Shopping cart

  • Home
  • समाज
  • उदयपुरकाे बेलकामा ‘प्राकृतिक, सांस्कृतिक तथा साहसिक महोत्सव’ हुँदै
अन्तर्राष्ट्रिय

उदयपुरकाे बेलकामा ‘प्राकृतिक, सांस्कृतिक तथा साहसिक महोत्सव’ हुँदै

Email :57

उदयपुर । उदयपुरको पर्यटन प्रवर्द्धन र समग्र विकासलाई टेवा पुर्‍याउने उद्देश्यले बेलका नगरपालिकामा ‘प्रथम बेलका प्राकृतिक, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३’ आयोजना हुने भएको छ।

बेलका नगर पर्यटन विकास समिति र उदयपुर विकास बोर्डको संयुक्त आयोजना तथा जिल्ला समन्वय समिति उदयपुरको समन्वयमा आगामी वैशाख १ गतेदेखि ७ गतेसम्म महोत्सव आयोजना हुने भएको हो।

उदयपुर विकास बोर्डका अध्यक्ष बलदेव चौधरीका अनुसार महोत्सवमार्फत जिल्लाका प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनका सम्भावनाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गरिने छ। ‘यसबाट आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास छ,’ उनले भने।

महोत्सवको मुख्य उद्देश्य उदयपुरका आठवटै स्थानीय तहबीच कनेक्टिभिटी अभिवृद्धि गर्नु, आर्थिक–सामाजिक सहकार्यलाई सुदृढ बनाउनु तथा जिल्लाको एकीकृत विकासलाई अघि बढाउनु रहेको चौधरीको भनाइ छ। साथै, स्थानीय उत्पादन, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनसँगै रोजगारी सिर्जनामासमेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

महोत्सवको तयारीसम्बन्धी बैठक बेलका पर्यटन विकास बोर्डका अध्यक्ष शिव थापाको अध्यक्षतामा शुक्रबार जिल्ला समन्वय समिति उदयुरको सभाहलमा सम्पन्न भएको थियो। बैठकमा जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरबहादुर विश्वकर्मा, बेलका नगर प्रमुख अशोक कार्की, पूर्वनगर प्रमुख दुर्गा थापा (स्वस्तिक), चौदण्डीका पूर्वनगर प्रमुख खगेन्द्र राई, रौतामाईका पूर्वअध्यक्ष गजेन्द्र खड्कासहित उद्योगी, व्यापारी तथा होटल व्यवसायीहरूको उपस्थिति थियो।

महोत्सव अवधिभर विभिन्न सांस्कृतिक प्रस्तुति, स्थानीय परिकार प्रदर्शनी, साहसिक खेलकुद गतिविधि तथा पर्यटनसँग सम्बन्धित विविध आकर्षक कार्यक्रमहरू आयोजना गरिने बेलका पर्यटन विकास बोर्डका अध्यक्ष थापाले बताए।

यता उदयपुरको रौतापोखरी क्षेत्रमा पहिलोपटक नै चैत्र २८ गतेदेखि वैशाख ३ गतेसम्म प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सव’ पनि आयोजना हुँदै छ। शुक्रबार नै रौतामाई त्रियुगा पर्यटन महोत्सव व्यवस्थापन समितिका संयोजक दिनेश श्रेष्ठले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको संयुक्त आयोजनामा हुने महोत्सव पाँच दिनसम्म विविध कार्यक्रमसहित सञ्चालन हुने श्रेष्ठको भनाइ छ।

Comments are closed

Related Post