Shopping cart

  • Home
  • समाज
  • अधुरा योजना सम्पन्न गर्ने संकल्पसहित चुनावी मैदानमा पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट
मुख्य समाचार

अधुरा योजना सम्पन्न गर्ने संकल्पसहित चुनावी मैदानमा पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट

Email :120

डोटी । सुदूरपश्चिमको समग्र विकास, राष्ट्रिय स्वाधीनताको सुदृढीकरण र समाजवाद उन्मुख समृद्ध अर्थतन्त्र निर्माणको एजेन्डासहित त्रिलोचन भट्ट प्रतिनिधि सभा सदस्य पदका लागि डोटी निर्वाचन क्षेत्र नं. १ बाट चुनावी मैदानमा उत्रिएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका भट्टले अघिल्लो कार्यकालमा मुख्यमन्त्रीका रूपमा सुरु गरिएका तर अधुरा रहेका योजनाहरू पूरा गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै मतदातासँग घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।

२०७४ सालमा प्रदेश सभा सदस्यमा निर्वाचित भई २०७४ फागुन ५ देखि २०७९ पुष २७ गतेसम्म सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हालेका भट्टले पाँच वर्षे कार्यकाललाई “आधार निर्माणको कालखण्ड”का रूपमा व्याख्या गरेका छन् । उनका अनुसार संघीय संरचना नयाँ–नयाँ अभ्यासमै रहेको अवस्थामा प्रशासनिक संरचना खडा गर्ने, कानुनी आधार निर्माण गर्ने र विकास योजनाको जग बसाल्ने काम चुनौतीपूर्ण थियो। अब ती आधारहरूलाई पूर्णता दिने ऐतिहासिक जिम्मेवारी प्रतिनिधि सभामार्फत पूरा गर्ने उनको दाबी छ।

त्रिदेशीय सडक र ‘फास्ट ट्रयाक’ प्राथमिकतामा

पूर्व मुख्यमन्त्री भट्टले खुटिया–डोटी–बझाङ हुँदै चीन सीमासम्म जोडिने उरई भञ्ज्याङ नाकालाई केन्द्रमा राखेर त्रिदेशीय सडक सञ्जाल विस्तार आफ्नो दीर्घकालीन सोच भएको बताएका छन् । उनका अनुसार कैलालीको खुटियादेखि बझाङ हुँदै उरई भञ्ज्याङ नाकासम्म सडक ट्रयाक खोल्ने प्रक्रिया उनकै पहलमा अघि बढाइएको थियो।

“हामीले सुदूरपश्चिमलाई देशको पश्चिमी प्रवेशद्वारका रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि सारेका थियौँ,” भट्टले भने, “अब प्रतिनिधि सभामा पुगेर उक्त सडकलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा स्थापित गर्दै ‘फास्ट ट्रयाक’ मोडेलमा निर्माण अगाडि बढाउने लक्ष्य छ।”

यो सडक सञ्जालले भारत र चीनसँगको सम्भावित व्यापारिक आवागमन, पर्यटन प्रवर्द्धन तथा सीमावर्ती जिल्लाहरूको आर्थिक चलायमानतामा महत्त्वपूर्ण टेवा पुग्ने उनको विश्वास छ। पार्टीको आत्मनिर्भर अर्थतन्त्र, उत्पादनमुखी विकास र सीमावर्ती क्षेत्रको सशक्तीकरणको एजेन्डासँग यो योजना प्रत्यक्ष रूपमा जोडिएको उनको दाबी छ।

३५ वर्षपछि ट्रयाक खुलेको सहजपुर–बोगटान–दिपायल सडक

कैलालीको सहजपुरदेखि डोटीको बोगटान हुँदै दिपायल जोड्ने ५२ किलोमिटर सडक ३५ वर्षसम्म अलपत्र अवस्थामा थियो। २०७८ सालमा उक्त सडकको ट्रयाक खुल्नु सुदूरपश्चिम प्रदेश सरकारको पहल र प्राथमिकताकै परिणाम भएको भट्टको भनाइ छ।

तत्कालीन प्रदेश सरकारले यसलाई गौरव आयोजनाका रूपमा अघि बढाउँदै आवश्यक बजेट व्यवस्थापन गरेको थियो। अब प्रतिनिधि सभामा निर्वाचित भएपछि उक्त सडक कालोपत्रे गरी सुरक्षित र दिगो बनाउने योजना आफ्नो चुनावी प्रतिबद्धतामा समावेश गरिएको उनले बताए ।

“सडक मात्र होइन, सडकसँगै स्थानीय उत्पादन बजारसम्म पुर्‍याउने, कृषि उपजको मूल्य शृंखला विस्तार गर्ने र रोजगारी सिर्जना गर्ने समग्र विकास दृष्टिकोण हाम्रो हो,” उनले भने ।

पूर्वाधार, शिक्षा र स्वास्थ्यमा उपलब्धि

पूर्व मुख्यमन्त्री भट्टले आफ्नो कार्यकालमा डोटी जिल्लामा करिब १३० किलोमिटर सडक कालोपत्रे भएको, विभिन्न क्याम्पस तथा विद्यालय भवन निर्माण भएको र ५० शैयाको अस्पताल भवन निर्माण कार्य अघि बढेको दाबी गरेका छन् ।

जिल्ला अस्पतालदेखि प्रादेशिक अस्पतालसम्म सेवा स्तरोन्नति गर्दै विशेषज्ञ सेवा विस्तार गर्ने आधार तयार गरिएको उनको भनाइ छ।

