काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले २१ फागुनको चुनावपछि आफ्नो पार्टी देशको पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले देशभरबाट आएको रिपोर्ट अनुसार नेकपा पहिलो पार्टी बन्ने निष्कर्ष आफुहरुको रहेको बताएका हुन् । पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता सापकोटाले पहिलो पार्टी बन्ने आधारपनि प्रस्तुत गरेका छन् ।
नेता सापकोटाका अनुसार विगतको चुनावमा देशको सबै क्षेत्रमा पार्टीको उम्मेदवार नहुँदा समानुपातिक मत घटेको भन्दै यसपटक समानुपातिक मत उल्लेख्य बढ्ने बताए । देशभर उम्मेदवार हुँदा उम्मेदवारको मनोबल उच्च भएको तथा पार्टीको पुरै पंक्ति नै निर्वाचन केन्द्रीत भएको भन्दै यसले चुनावमा सकारात्मक परिणाम ल्याउने बताए ।
उनले नेकपा एकताबद्ध भएर चुनावमा जानुले पनि धेरै सिट जित्ने उनको दाबी छ । सापकोटाले कांग्रेस फुटेजस्तै रहेको भन्दै कांग्रेसमा कुनै गति नआएको टिप्पणी गरे । एमाले इतिहासकै रक्षात्मक अवस्थामा रहेको उनको भनाई छ । ‘हाम्रो पार्टी सबैभन्दा बढी एकतावद्ध छ । कांग्रेस एकप्रकारले फुटेको छ । त्यसको गति आएको छैन । कांग्रेसको तयारी छैन’, उनले भने, ‘एमाले त झन् इतिहासकै रक्षात्मक अवस्थामा छ । त्यसैले हामी पहिलो पार्टी बन्छौँ ।’
नेता सापकोटाले नयाँ राजनीतिक दलहरुसँग दर्शन, बिचार र सिद्धान्त केहीपनि नभएको भन्दै उनीहरुले एजेन्डासम्म दिन नसकेका टिप्पणी गरे । ‘नयाँको चाल हेर्दा दर्शन, विचार र सिद्धान्तको कुरा त छोडिदिनुस् । एजेन्डासम्म दिन सकेनन् ।’ उनले टिप्पणी गरे ।














Comments are closed