Shopping cart

अर्थ

आज विश्व स्कुल दूध दिवस

Email :41

काठमाडौं । बलियो हड्डी, बलियो शरीर, खेलकुद र विकासका लागि दूध अमूल्य आधार भन्ने नाराका साथ यस वर्ष पनि विभिन्न कार्यक्रम गरी विश्व स्कुल दूध दिवस २०८३ मनाइने भएको छ । नेपाल डेरी एसोसिएसन केन्द्रीय समिति तथा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको संयुक्त आयोजना एवं नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघ र अप्टिमिस्ट क्लब डेरी इन्टरप्रेनर्सको सहकार्यमा ललितपुर महानगरपालिका-११ स्थित कुम्भेश्वर आधारभूत विद्यालयमा सचेतनामूलक कार्यक्रम हुने बताइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार मनाइने विश्व स्कुल दूध दिवस यस वर्ष सेप्टेम्बर ३०, २०२६ अर्थात् २०८३ असोज १४ गते बुधबार मनाइँदैछ । जसको सुरुवात सन् २००० मा भएको हो । विद्यालयमा दूधको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा विद्यालय दूध कार्यक्रम प्रवर्द्धन गर्ने उद्देश्यले दिवस विभिन्न देशमा विभिन्न कार्यक्रमसहित मनाइँदै आएको छ ।

बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि सन्तुलित आहार र पर्याप्त पोषण आवश्यक हुन्छ । दूध तथा दुग्धजन्य पदार्थ प्रोटिन, क्याल्सियम, भिटामिन बी-१२ लगायतका पोषक तत्त्वका स्रोत भएकाले सन्तुलित आहारको महत्त्वपूर्ण हिस्सा बन्न सक्छन् । त्यसैले विद्यालय तहदेखि नै दूध तथा दुग्धजन्य पदार्थको पौष्टिक महत्त्व, स्वच्छ तथा सुरक्षित दूधको सेवन र स्वस्थ खानपानका सम्बन्धमा बालबालिका तथा अभिभावकमा सचेतना अभिवृद्धि गर्नु आवश्यक रहेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल बताउनुहुन्छ ।

उहाँका अनुसार विश्व स्कुल दूध दिवस केवल विद्यार्थीलाई दूध सेवन गराउने कार्यक्रममात्र नभई पोषण शिक्षा, स्वस्थ खानपानको बानी र विद्यालय तथा समुदायमा पोषणसम्बन्धी चेतना अभिवृद्धि गर्ने अवसर पनि हो । विश्वका विभिन्न देशमा सो अवसरमा विद्यालयमा दूध वितरण, पोषण शिक्षा, वक्तृत्व तथा चित्रकला प्रतियोगिता, किसान तथा विद्यार्थीबीच अन्तरक्रिया र डेरी उद्योग अवलोकनजस्ता कार्यक्रम आयोजना हुँदै आएका छन् ।

Comments are closed

Related Post