Shopping cart

  • Home
  • समाज
  • एमालेको उदघाटन समारोह भद्दा मजकक, संगठनात्मक विधि र प्रक्रियाको अवहेलना
देश

एमालेको उदघाटन समारोह भद्दा मजकक, संगठनात्मक विधि र प्रक्रियाको अवहेलना

Email :161

रोशन

 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) को भक्तपुर जिल्लाको सल्लाघारीमा सम्पन्न एघारौँ महाधिवेशनको उद्घाटन समारोह केवल औपचारिक कार्यक्रम मात्र रहेन, त्यो एमालेको आन्तरिक लोकतन्त्र, संगठनात्मक संस्कार र नेतृत्व शैलीमाथि गम्भीर प्रश्न उठाउने घटनाक्रमको प्रतीक बन्यो। कम्युनिष्ट आन्दोलनले गर्व गर्ने विधि, पद्धति र लेनिनवादी संगठनात्मक शैलीलाई सार्वजनिक मञ्चबाट नै लत्याइएको दृश्यले धेरै सचेत प्रतिनिधि र कार्यकर्ताको शिर निहुरिएको देखियो।

सामान्यतया, एमालेजस्तो स्थापित कम्युनिष्ट पार्टीमा महाधिवेशनको उद्घाटन समारोह स्पष्ट विधि र परम्परामा आधारित हुन्छ। अध्यक्षले अध्यक्षता गर्ने, बरिष्ठ उपाध्यक्षले स्वागत मन्तव्य राख्ने र महासचिवले कार्यक्रम सञ्चालन गर्ने प्रचलन केवल औपचारिकता होइन, संगठनभित्रको शक्ति सन्तुलन, सम्मान र अनुशासनको संकेत हो। तर यसपटक त्यो सबैलाई तोडेर अध्यक्ष खड्ग प्रसाद ओलीले कार्यक्रम सञ्चालन उपमहासचिव प्रदीप ज्ञवालीलाई र स्वागत मन्तव्य महासचिव शंकर पोख्रेललाई गराएर स्पष्ट रूपमा संगठनात्मक विधि र प्रक्रियाको अवहेलना गरे।

यो घटना सामान्य व्यवस्थापकीय निर्णय होइन, बरु पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र शक्ति संघर्षको प्रत्यक्ष अभिव्यक्ति हो भन्ने कुरा अब लुकाउन सकिने अवस्थामा छैन। एघारौँ महाधिवेशनमा अध्यक्ष पदमा दाबी गर्ने घोषणा गरेपछि बरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेललाई योजनाबद्ध रूपमा भूमिका बिहीन बनाउने प्रयास गरिएको छ भन्ने आशंका अझ बलियो बनेको छ। उद्घाटन समारोह जस्तो सबैभन्दा प्रतिष्ठित कार्यक्रममा नै मञ्चबाट वञ्चित गरिनु कुनै संयोग होइन, यो सन्देशपूर्ण राजनीतिक व्यवहार हो।

कम्युनिष्ट आन्दोलनमा विधि र पद्धति केवल कागजी नियम होइनन्, ती नै संगठनको आत्मा हुन्। लेनिनवादी संगठनात्मक शैलीले सामूहिक नेतृत्व, आलोचना-आत्मालोचना र निर्णय प्रक्रियामा अनुशासनको माग गर्छ। तर यहाँ अध्यक्ष स्वयंले ती सबै मूल्यलाई सार्वजनिक रूपमा उल्लंघन गर्दा प्रश्न उठ्नु स्वाभाविक छ-यस्तो नेतृत्वबाट पार्टी र आन्दोलनको भविष्य कसरी सुरक्षित रहन्छ ?

अझ गम्भीर कुरा त के भने, पार्टी मुख्यालय च्यासलमा भएको सहमति विपरीत प्रतिनिधि छनोटमा पाँच प्रतिशतको दरले एकलौटी गरिएको विषयमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेललगायत नेताहरूले खुलेर असहमति जनाउँदा समेत अध्यक्ष ओली टसमस नहुनु हो। यसले सहमति, संवाद र लोकतान्त्रिक अभ्यासप्रति नेतृत्व कति प्रतिबद्ध छ भन्ने कुरा स्पष्ट संकेत गर्छ।

विस्मरणीय कुरा के हो भने, आज विधि र पद्धतिको दुहाइ दिने नेतृत्व स्वयं अघिल्ला महाधिवेशनहरूमा सहकार्य र समर्थनको बलमा स्थापित भएको इतिहास छ। नवौँ महाधिवेशनमा ईश्वर पोख्रेलकै समर्थन र भूमिकाले अध्यक्ष पदमा पुगेका ओलीले आज त्यही सहकर्मीप्रति देखाएको व्यवहारले राजनीतिक कृतघ्नताको गन्ध दिन्छ। यस्तो निच र निर्लज्ज शैली कुनै पनि सचेत कम्युनिष्ट कार्यकर्ताले कल्पना गरेको थिएन।

महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरू केवल पद र गुटको लडाइँ हेर्न आएका होइनन्। उनीहरू कम्युनिष्ट आन्दोलनको भविष्य, संगठनको दिशा र लोकतान्त्रिक गणतन्त्रको संरक्षणको मार्ग खोज्न आएका हुन्। तर विधि र पद्धतिको यस्तो सार्वजनिक अवमूल्यनले उनीहरूलाई निराश बनाएको छ। एकातिर सचेत प्रतिनिधिहरूको शिर झुकेको छ भने अर्कोतिर दास मानसिकतामा रमाउने समूहले ताली बजाएको दृश्यले पार्टीभित्रको वैचारिक र नैतिक संकट झल्काउँछ।

अध्यक्ष ओलीले बारम्बार नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने र लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्ने दाबी गर्दै आएका छन्। तर व्यवहारमा देखिएको निरंकुशता, दम्भ र अहंकारले ती अभिव्यक्तिहरू हुट्यिाउँले आकाश थाम्नु भने जस्तै खोक्रा सावित भएका छन्। शब्द र कर्मबीचको यो गहिरो अन्तरले पार्टीको विश्वसनीयता कमजोर बनाउँदै लगेको छ।

आज एमाले मात्र होइन, समग्र नेपाली कम्युनिष्ट आन्दोलन एउटा निर्णायक मोडमा छ। नेतृत्वले आत्मसमीक्षा नगरे, विधि र पद्धतिमा फर्किएन भने यो आन्दोलन व्यक्तिवाद, गुटबन्दी र निरंकुशताको दलदलमा फस्ने खतरा छ। एघारौँ महाधिवेशनको उद्घाटन समारोहले दिएको सन्देश यही हो-यदि कम्युनिष्ट पार्टीभित्रै लोकतन्त्र र अनुशासन सुरक्षित छैन भने, समाजमा लोकतान्त्रिक मूल्यको रक्षा कसरी सम्भव हुन्छ ?

अब प्रश्न केवल एउटा कार्यक्रम कसले सञ्चालन गर्‍यो भन्ने होइन, प्रश्न नेतृत्वको चरित्र, संगठनको आत्मा र आन्दोलनको भविष्यको हो। यही प्रश्नको जवाफ खोज्नु आज एमाले र समग्र कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो चुनौती बनेको छ।

Comments are closed

Related Post