीमावर्ती देवानगन्ज र विस्तारोन्मुख झुम्का बजारको वैज्ञानिक विस्तृत परियोजना तयार गरी सडक, बिजुली, सिँचाइ र अन्य संरचना निर्माणमा विशेष पहल गर्ने उनको योजना छ । विशेषगरी इनरुवा–देवानगन्ज सडक उच्च प्राथमिकतामा रहनेछ ।
शिक्षाः अनिवार्य र गुणस्तरीय – माध्यमिक तहसम्म निःशुल्क र अनिवार्य शिक्षाको संवैधानिक व्यवस्थालाई कार्यान्वयन गरिने उनले स्पष्ट गरिन् । सामुदायिक विद्यालयको भौतिक सुधार, शिक्षक तालिम, समयानुकूल पाठ्यपुस्तक र प्राविधिक शिक्षाको विस्तारमा जोड दिने प्रतिबद्धता व्यक्त गरिन् ।
स्वास्थ्यमा भरोसा पुनःस्थापना – इटहरी, झुम्का, जिल्ला अस्पताल इनरुवा र देवानगन्जका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सक, पर्याप्त दरबन्दी, निःशुल्क औषधि र स्वास्थ्य बीमा सेवा सहज बनाइने उनको योजना छ । साथै निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन पहल गरिनेछ ।
कृषि र रोजगारीः ‘दुवही होइन, देवानगन्ज’ – सुनसरी–२ लाई कृषि उत्पादनको केन्द्रका रूपमा स्थापित गर्दै कृषि आधारित उद्योग, बजारीकरण, पशु, बाली, फलफूल बीमा र राज्य लगानी सुनिश्चित गरिने उनले बताइन् । रोजगारी सिर्जना गर्दै ‘दुवही होइन, देवानगन्ज’ भन्ने नारालाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाइन् ।
भूमिहीन र मजदुरका अधिकार – भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बसोबास, सुरक्षित आवास अधिकार र सामाजिक सुरक्षा कोषमा मजदुरको अनिवार्य आबद्धता गरिनेछ ।
पर्यटन र खेलकुद विकास – तालतलैयालाई जैविक विविधता संरक्षण तथा पर्यटन केन्द्रको रूपमा विकास गर्ने, देवानगन्जमा कृषि पर्यटन प्रवद्र्धन गर्ने योजना अघि सारिएको छ । इटहरी रंगशालाको स्तरउन्नति, डिजिटल पार्क निर्माण र खेलाडीलाई रोजगारमूलक व्यवस्थापन गर्ने कार्यक्रम पनि प्राथमिकतामा छन् ।
धर्म–संस्कृति संरक्षण – थारु समुदायको धर्म, संस्कार र संस्कृतिको संरक्षण–प्रवद्र्धन, मठ–मन्दिर व्यवस्थापन, ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण तथा सबै धार्मिक समुदायका पर्व र संस्कारको सम्मानजनक व्यवस्थापनमा विशेष पहल गरिने उनले बताइन् ।
जनताको साथमा इमान्दार प्रतिनिधित्व – ‘प्रतिनिधिसभा सदस्यको मुख्य जिम्मेवारी कानुन निर्माण हो, तर विकास समन्वयमा पनि सक्रिय रहनेछु,’ भन्दै चौधरीले आफूलाई इमान्दार, निष्ठावान र समर्पित जनप्रतिनिधिका रूपमा उभ्याएकी छन् ।














Comments are closed