Shopping cart

  • Home
  • समाज
  • आँसु, साहस र सपनाको नाम- धर्मशिला चापागाईं
अर्थ

आँसु, साहस र सपनाको नाम- धर्मशिला चापागाईं

Email :1287

बासु दुलाल

राजनीतिमा केही नामहरू केवल उम्मेदवारका रूपमा सीमित हुँदैनन् । ती नामहरू इतिहास बन्छन्, आन्दोलन बन्छन् र भावी पुस्ताका लागि प्रेरणाको दीप बन्छन् । झापा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उभिएकी धर्मशिला चापागाई त्यस्तै एउटा नाम हो-पीडाले खारिएको, संघर्षले पालेको र सपनाले उज्यालो बनाएको नाम ।

नेपालमा गणतन्त्र स्थापना हुनुअघि देशले भोगेको १० वर्षे सशस्त्र जनयुद्ध केवल राजनीतिक परिवर्तनको कथा थिएन । त्यो अन्याय, विभेद, दमन र बलिदानको लामो इतिहास थियो । त्यही इतिहासको अग्रपंक्तिमा उभिएकी थिइन् धर्मशिला चापागाईं । युवावस्थामै उहाँले सुरक्षित जीवन होइन, संघर्षको बाटो रोज्नुभयो । जेल, यातना र मृत्युको त्रास उहाँका लागि खबरमा पढिने कुरा होइन-आफ्नै जीवनले भोगेको यथार्थ हो ।

उहाँ लामो समय जेल जीवन बिताउन बाध्य हुनुभयो । जेलका अँध्यारा कोठा, अमानवीय व्यवहार र मानसिक यातनाबीच पनि उहाँको आत्मबल कहिल्यै कमजोर भएन । बरु, ती पीडाले उहाँलाई अझ दृढ बनायो । वर्गमुक्ति आन्दोलनकै क्रममा, जब धर्मशिला जेलमा हुनुहुन्थ्यो, तत्कालीन सत्ताले उहाँका श्रीमानलाई बर्बर यातना दिई हत्या गर्‍यो । त्यो खबर कुनै अखबारको सानो समाचार मात्र थिएन—त्यो एउटा महिलाको जीवनभरि बोक्नुपर्ने असह्य पीडा थियो ।

सानो कोखे बालिका सहित जेल नपरेकी भए, भनिन्छ, धर्मशिलाको पनि उबेलामै हत्या हुने थियो । नियतिले उहाँलाई जोगायो-शायद देशले अझै उहाँबाट धेरै आशा राखेको थियो । श्रीमानको हत्या, आफ्नै जीवनमाथिको खतरा र मातृत्वको जिम्मेवारी-यी सबै बोकेर पनि उहाँ विचलित हुनुभएन । आँसु लुकाएर उहाँले जनताको आँसु पुछ्ने संकल्प गर्नुभयो ।


शान्ति प्रक्रिया पछाडिको पहिलो संविधानसभा निर्वाचन, नेपाली राजनीतिक इतिहासको निर्णायक मोड थियो । जेलबाट निस्कँदा धर्मशिलाको शरीर छियाछिया थियो । घाउहरू निको भइसकेका थिएनन्, तर मनभित्रको साहस अझ ताजा थियो । त्यही शरीर र त्यही साहस लिएर उहाँ चुनावी मैदानमा उत्रिनुभयो । जनताले उहाँको पीडा देखे, संघर्ष बुझे र अत्यधिक मतका साथ उहाँलाई विजयी बनाए । त्यो विजय केवल व्यक्तिगत सफलता थिएन-त्यो पीडामाथि आशाको विजय थियो ।

पछिल्ला वर्षहरूमा उहाँ एकपटक समानुपातिक सांसद र एकपटक स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा रहनुभयो । पद उहाँका लागि सुविधा होइन, सेवा थियो । सत्ता होइन, जिम्मेवारी थियो । झापा जिल्लामा उहाँले सुरु गरेका विकास निर्माण, सामाजिक र राजनीतिक पहलहरू आज पनि जनताले सम्झिरहेका छन् ।

केचना-कञ्चनजङ्गा पदमार्ग-जहाँ नेपालको होचो भूभागदेखि विश्वकै अग्ला हिमालसम्मको गौरव जोडिन्छ ।
शनिश्चरे-बुद्धशान्ति-बिर्तामोड रिंगरोड-जहाँ विकासले गति पाउँछ ।

बिर्तामोडलाई मेडिकल हब र आधुनिक सहर बनाउने परिकल्पना-जहाँ स्वास्थ्य सेवा पहुँचको विषय बन्छ ।
अर्जुनधारालाई धार्मिक पर्यटनको केन्द्र बनाउने सपना-जहाँ आस्था र अर्थतन्त्र सँगसँगै अघि बढ्छन् ।

चारपाने दक्षिणको बेल्टलाई औद्योगिक करिडोरमा रूपान्तरण गर्ने योजना-जहाँ रोजगारी गाउँमै सिर्जना हुन्छ ।
यी सबै काम र सपना अधुरा छन् । अधुरा हुनुको कारण क्षमता वा इच्छाशक्ति होइन-राजनीतिक निरन्तरताको अभाव हो । आज फेरि धर्मशिला चापागाईं ती अधुरा सपनाहरू पूरा गर्ने संकल्पका साथ जनतासामु उभिनुभएको छ । उहाँको घरदैलो अभियान केवल भोट माग्ने कार्यक्रम होइन-विगतको हिसाब र भविष्यको वाचा दुवै हो ।

झापा २ का मतदाताहरूले धर्मशिलालाई केवल नेतृका रूपमा होइन, साहसी महिला, अनुशासित कार्यकर्ता  र संवेदनशील मानवका रूपमा बुझेका छन् । पीडा भोगेकी महिला भएकाले उहाँलाई जनताको दुःख थाहा छ । जेल जीवन देखेकी भएकाले उहाँलाई अन्यायको पीडा थाहा छ । मन्त्री भएकाले उहाँलाई शासन र नीति निर्माणको अनुभव छ ।

त्यसैले, यो निर्वाचन सामान्य निर्वाचन होइन । यो विवेकको परीक्षा हो । इतिहास सम्झने कि बिर्सने ? पीडालाई सम्मान गर्ने कि उपेक्षा गर्ने ? सपनालाई निरन्तरता दिने कि अधुरै छोड्ने ?

झापा निर्वाचन क्षेत्र नम्बर २ का आदरणीय मतदाताज्यूहरू, यसपटक तारा चिन्हमा मतदान गरेर संघर्षलाई सम्मान गरौँ,
बलिदानलाई अर्थ दिऔँ, र झापाको उज्यालो भविष्य सुनिश्चित गरौँ । धर्मशिला चापागाईंलाई विजयी गराउनु भनेको
एउटी महिलाको मात्र होइन- न्याय, साहस र विकासको जित सुनिश्चित गर्नु हो ।

केन्द्रीय सदस्य नेपाली कम्युनिस्ट पार्टी

Comments are closed

Related Post