Shopping cart

  • Home
  • शिक्षा
  • आगामी निर्वाचनले देशलाई स्थायित्व र विकासतर्फ लैजाने प्रचण्डको दाबी
देश

आगामी निर्वाचनले देशलाई स्थायित्व र विकासतर्फ लैजाने प्रचण्डको दाबी

Email :56

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको वामपन्थी आन्दोलनमा फेरि एकपटक ध्रुवीकरण र एकताको नयाँ प्रक्रिया सुरु भएको बताउनु भएकाे छ । प्रचण्डले वामपन्थी, देशभक्त, समाजवादी तथा कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गर्दै देशलाई वर्तमान विषम परिस्थितिबाट निकास दिन नयाँ अभियान अघि बढेकाे बताउनु भएकाे हाे ।

उहाँले पार्टी कार्यालयमा पेरिसडाँडामा पार्टी प्रवेशकाे कार्यक्रममा सम्बोधन गर्दै विगतको अनुभवबाट पाठ सिक्दै फेरि एकचोटी कम्युनिस्ट आन्दोलनलाई एउटै धारमा उभ्याउँदै विकास र समाजवादका लागि वाम एकता अनिवार्य भएकाले  ऐतिहासिक पहल सुरु भएको स्पष्ट पार्नुभएकाे छ ।

उहाँले २०७४ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरिएको स्मरण गर्दै उद्देश्य सही भए पनि नेतृत्वको गलत सोच र कार्यशैलीका कारण एकता टिक्न नसकेको उल्लेख गर्नुभएकाे छ ।

प्रचण्डले भन्नुभयाे, “नेपालका वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गर्ने हाम्रो उद्देश्य सधैं जायज थियो । दुर्भाग्यवश, हामीले त्यसलाई दीर्घकालीन रूपमा जोगाउन सकेनौं । तर अहिले फेरि देशको आवश्यकताले हामीलाई एकताको मार्गमा अघि बढ्न प्रेरित गरेको छ ।”

प्रचण्डका अनुसार हाल नेपाली कम्युनिस्ट पार्टी २६ वटा साना–ठूला समूहहरू मिलेर निर्माण भएको हो । देशभर सञ्चालन गरिएका ‘एकता सन्देश सभा’ मार्फत हजारौं नेता–कार्यकर्ता पार्टीमा समायोजन भएका छन् । विशेषगरी नेकपा एमालेसँग सम्बन्धित नेता–कार्यकर्ताहरूको उल्लेख्य सहभागिता देखिएको उहाँले बताउनुभयाे ।

उहाँले पूर्वमन्त्री, पूर्वसांसदलगायतका प्रभावशाली नेताहरू समेत पार्टीमा प्रवेश गरेको जानकारी दिँदै कतिपयलाई आसन्न निर्वाचनमा उम्मेदवारसमेत बनाइएको बताउनुभयाे । “ओखलढुङ्गा, कपिलवस्तु लगायतका जिल्लामा हाम्रा उम्मेदवारहरू उत्साहजनक स्थितिमा छन्,” उहाँले भन्नुभयाे ।

विषम परिस्थितिमा एकताको आह्वान

देश अहिले राजनीतिक, आर्थिक र सामाजिक चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै प्रचण्डले यस्तो अवस्थामा वामपन्थी शक्तिहरूबीच एकता अपरिहार्य भएको बताउनुभयाे । आगामी निर्वाचनलाई देशलाई स्थायित्व र विकासतर्फ लैजाने अवसरका रूपमा लिनुपर्ने उहाँको धारणा थियो।

“हामी देशलाई निर्वाचनमार्फत नयाँ दिशामा लैजान चाहन्छौं। विकास र समाजवादको लक्ष्य हासिल गर्न कम्युनिस्ट र देशभक्त शक्तिहरू एकताबद्ध हुनैपर्छ,” उहाँले भन्नुभयाे ।

दलित आन्दोलनको गौरवपूर्ण इतिहास

दोलखामा विशेषगरी दलित समुदायका नेताहरूको पार्टी प्रवेशलाई ऐतिहासिक महत्व दिँदै प्रचण्डले जनयुद्धकालीन अनुभव स्मरण गर्नुभयाे । उहाँले जनयुद्धको तयारीका क्रममा दलित समुदायको मुक्ति र अधिकारलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयाे ।