उनका अनुसार ग्रामीण सडक सञ्जाल विस्तार, खानेपानी आयोजना, सिँचाइ संरचना, विद्यालय पूर्वाधार र स्वास्थ्य संस्थाको भौतिक निर्माणमार्फत आधारभूत सेवा सर्वसुलभ बनाउने प्रयास गरिएको थियो। अब ती योजनालाई पूर्णता दिनुका साथै गुणस्तरीय सेवा सुनिश्चित गर्नु प्रतिनिधि सभामा पुगेर आफ्नो प्रमुख जिम्मेवारी हुने उनले स्पष्ट पारेका छन् ।

समाजवाद उन्मुख विकास र सुशासनको एजेन्डा

उम्मेदवार भट्टले पार्टीको समाजवाद उन्मुख विकास, उत्पादन र श्रमको सम्मान, सहकारी र सामूहिक उत्पादन प्रणालीको प्रवर्द्धन तथा भ्रष्टाचारविरुद्ध कडा नीति लागू गर्ने एजेन्डालाई प्राथमिकतामा राखेका छन् ।

“सुदूरपश्चिममा विकासका नाममा धेरै वाचा भए, तर कार्यान्वयनमा निरन्तरता अभाव देखियो,” उनले भने, “हाम्रो एजेन्डा स्पष्ट छ—अधुरा योजना पूरा गर्ने, बजेट पारदर्शी बनाउने र स्थानीय आवश्यकतामा आधारित कार्यक्रम ल्याउने।”

पार्टीले कृषिमा आधुनिकीकरण, युवालाई स्वदेशमै रोजगारी, पर्यटन क्षेत्रको संरचनात्मक विकास, जलस्रोतको सदुपयोग र साना तथा मझौला उद्योग प्रवर्द्धनलाई प्राथमिकता दिएको छ। डोटीको भौगोलिक सम्भावनालाई उपयोग गर्दै कृषि, जडीबुटी, पशुपालन र पर्यावरणीय पर्यटनमा आधारित स्थानीय अर्थतन्त्र सुदृढ गर्ने योजना पनि उनको चुनावी घोषणापत्रमा समेटिएको छ।

संघीयताको सुदृढीकरण र क्षेत्रीय सन्तुलन

भट्टले संघीय व्यवस्थालाई व्यवहारमा प्रभावकारी बनाउन केन्द्र–प्रदेश–स्थानीय तहबीच समन्वय सुदृढ गर्नु आवश्यक रहेको बताएका छन् । उनका अनुसार सुदूरपश्चिम जस्तो भौगोलिक रूपमा विकट प्रदेशमा संघीयताको मर्मअनुसार बजेट र अधिकारको न्यायोचित बाँडफाँट हुनुपर्छ।

“सुदूरपश्चिम विकासका दृष्टिले पछाडि परेको क्षेत्र हो, तर सम्भावनामा धनी छ,” उनले भने, “हामी क्षेत्रीय असमानता अन्त्य गर्दै समतामूलक विकासको आधार तयार गर्ने अभियानमा छौँ।”

मतदातासँग प्रत्यक्ष संवाद

चुनावी अभियानअन्तर्गत भट्टले डोटीका गाउँ–गाउँमा पुगेर प्रत्यक्ष संवाद गरिरहेका छन् । घरदैलो कार्यक्रम, टोलसभा र अन्तरक्रियामार्फत स्थानीय समस्याबारे सुझाव संकलन गर्दै उनले आगामी कार्ययोजनालाई अझ परिष्कृत बनाउने बताए ।

स्थानीय मतदाताहरूले अधुरा सडक, स्वास्थ्य सेवाको पहुँच, रोजगारीको अवसर र कृषि बजार व्यवस्थापनलाई प्राथमिक मुद्दाका रूपमा उठाइरहेका छन्। भट्टले ती सबै मुद्दालाई संघीय संसदमार्फत नीतिगत र बजेटीय रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

निरन्तरताको सन्देश

२०७४ सालदेखि २०७९ सालसम्म सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हाल्दै प्रशासनिक स्थायित्व र विकासको आधार निर्माण गरेको अनुभवलाई अब संघीय संसदमा उपयोग गर्ने उनको लक्ष्य छ। अधुरा योजना पूरा गर्ने, दीर्घकालीन रणनीतिक सडक सञ्जाल विस्तार गर्ने र समाजवाद उन्मुख समृद्ध सुदूरपश्चिम निर्माण गर्ने स्पष्ट कार्यदिशासहित भट्ट चुनावी मैदानमा उत्रिएका छन् ।

“हामीले सुरु गरेका काम अधुरा छोडिँदैनन्,” उनको भनाइ छ, “जनताको भरोसालाई परिणाममा रूपान्तरण गर्नु नै हाम्रो पहिलो कर्तव्य हो।”

डोटी निर्वाचन क्षेत्र नं. १ मा यसपटक विकास, निरन्तरता र स्पष्ट वैचारिक एजेन्डाबीचको प्रतिस्पर्धा चर्किएको छ। पूर्व मुख्यमन्त्री भट्ट भने अधुरा काम सम्पन्न गर्ने दृढ संकल्प, अनुभव र स्पष्ट नीति–दृष्टिकोणसहित मतदाताको भरोसा जित्ने अभियानमा जुटेका छन् ।

Comments are closed

Related Post