काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४ का उम्मेदवार इन्द्रकुमार भुसाल यतिबेला घरदैलो तथा जनसंवाद कार्यक्रममा व्यस्त छन्। विशेषगरी बुढानिलकण्ठ नगरपालिका–१० मा सञ्चालन भइरहेको जनसंवाद कार्यक्रम उत्साहपूर्ण र जनसहभागितामूलक बनेको छ।
घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार भुसालले जनताको भावना, सुझाव र अपेक्षा ध्यानपूर्वक सुन्दै आएका छन्। स्थानीय बासिन्दाले विकास, रोजगारी, सामाजिक सुरक्षा र पूर्वाधार सुदृढीकरणका विषयमा आफ्ना धारणा राखेका छन् भने भुसालले ती मुद्दालाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उम्मेदवार भुसालले जनताबाट प्राप्त माया, विश्वास र समर्थनले आफूलाई थप जिम्मेवार र ऊर्जावान बनाएको बताएका छन्। “यहाँहरूले दिनुभएको आशीर्वाद, शुभकामना र भरोसाले मलाई अझ दृढ बनाएको छ। आगामी दिनमा तपाईंहरूको साथलाई कुशल जनसेवक बन्ने शक्तिका रूपमा लिएको छु,” उनले जनतामाझ भने।
भुसालले आफ्नो चुनावी प्रतिबद्धतामा काठमाडौं–४ लाई समृद्ध र नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य अघि सारेका छन्। उनले पूर्वाधार विकासलाई तीव्रता दिनुका साथै सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी बनाउने, क्षेत्रलाई पर्यटन तथा उद्योगको केन्द्रका रूपमा विकास गर्ने, युवा विदेश पलायनको बाध्यता अन्त्य गर्ने र रोजगारीमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीयवासीहरूका अनुसार घरदैलो कार्यक्रम औपचारिकतामा सीमित नभई वास्तविक संवादमा केन्द्रित छ, जसले जनताको भरोसा अझ मजबुत बनाएको छ। नेकपाले पनि काठमाडौं–४ मा संगठनात्मक रूपमा सक्रियता बढाउँदै चुनावी अभियानलाई व्यापक बनाएको जनाएको छ।
यसरी घरदैलोमार्फत जनतासँग नजिकिँदै गएको उम्मेदवार भुसालको अभियानलाई क्षेत्रका मतदाताले सकारात्मक रूपमा लिएका छन्। जनताको अपेक्षा र विश्वासलाई साथमा लिएर अघि बढेको यो अभियानले आगामी निर्वाचनमा उल्लेखनीय परिणाम ल्याउने विश्वास नेकपा कार्यकर्ताहरूले व्यक्त गरेका छन्।














Comments are closed