इस्लामावाद । पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक शान्ति वार्ता निष्कर्षविहीन टुङ्गिएको छ । वार्तामा अमेरिकी टोलीको नेतृत्व गरिरहनुभएका उपराष्ट्रपति जेडी भ्यान्सले परमाणु मुद्दामा इरानका तर्फबाट हालसम्म कुनै ठोस प्रतिबद्धता नआएको बताएका छन्।
वार्ताको प्रगतिबारे जानकारी दिँदै उपराष्ट्रपति भ्यान्सले भने, “हामीले हाम्रो तर्फबाट उत्तम र अन्तिम प्रस्ताव दिइसकेका छौँ, तर तेहरानबाट हुनुपर्ने आधिकारिक निर्णय अझै पर्खिरहेका छौँ ।”
एक दशकभन्दा लामो समयपछिको यो पहिलो प्रत्यक्ष भेटवार्ता र सन् १९७९ को इस्लामिक क्रान्तिपछिको सबैभन्दा उच्चस्तरीय राजनीतिक संवाद हो ।
सञ्चारकर्मीसँगको अन्तरक्रियामा भ्यान्सले इरानको परमाणु क्षमता नियन्त्रण गर्नु नै राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको ‘मूल लक्ष्य’ रहेको प्रस्ट पारे । “इरानले परमाणु हतियार निर्माण गर्ने छैन र त्यसका लागि आवश्यक पूर्वाधार वा उपकरण पनि जुटाउने छैन भन्नेमा हामी विश्वस्त हुन चाहन्छौँ,” उनले भने, “यसका लागि इरानको तर्फबाट स्पष्ट प्रतिबद्धता आउनु अनिवार्य छ, जुन अहिलेसम्म देखिएको छैन ।”
इरानी सञ्चारमाध्यमहरूले भने दुई देशबीचको वार्ता आइतबार दोस्रो दिन पनि जारी रहने उल्लेख गरेका छन् । वार्तामा ‘हर्मुज जलसन्धि’ मा रहेको रणनीतिक अवरोध र सैन्य तनावको विषय मुख्य बाधक बनेको बताइएको छ ।
उपराष्ट्रपति भ्यान्सले इरानको परमाणु कार्यक्रमको भौतिक संरचना ‘ध्वस्त’ पारिएको दाबी गरे तापनि भविष्यमा यस्ता गतिविधि नगर्ने इरानको ‘इच्छाशक्ति’ माथि अझै संशय कायमै रहेको बताउनुभयो । विश्वको ध्यान तानिएको यस वार्ताले मध्यपूर्वी एसियाको सुरक्षा र स्थिरतामा ठुलो महत्त्व राख्ने देखिएको छ ।
वार्ता विफल भए पनि पाकिस्तानको मध्यस्थकर्ता भूमिकाको भने अमेरिकाले उच्च प्रशंसा गरेको छ। भान्सले पाकिस्तानी प्रधानमन्त्री र फिल्ड मार्शल मुनिरलाई धन्यवाद दिँदै वार्तामा कुनै कमी भए त्यो पाकिस्तानको कारणले नभएको स्पष्ट पारे। वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी प्रतिनिधिमण्डल अहिले पाकिस्तानबाट फर्किने तयारीमा छ।
यता, इरानको विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै अमेरिकाले अत्यधिक र गैरकानुनी मागहरू राखेको आरोप लगाएको छ। इरानले आफू खुला दिमागका साथ वार्तामा आएको भए पनि अमेरिकाले इरानको वैध अधिकार र स्वार्थलाई सम्मान गर्नुपर्ने अडान राखेको छ।
दुवै पक्ष आ-आफ्नो अडानमा अडिग रहेपछि मध्यपूर्वको तनाव अन्त्य गर्ने यो ठुलो प्रयास अहिलेलाई असफल साबित भएको छ।














Comments are closed