जनयुद्धका पहिलो शहीद दिलबहादुर रम्तेल दलित समुदायका रहेको उल्लेख गर्दै उहाँले आन्दोलनमा दलितहरूको अग्रणी भूमिका रहेको बताउनुभयाे । त्यस्तै कालिकोटमा दलित महिलाहरूले राज्यसँग प्रत्यक्ष भिडन्त गरी हतियार खोसेर पार्टीलाई बुझाएको घटनालाई उनले गौरवपूर्ण इतिहासका रूपमा प्रस्तुत गर्नुभयाे ।

“पहिलो शहीद दलित समुदायबाट हुनु र पहिलो हतियार दलित महिलाले खोस्नुले जनयुद्धमा दलितहरूको भूमिका कति महत्वपूर्ण थियो भन्ने स्पष्ट हुन्छ,” उहाँले भन्नुभयाे ।

संविधान र अधिकारको विस्तार

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा दलित अधिकारका केही व्यवस्था समेटिए पनि ती पर्याप्त नभएको उहाँको भनाइ थियो। दलित समुदायको समग्र उत्थानका लागि अझै विशेष नीतिगत पहल आवश्यक रहेको प्रचण्डले बताउनु भयाे । यसै सन्दर्भमा उहाँले ‘दलित विकास प्राधिकरण’ गठन गर्ने पार्टीको प्रतिबद्धता दोहोर्‍याउनुभयाे । शक्तिसम्पन्न प्राधिकरणमार्फत शिक्षा, रोजगारी, सामाजिक न्याय र आर्थिक सशक्तीकरणका कार्यक्रम समेट्ने योजना रहेको उहाँकाे भनाइ छ ।

“दलितहरूको समग्र विकासका लागि अलग्गै, प्रभावकारी र शक्तिशाली संरचना आवश्यक छ। हाम्रो प्रतिबद्धता पत्रमा यो स्पष्ट रूपमा उल्लेख छ,” उहाँले भन्नुभयाे ।

दोलखामा नयाँ ऊर्जा

दोलखाका एमाले निकट ‘मुक्ति समाज’ बाट आएका नेताहरू र दलित समुदायका अगुवा कार्यकर्ताहरूलाई उचित जिम्मेवारी दिइने विश्वास प्रचण्डले दिलाउनुभयाे । उहाँले यस प्रवेशले दोलखामा कम्युनिस्ट आन्दोलनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयाे । “तपाईंहरूको समायोजनले दोलखामा कम्युनिस्ट आन्दोलन अझ शक्तिशाली हुनेछ,” उहाँले भन्नुभयाे, “उचित जिम्मेवारी र सक्रिय काम गर्ने वातावरण पार्टीले सुनिश्चित गर्नेछ।”

 ‘तारा’मा अत्यधिक मतदान गर्न अपील

आसन्न निर्वाचनमा दोलखाबाट विशाल खड्कालाई उम्मेदवार बनाइएको जानकारी दिँदै प्रचण्डले देशभर पार्टीको अवस्था उत्साहजनक रहेको दाबी गर्नुभयाे । “देशभरको रिपोर्ट हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावना देखिन्छ। नभए पनि सशक्त प्रतिस्पर्धी शक्तिका रूपमा उभिनेछौं र आगामी सरकारमा हाम्रो भूमिका महत्वपूर्ण हुनेछ,” उहाँले भन्नुभयाे ।

उहाँले कार्यकर्ताहरूलाई बाँकी दिनहरूमा ‘युद्धस्तर’मा खटिन निर्देशन दिँदै ‘तारा’ चुनाव चिन्हमा अत्यधिक मतदान गराउन अपिल गर्नुभयाे ।

सकारात्मक सन्देश र भविष्यको विश्वास

सम्बोधनको अन्त्यमा प्रचण्डले देशभरि वामपन्थी एकताको सन्देश फैलिएको उल्लेख गर्दै निकट भविष्यमा सबै कम्युनिस्ट शक्तिहरू एकै ठाउँमा उभिने विश्वास व्यक्त गर्नुभयाे । “हामी फेरि एकपटक एकताको झण्डामुनि उभिनेछौं। देशलाई स्थायित्व, विकास र समाजवादको दिशामा अघि बढाउने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ,” उहाँले भन्नुभयाे ।

दोलखाबाट सुरु भएको यो एकता र ध्रुवीकरणको सन्देशले राष्ट्रिय राजनीतिमा नयाँ आशा र बहस सिर्जना गरेको छ। वामपन्थी शक्तिहरूबीच सहकार्य र समन्वयको यो प्रयासले आगामी दिनमा नेपाली राजनीतिमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गर्नुभएकाे छ ।

Comments are closed

Related Post