Shopping cart

  • Home
  • राजनिती
  • एकतामा सामेल हुन एमालेलाई प्रचण्डको अपिल
देश

एकतामा सामेल हुन एमालेलाई प्रचण्डको अपिल

Email :122

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेलाई आफ्नो पार्टीसँग एकता गर्न अपिल गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एमाले ओखलढुंगा जिल्ला कमिटीलाई नेकपामा समाहित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एकताका लागि अपिल गरेका हुन् । उनले भने, ‘नेकपा (एमाले)लाई कुनै भ्रममा नरहन, साँच्चै राष्ट्रिय शक्ति निर्माणको यो महाअभियानमा सामेल हुन म अपिल गर्न चाहन्छु ।’  उनले एमालेमा रहेका देशभक्त र वामपन्थीहरू पनि नेकपामा समाहित हुने ढोका ओखलढुङ्गाले खोलिसकेको बताए।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले देशलाई माया गर्ने पार्टी नेपाली कम्युनिस्ट पार्टी रहेको भनेर जनतालाई बुझाउन सकेमा देशको पहिलो पार्टी बन्ने बताए ।

देशलाई सङ्कटबाट जोगाउनका लागि राष्ट्रिय शक्ति आवश्यक रहेको बताउँदै प्रचण्डले त्यसका लागि सबै वामपन्थी, कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको एकता जरुरी रहेको बताए ।

‘हामी सबैका लागि राष्ट्रभन्दा ठूलो अरू केही पनि छैन। राष्ट्र सङ्कटमा छ। नेपाली जनताको एकताले मात्रै मात्रमै मुलुकको राष्ट्रियतालाई सुदृढ गर्न सकिन्छ,’ उनले भने, ‘वामपन्थी र कम्युनिस्टको एकताले नै राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न सक्दछ। अरू लोकतन्त्रवादीहरू पनि यो मोर्चामा आबद्ध हुन जरुरी छ । प्रतिक्रियावादीहरूको चलखेल रोक्ने एकमात्रै उपाय भनेको हामीबीचको एकता हो ।’

उनले मुलुकलाई सङ्कटबाट जोगाउनका लागि एकता अभियानलाई तिब्रता दिएको उनले बताए । मुलुकमा प्रतिक्रियावादीको चलखेललाई रोक्न पनि सबै देशभक्तले एकतावद्ध भएर अघि बढनुपर्नेमा उनले जोड दिए । प्रचण्डले देश अझै संकटमा रहेको भन्दै दुर्घटना अझै टरिनसकेको बताएका छन्।

कार्यक्रममा एमाले ओखलढुंगा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजीव कटुवाललगायत पदाधिकारी तथा नेता कार्यकर्तासहित ३८ जना नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् ।

Comments are closed

Related Post